ad ad

कारोबार


कहिलेदेखि सुरु हुन्छ गाडी आयात?

‘बिक्रीको वातावरण नै छैन, नीति सच्चिनुपर्‍यो’
कहिलेदेखि सुरु हुन्छ गाडी आयात?

नेपालखबरले आयोजना गरेको अटो क्षेत्रका समस्या र समाधानबारे राउन्ड टेबल डिस्कसन। तस्बिर : सरोज बैजू/नेपालखबर


नेपालखबर
पुस ४, २०७९ सोमबार ८:२६, काठमाडौँ

अटो व्यवसायीले सरकारले आयात खोले पनि गाडी आयात गर्नसक्ने अवस्था नभएको बताएका छन्।

नेपालखबरले अटो क्षेत्रका समस्या र समाधानको विषयमा गरेको राउन्ड टेबलमा अटो व्यवसायीले गाडी बिक्री गर्ने वातावरण नै नभएको बताएका छन्। 

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आयात प्रतिबन्धको कारण खुले पनि चलायमान हुन नसकेको बताए। 

‘अटो आयात प्रतिबन्ध नीति के सफल भयो त? त्यसले विदेशी मुद्रा सञ्चितिमा आएको सुधारमा भूमिका खेलेको हो?’, नाडा अध्यक्ष थापाले भने, ‘अघिल्लो वर्ष १७ अर्बको मात्र गाडी आयात भएको छ। अर्थतन्त्र संकुचनको समयमा १४–१५ अर्बकै हुन्थ्यो होला। त्यसले कति विदेशी मुद्रा सञ्चिति भयो? राजस्वमा त असर गर्यो नि!’

अध्यक्ष थापाले वैशाखयता कमर्सियल गाडी खुल्ला रहे पनि गाडी बिक्रीको वातावरण नबनेको बताए। 

नाडा अटोमाेबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा। तस्बिर : सरोज बैजू/नेपालखबर

‘८–९ महिनाको अवधिमा भन्सारमा २२–२४ सय गाडी थन्किएको छ’, थापाले भने, ‘राजस्व लक्ष्य नपुगेर भन्सारले गाडी छुटाइदिन आग्रह गरिरहेको छ। तर व्यवसाय नै छैन कसरी ल्याउने?’

बिक्रीको वातावरण सरकारले बनाउन नसक्ने अवस्था नभए व्यवसायी सडकमा नउत्रिने बताउँदै राष्ट्र बैंकले केही नीति संशोधन गर्नेबित्तिकै गाडी बिक्री गर्न सकिने थापाले बताए।  

अटो व्यवसायीले कृषिमा आधारित नेपाली अर्थतन्त्र रहेको देशमा २९ अर्बको फलफूल, ३९ अर्बको घिउ, तेल आयात हुँदा सरकारले चासो नै नराखेको तर हरेक पटक अटो क्षेत्रलाई नै च्याप्ने गरेको दाबी गरे। 

‘सरकारले खाली अटो क्षेत्रलाई टार्गेट गर्छ। विदेशी मुद्रा बाहिर गयो मात्र भन्छौँ’, सीजी मोटोकर्पका प्रबन्धनिर्देशक करण चौधरीले भने, ‘अटो आयात खुल्नु हामीलाई फाइदा भएको मात्र हो। गाडी बेच्ने वातावारण खोइ?’

सीजी मोटोकर्पका प्रबन्धनिर्देशक करण चौधरी। तस्बिर : सरोज बैजू/नेपालखबर

सरकारले वैशाख १४ गतेयता विलासिताको वस्तु भन्दै गाडी आयातमा प्रतिबन्ध लगाएको थियो। पुस १ गतेबाट आयात खुल्ला गरेको छ। तर ८ महिनापछि गाडी आयात खुल्दा पनि व्यवसायी एलसी खोल्न तयार भएका छैनन्। 

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले गाडीलाई हेर्ने नजरिया परिवर्तन गरे समस्या समाधान हुने बताए। 

‘अटो क्षेत्रलाई कुन नजरियाले हेर्ने? हेर्दा विलासी देखिन्छ, यसको उत्पादनशीलतालाई कसले हेरेको छ त?,’ थापलियाले प्रश्न गरे, ‘गाडीको आवश्यकता र महत्वलाई कसरी हेर्ने? अटो क्षेत्रको विकासको लागि कसरी हेर्ने? सधैँ विलासी कोणबाट मात्रै हेर्ने?’

सरकारले विलासिताका वस्तुको रुपमा हेर्न छोडे अटोसम्बन्धी धेरै समस्या समाधान हुने बताए। 

व्यवसायीले गाडी भित्र्याउनको लागि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाउनुका साथै ब्याजदर समेत घटाउनुपर्ने बताएका छन्। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ। तस्बिर : सरोज बैजू/नेपालखबर

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले अर्थतन्त्रको अवस्था सुधार हुँदै जाँदा नगद मार्जिनको व्यवस्था संशोधन हुने बताए। उनले बैंकको ब्याजदर भने समयअनुसार घटबढ भइरहने भएकाले अबको २–३ महिनामा ब्याजदर घट्ने बताए। 

ब्याजदरको विषयमा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बजारमा डिमान्ड सप्लाईको खेल हुने बताए। 

‘ब्याज भनेको डिमान्ड र सप्लाईमा भर पर्छ। सुन किन महँगो, चाँदी किन सस्तो र फलाम झनै किन सस्तो भन्ने यही हो’, ज्ञवालीले भने, ‘विस्तारै आपूर्ति बलियो हुँदा ब्याजदर विस्तारै तल झर्छ। माघ १ बाट ब्याजदर कम हुँदै जान्छ।’

नेपालखबर राउन्ड टेबल :
अटो व्यवसायीका मागमा राष्ट्र बैंक र अर्थ मन्त्रालय लचिलो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .