ad ad

कारोबार


गाडी आयात खुले पनि एलसी खोल्न तयार छैनन् व्यवसायी

गाडी आयात खुले पनि एलसी खोल्न तयार छैनन् व्यवसायी

माइतीघरमा धर्ना दिने क्रममा अटो व्यवसायी। तस्बिर : सरोज बैजु/नेपालखबर


वसन्त अर्याल
मंसिर २२, २०७९ बिहिबार १८:३४, काठमाडौँ

सरकारले गाडी आयात खुल्ला गरे पनि व्यवसायीले गाडी ल्याउने अवस्था नभएको बताएका छन्। 

८ महिनापछि गाडी आयात खुले पनि व्यवसायी गाडी आयात गर्न उत्साहित नभएका हुन्।

व्यवसायीले एलसी खोल्न पाउने भए पनि तत्काल बिक्री गर्न नसकिने आयातकर्ताले बताएका छन्। व्यवसायीहरुले एलसी खोल्दा नै गाडीको मूल्यको ५० प्रतिशत नगद बैंकमा राख्नुपर्दा तत्काल तयार नभएको बताएका छन्।

अटो व्यवसायीले ८ महिनादेखि व्यवसाय ठप्प भएको अवस्थामा ५० प्रतिशत नगद एलसी खोल्दा नै राख्न अप्ठ्यारो पर्ने बताउँछन्। एलसी खोलेर गाडी आयातपछि अहिलेकै अवस्थामा गाडी बिक्री गर्न नसकिने अटो व्यवसायीको भनाइ छ।

‘गाडी आयात खुले पनि व्यवसाय गर्ने वातावरण छैन’, टाटा मोटर्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालखबरसँग भने, ‘गाडी आयात गर्दा पैसा विदेशिन्छ मात्रै, व्यापार हुँदैन।’

श्रेष्ठले आफूहरु तत्काल गाडी आयात गर्नसक्ने अवस्थामा नभएको बताए। टाटाका केही गाडी अझै स्टकमा रहेकाले नयाँ गाडीको एलसी तत्काल नखुल्ने उनको भनाइ छ।

‘आयात खुल्ला भए पनि तत्काल गाडी ल्याउन सक्ने अवस्थामा छैनौँ’, श्रेष्ठले भने, ‘अहिले भएका गाडी त बिक्री गर्न सकेका छैनौँ। नयाँ गाडी किन आयात गर्ने?’

राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्ने व्यवस्था कायम रहँदा धेरै व्यवसायीले एलसी नखोल्ने उनको दाबी छ। 

‘५० प्रतिशत नगद मार्जिन राखेर एलसी खोल्दा २ देखि ३ महिनासम्म पैसा बैंकमा रोकिन्छ’, श्रेष्ठले भने, ‘व्यवसाय नभएको समयमा त्यसै गाडी आयात गरेर त भएन नि!’

सरकारले गत वैशाख १४ देखि सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसको ८ महिनापछि अर्थात् आगामी पुस १ गतेबाट गाडी आयात गर्न पाउने गरी मंगलबारको मन्त्रिपरिषद्ले निर्णय गरेको हो। 

योसँगै निजी प्रयोजनका कार, जिप, भ्यान तथा १५० सीसीमाथिका दुईपांग्रे सवारीसाधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकुवा भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले एलसी खोली गाडी आयात गर्न पाए पनि बिक्री गर्न नसकिने बताए।

गाडी आइसकेपछि ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइन्छ। अटो व्यवसायीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न दिनुपर्ने माग गर्दै आएका छन्। गाडी बिक्री गर्ने वातावरण नबन्दा पैसा फस्ने मात्रै भएको व्यवसायीको गुनासो छ। 

नेपालमा गाडी आयात खुलेसँगै उत्पादक कम्पनीले ‘पुस’ गर्ने भएकाले पनि व्यवसायी लचिलो नीतिको पर्खाइमा छन्। 

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठले कहिलेबाट गाडी आयात हुन्छ भन्न नसकिने बताए। 

‘भर्खर आयात खुलेको छ। अहिले गाडी बिक्री हुने अवस्था देखिँदैन’, निर्देशक श्रेष्ठले भने, ‘अवस्था हेरेर मात्रै एलसीको लागि तयारी गछौं।’

उनले गाडी खरिद गर्ने ग्राहकले बैंकबाटै ऋण लिएर खरिद गर्ने हुँदा महँगो ब्याजदर तिर्न ग्राहक तयार नभएको बताए। 

‘नगदमै गाडी खरिद गर्ने ग्राहक त थोरै हुन्छन्’, उनले भने, ‘यति धेरै ब्याज तिर्न ग्राहक तयार नै छैनन्।’

अटो व्यापार सहज हुन अझै डेढ दुई वर्ष लाग्ने उनी बताउँछन्।  

अटो व्यवसायीका अधिकांश माग राष्ट्र बैंकसँग जोडिएका छन्। राष्ट्र बैंकले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी राख्ने व्यवसायीको भनाइ छ।

उनले गाडी नै नभएका कम्पनीले तत्काल आयात गरे पनि केही स्टकमा रहेकाले आयात गर्ने वातावरण नभएको बताए।

राष्ट्र बैंकले अटोलोन कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्‍याएको छ। 

व्यवसायीले पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन्। कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग गर्दै धर्नाको कार्यक्रम गरेका छन्। 

निसानका आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पका प्रबन्धनिर्देशक सन्दिप सारडाले बैंकहरुको बदमासीलाई सरकारले बेवास्ता गरेको बताए। 

‘बैंकहरुको सिन्डिकेटलाई राष्ट्र बैंकले साथ दिएको छ। सरकारले पनि राष्ट्र बैंकलाई खुल्ला छाडेको छ’, सारडाले भने, ‘ब्याजलाई कम गर्न सरकारले केही कदम चाल्नैपर्छ।’

अटो व्यवसायीका अनुसार जोसँग एउटा पनि गाडी छैन। उनीहरुले तत्काल आयातको लागि एलसी खोल्ने प्रक्रिया अघि बढाउँछन्। तर जोसँग थोरै गाडी रहेका छन् ती व्यवसायीले नगद मार्जिनको व्यवस्था परिवर्तनलाई कुर्छन्। 

‘गाडीको माग बढ्न थाले अप्ठ्यारो भए पनि ५० प्रतिशत नगद मार्जिन राखेरै ल्याउन सकिन्छ’, बिहीबार माइतीघर मण्डलामा धर्नामा बसेका एक व्यवसायीले भने, ‘बैंकहरुले १८ प्रतिशतसम्म ब्याज लिन पाउँछन्। यस्तो अवस्थामा गाडी खरिद गर्ने मानिस नै हुँदैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .