यातायात व्यवस्था विभागले सवारीसाधन आयात, उत्पादन र जडानसम्बन्धी निर्देशिका २०८२ मार्फत विद्युतीय सवारीलाई विशेष व्यवस्था गर्ने प्रस्ताव गरेको छ।
निर्देशिकाको मस्यौदा तयार गरेको विभागले विद्युतीय सवारी सञ्चालनको लागि ऊर्जास्रोतको रुपमा काम गर्ने ब्याट्रीको न्यूनतम आयु ७ वर्ष वा ३००० चार्जिङ साइकल हुनुपर्ने व्यवस्था गर्ने भएको हो।
त्यसैगरी सुरक्षा फिचरको रुपमा थर्मल म्यानेजमेट सिस्टमको व्यवस्था समेत हुनुपर्ने प्रस्ताव गरिएको छ।
यसअनुसार ब्याट्रीको डिजाइन र प्रयोगमा विद्युतीय, मेकानिकल र रासायनिक खतरा कम गर्ने प्रयोजनको लागि सवारीसाधनमा प्रयोग हुने ब्याट्रीले यूएल२५८० वा आईसी ६२१३३ वा एआईएस–०४९, आईएस १७०१७ सरहको सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्ने, विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीले हाई भोल्टेज सर्ट सर्किट परीक्षण, ब्याट्री क्र्यास (दबाब) परीक्षण, तापमान, कम्पन र मेकानिकल झट्का परीक्षण, आगो र विस्फोटको जोखिम परीक्षणमा सफल भएको टेस्ट रिपोर्टसहितको प्रमाणपत्र विभागसमक्ष पेस गर्नुपर्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी चार्जिङ प्रणाली नेपालको विद्युत् ग्रिड र चार्जिङ स्टेसनसँग अनुकूल हुनुपर्नेछ। विद्युतीय सवारीसाधन आयात गर्ने फर्म÷कम्पनीले निर्देशिकामा उल्लिखित व्यवस्थाअनुसार पूर्वाधारको अतिरिक्त आधारभूत तहको ब्याट्री रिपेयरिङ फेसिलिटिज तथा प्राविधिक जनशक्तिको ट्रेनिङ तथा विकाससम्बन्धी पूर्वाधार समेत तयार गर्नुपर्ने प्रस्ताव गरिएको छ। आयात स्वीकृतिको लागि विभागसमक्ष पेस गरिने प्रस्तावित याजनामा पूर्वाधारको योजना समेत प्रस्तुत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
नेपालमा आयात हुने विद्युतीय सवारी एकपटक पूर्णरुपमा चार्ज गर्दा नेपालको सडक अवस्थामा न्यूनतम माइलेज (प्रतिचार्ज किमि) चारवटा पांग्रा वा सोभन्दा बढीको सवारीको लागि ३०० किमि तथा दुई पांग्रा वा तीनपांग्रा सवारीको लागि १०० किमि हुनुपर्ने प्रस्तावित निर्देशिकामा उल्लेख छ।
विद्युतीय सवारीसाधनमा प्रयोग हुने मोटर आईसी६००३४४–१÷ ६००३४–५ मा तोकिएको मापदण्ड तथा गुणस्तर पालना गरेको हुनुपर्नेछ भने ५ किलोवाटभन्दा माथिको हकमा मोटरको एफिसियन्सी क्लास – आई४, प्रोटेक्सन क्लास– आईपी५५, इन्सल्टेसन क्लास–एफ, ड्युटी टाइप–एस२ रेसियो अफ पिक टु रेटेड पावर १.५ देखि २.५ सम्म हुनुपर्ने व्यवस्था गरिएको छ।
मोटरको नेमप्लेटमा निर्माताको नाम वा लोगो, मोटरको मोडल नम्बर र प्रकार, रेटेड र पिक पावर (केडब्लु), रेटेड भोल्टेज, करेन्ट, गति (आरपीएम) र फ्रिक्वेन्सी, मोटरको निर्माण वर्ष र सिरियल नम्बर स्पष्ट उल्लेख हुनुपर्नेछ।
स्पेयर पार्ट्सबारे के प्रस्ताव?
विभागले नेपालमा आयात हुने सवारीको लागि चाहिने स्पेयर्स आयातको लागि विभागको स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।
यसअनुसार स्पेयर्स पार्टस आयातकर्ताले यूएनईसीई प्रकार अनुमोदनको प्रमाणपत्र वा समकक्ष परीक्षण प्रमाणपत्रको साथमा आयात अनुमतिको लागि विभागसमक्ष लेटर अफ अथोरिटी (एलओए) आवेदन पेस गर्नुपर्नेछ। यूएनईसीई मापदण्डअनुसारको स्पेयर्स पार्ट्सको लागि विभागले सोही आधारमा अनुपालना प्रमाणपत्र दिनेछ। तर सक्षम निकायबाट प्रकार अनुमोदन नभएका स्पेयर्स पार्ट तथा यूएन जीटीआर नम्बर १६ मापदण्डअनुसार ई–मार्क प्राप्त नगरेको चाइल्ड कम्पोनेन्ट्स नेपालमा आयातको लागि अयोग्य मानिने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारीको लागि उत्पादित सम्पूर्ण स्पेयर्सपार्ट (रबर पार्टस बाहेक) को न्यूनतम आयु निश्चित गरिएको हुनुपर्नेछ भने स्पेयर्स पार्ट्समा अनिवार्य रुपमा निर्माताको विवरण, पार्ट नम्बर, र अनुपालन चिह्नहरू लेबल गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै निर्माताले गुणस्तर नियन्त्रण र रिकल (फिर्ता) का लागि आफूले उत्पादन गरेको हरेक स्पेयर्स पार्टको अभिलेख राख्नुपर्ने भएको छ। यूएनईसीई वा एनआरसीएस मापदण्ड पूरा नगर्ने स्पेयर्स पार्टस आयातको लागि विशेष स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसरी आयात हुने पार्टसलाई दोस्रो दर्जाको (गैर-अनुपालक) पार्टसको रुपमा आयात स्वीकृति दिइने भए पनि दुर्घटनालाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने पार्टस वा कम्पोनेन्टले यसरी दोस्रो दर्जाको (गैर-अनुपालक) पार्टसको रुपमा आयात स्वीकृति नपाउने निर्देशिकामा उल्लेख छ।
विभागले आयातित पार्ट्सले तोकिएको मापदण्ड पूरा गरेको सुनिश्चित गर्न अनियमित निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया