कारोबार


ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गर्न प्रधानमन्त्रीसँग अटो व्यवसायीको माग

ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गर्न प्रधानमन्त्रीसँग अटो व्यवसायीको माग

नेपालखबर
साउन ७, २०८१ सोमबार १७:२९, काठमाडौँ

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरुबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। 

नाडा टोलीले सरकारका विभिन्न कार्यविधिहरुको कारण अटोमोबाइल व्यवसायीहरु आफ्नो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको सन्दर्भमा  नेपालको अटोमोवाइल व्यवसायलाई माथी उठाउन आवश्यक नीतिगत सुझावहरु पेस गरेको छ। 

उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेस लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमा बढाई ७५ प्रतिशत गरिनुपर्ने, चालू पुँजी कर्जा मार्ग दर्शन २०७९ लागू भएपछि लागू भएको मितिभन्दा अगाडि कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागू नहुने तर यो लागू भएको मितिपछि कर्जा लिएकाहरुलाई मात्रै चालू पुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए। 

त्यसैगरी सो छलफलमा अध्यक्ष चौधरीले नेपालमा विद्युतीय सवारी साधनहरुको आयात बढदै गए पनि सोहीअनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेसनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनुपर्ने बताएका थिए।  

सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरुको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गरेका थिए।

नेपालमा आयात भइरहेका दुई पांग्रे सवारीसाधनहरुमध्ये करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको तर हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइजअनुसार नभई फरक साइजको भएकोले सवारी सञ्चालनको क्रममा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागू भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटमध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरिदिन समेत अनुरोध गरेका थिए। 

महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी दिएका थिए। 

छलफलमा प्रधानमन्त्रीले सवारीसाधन, टायरट्युब, ब्याट्री तथा लुब्रिकेन्ट्स उद्योगहरुको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिए। उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad