सर्वोच्च अदालतमा गाडी खरिदका लागि केएमसी अटोमोबाइल्स प्रालिले हालेको बोलपत्र स्वीकृत भएको छ।
झम्सिखेलमा रहेको कम्पनीले ६१ वटा गाडी खरिदका लागि २० करोड ७० लाख ९५ हजार रुपैयाँमा ठेक्का पारेको हो।
सर्वोच्चले भनेको छ, ‘आएका बोलपत्रहरुमध्ये केएमसीको बोलपत्र बोलपत्र मूल्यांकन समितिबाट न्यूनतम मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनोट र सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन २०६३ को उपदफा २७ (२) र दफा ४७ प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
कम्पनीले कबोल गरेको मूल्य मूल्यअभिवृद्धि करसहित रहेको सूचनामा उल्लेख छ।
यसअनुसार एउटा गाडी कम्पनीले सर्वोच्चलाई ३३ लाख ९५ हजार रुपैयाँमा उपलब्ध गराउने देखिएको छ।
उक्त ठेक्काको प्राविधिक प्रस्तावमा केएमसी मात्रै छनोट भएको थियो।
प्राविधिक मूल्यांकनमा एउटा मात्रै कम्पनी छनोट हुँदा प्रतिस्पर्धी मूल्यमा गाडी खरिदको सम्भावना क्षीण बनेको भन्दै आलोचना भएको थियो।
कतिपय व्यवसायीले थोरै कम्पनीहरुबीच मात्रै प्रतिस्पर्धा हुने गरी गाडीको स्पेसिफिकेसन बनाएको आरोप लगाएका थिए।
सर्वोच्च अदालतले फागुन २८ गते टेन्डर आह्वान गर्दै कम्प्याक्ट एसयुभी गाडीका लागि आवेदन मागेको थियो। बोलपत्रमा आर्थिक र प्राविधिक प्रस्ताव छुट्टै पेस गर्न भनिएको थियो।
केएमसी अटोमोबाइल्स नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)मा महेश साहको नाममा दर्ता छ। महेश शाह सीजी मोटोकर्पका टेक्निकल म्यानेजर हुन्। ललितपुरको झम्सिखेलमा रहेको कम्पनीले सुजुकीका गाडी बिक्री गर्दै आएको छ।
नेपालमा सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प छ।
यो पनि–
Shares

प्रतिक्रिया