कारोबार


मुस्ताङको कोरला नाका हुँदै बीवाईडी र ओमोडाले चीनबाट ल्याए १५१ ईभी

बैंकहरूले मुस्ताङ भन्सारबाटै एलसी खोल्न पाउने
मुस्ताङको कोरला नाका हुँदै बीवाईडी र ओमोडाले चीनबाट ल्याए १५१ ईभी

निर्दोष घोरसाइने
असोज १, २०८२ बुधबार १२:१४, काठमाडौँ

चीनसँगका दुई प्रमुख नाकाहरु रसुवागढी (रसुवा) र तातोपानी (सिन्धुपाल्चोक) बाढी र पहिरोका कारण अवरुद्ध भएसँगै मुस्ताङको कोरला नाकाबाट आयात सुरु भएको छ।

विभिन्न वस्तुहरुसँगै विद्युतीय कारहरु समेत कोरला नाका हुँदै नेपाल भित्रिएका हुन्। 

सोमबारदेखि नै कोरला नाका सञ्चालनमा आएको छ। योसँगै सयौँको संख्यामा इलेक्ट्रिक कार मुस्ताङको न्हेचुङ आइपुगेको भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार न्हेचुङ भन्सार कार्यालयमा १५१ ईभी भन्सार जाँचपासको प्रतीक्षामा छन्। कोरला भन्सार प्रमुख रमेश खड्काले अधिकांश बीवाईडी र ओमोडाका ईभी रहेको नेपालखबरलाई जानकारी दिए। 

नेपालमा बीवाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र ओमोडा एन्ड जेकोको एसपीजी अटोमोबाइल्सले ती ईभी ल्याएका हुन्। 

‘भन्सार प्रक्रिया पुर्‍याएर बैंकमा रकम नबुझाएसम्म भन्सार जाँचपास मानिँदैन’, खड्काले भने, ‘हालसम्म विद्युतीय गाडीको भन्सार जाँच पास प्रक्रिया पूरा भएको छैन। जाँचपासका लागि व्यवसायीहरुले घोषणा गर्नुपर्ने हुन्छ।’ 

जाँचपासका लागि भन्सार घोषणा नभइसकेकाले कुन ब्रान्डका कति गाडी छन् भन्न नसकिने उनले बताए। 

ओमोडा एन्ड जेको अटोमोबाइलका निलन बज्राचार्यले अन्य नाका बन्द हुँदा कोरला नाका हुँदै ईभी नेपाल भित्र्याउने प्रक्रिया अघि बढाएको बताए।  

चार्ज नगरी कोरलाबाट ईभी हिँडाउन सकिने अवस्था नरहेको अर्का व्यवसायीले जानकारी दिए। 

‘ठूलो संख्यामा ईभी जाँचपास गर्नुपर्नेछ। चार्जविना गाडी शोरुमसम्म पुग्ने अवस्था छैन। त्यसैले चार्जिङ स्टेसन निर्माणको तयारीमा जुटेका छौँ’, ती व्यवसायीले भने।

गत असारमा आएको बाढी पहिरोबाट केरुङ र रसुवा नाका अवरुद्ध छ। नाइमा एक्स्पो र नाडा अटो शोको समयदेखि नै व्यवसायीले पर्याप्त मात्रामा पर्याप्त ईभी ल्याउनसकेका छैनन्।  

दशैँको मुखमा कोरला नाका सञ्चालनमा आउँदा अटोमोबाइल व्यवसायीलाई राहत दिएको छ। नयाँ पूर्वाधार विस्तार र लामो यात्राबाट सवारीसाधन भित्र्याउनुपरेकाले लागत बढेको छ। 

भौगोलिक जटिलता र पूर्वाधारको अभावले गर्दा कोरला नाकाबाट भित्र्याउँदा केही जटिलता भने आउने देखिन्छ। भौगोलिक कठिनाइ र पूर्वाधारको अभावमा कोरला नाकामा पूर्वाधारको अभाव तथा भौगोलिक रुपमा पनि चुनौतीपूर्ण छ। 

यहाँ बिजुली, मोबाइल नेटवर्क, इन्टरनेटलगायतका समस्या छन्। 

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा आउने नभएपछि भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएको हो। यसका लागि चीनबाट ल्याइएको सामान भन्सार कार्यालयबाट १४ किलोमिटर दूरीमा अवस्थित न्हेचुङ कार्यालयबाट जाँचपासको व्यवस्था मिलाइएको छ। 

राजधानीबाट नजिक दूरीमा अवस्थित रसुवा र केरुङ अवरुद्ध हुँदा चाडपर्वको समयमा अत्यावश्यक मालवस्तुको अभाव हुन नदिन सरकारले लामो दूरी भए पनि कोरला नाका सञ्चालनमा ल्याएको हो। 

भन्सार विभागले एक साताअघि आशिकुडा (भन्सार प्रशासनलाई अनलाइन प्रणाली) कोरला नाकामा जडान गरेसँगै कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको हो। 

सो दिन दुई गाडी निकासी हुँदा दुई गाडी नै पैठारी भएको खड्काले जानकारी दिए। हालसम्म २० वटा गाडी जाँचपासका लागि घोषणा गर्ने प्रक्रियामा छन्।

मुस्ताङ नाकाबाटै एलसी, मार्फा क्षेत्रमा कालोपत्रे
यसैबीच, चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सारलाई पनि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ। 

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले भदौ ३१ गते एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै उक्त भन्सारबाट आयातका लागि एलसी (प्रतीतपत्र) खोल्न दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। 

यसअघि तातोपानी र रसुवागढीबाट मात्र एलसी खोल्न दिइएको थियो। 

बेनी–जोमसोम–कोरोला सडकखण्डअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित पोम्प क्यु खोला पुल र मार्फा बजार क्षेत्रमा कालोपत्रे सम्पन्न भएको छ।

गौरी पार्वतीरकोसी एन्ड न्यौपाने जेभीले निर्माणको जिम्मा पाएको उक्त खण्डको करिब ११०० मिटर बाँकी सडकको कालोपत्रको काम दशैँपछि हुने कम्पनीले जानकारी दिएको छ।

कस्तो छ कालागण्डकी करिडोर सडक?
दुई छिमेकी चीन र भारत जोड्नो सबैभन्दा छोटो दुरीको रुपमा कालीगण्डकी करिडोर रहेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो करिडोरको लम्बाई ४४२ किलोमिटर छ। दुई खण्ड गैंडाकोट–राम्दी–मालढुंगा २४०  किलोमिटर र मालढुंगा–बेनी–जोमसोम–कोरला २०२ किलोमिटर रहेको छ।

कोरला नाका खुलेसँगै कालिगण्डकी करिडोरमा मालवाहक सवारी साधनको आगमन बढ्ने भएको छ। पानी निरन्तर परिरहे गैंडाकोट–राम्दी–मालढुंगामा सवारी साधन सञ्चालन गर्न जोखिम हुने कालिगण्डकी करिडोरको आयोजना प्रमुख कल्पना अधिकारी बताउँछन्।

‘धेरै ठाउँमा ब्लास्टिङ गरेर ट्याक खोलेको हो। पानी पर्दा चर्किएको ठाउँबाट पहिरो खस्ने जोखिम रहन्छ। पानी परेको अवस्थामा अत्यावश्यक बाहेक सवारी साधन चल्न नदिने गरिएको उनले जानकारी दिइन्।

हाल पनि गैंडाकोट–राम्दी–मालढुंगा खण्ड पहिरोका कारण अवरुद्ध अवस्थामा छ। इन्जिनियर बलबहादुर अयडीका अनुसार गुल्मीको अरबेनी नजिक, राक्से, पुर्तीघाट, बरल्वार  बाग्लुङ चौरी खोला, कुइराङ, माझ बगर, खानी खोला क्षेत्र पहिरोका कारण अवरुद्ध छ। यस खण्डमा २७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ। राम्दी–रानीमहल १७ किलोमिटर र बलेवा–मालढुंगा १० किलोमिटर खण्ड कालो पत्रे गर्न ठेक्का लागिसकेको छ। 

यस खण्डमा तीन वटा बेलीब्रजी रहेको छ। जसको क्षमता २४ टन छ। 

मालढुंगा–बेनी–जोमसोम–कोरला 
मालढुंगा–बेनी–जोमसोम–कोरला २०२ किलोमिटर लामो छ। यस खण्ड अन्तर्गत पर्वत १३ किलोमिटर, म्याग्दी ३३ किलोमिटर र मुस्ताङमा १५६ किलोमिटर पर्छ।

मालढुंगा–बेनी–जोमसोम–कोरला खण्डमा निर्वाध रुपमा सवारी साधन सञ्चालन भइरहेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए।

काभ्रे भिर कटेपछि विश्वको सबैभन्दा न्यारो गर्जे छ। उक्त स्थान विगतमा पनि चटान खस्ने ठाउँ हो। ठूलो चटान खसेपछि सोमबार ब्लास्टिङ गरेर अवरुद्ध सडक खुलाइएको हो।

यस वर्ष यस खण्डमा दिनभर सडक अवरुद्ध भएको छैन। कहिले काँही एक–डेढ घण्टा भन्दा बढी सडक अवरुद्ध नभएको उनले जानकारी दिए। 

पर्वत खण्डमा ६ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ। यो पनि कात्तिकसम्म कालोपत्रे सम्पन्न गर्ने अयोजनाको लक्ष्य छ।  म्याग्दीको ३३ किलोमिटर खण्डमध्ये ७ किलोमिटर पहिरोग्रस्त क्षेत्र बाहेक २६ किलोमिटर कालोपत्रे भइसकेको छ। पहिरोग्रस्त क्षेत्रमा स्लोप स्टेबलाइजेनसको लागि ठेक्का निकालिसकिएको उनले जानकारी दिए। 

मुस्ताङको १५६ किलोमिटर मध्ये ९७ किलोमिटर कालोपत्रे छ। बाँकी ५९ किलोमिटर खण्ड कालोपत्रे भइसकेको छ। यस खण्डको म्याग्दीको सिरुवारीमा सय मिटरको ठूलो पहिरो छ। सिरुवारी खण्ड बाहेक अन्य खण्डबाट दुईतर्फी सवारी सञ्चालन गर्न अवरोध नहुने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad