नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यान्युफ्याकचरर्स एसोसिएसन (नाइमा) ले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपत्कालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मङ्गलबार सहयोग हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपत्कालीन अवस्थामा प्राप्त नाइमाको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे।
यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत सहयोग तथा यसका सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे। उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रुपमा चित्रण गरे।

कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा यो सानो सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको र आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाए।
कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण दिँदै यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोकाहरूको पुननिर्माण र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतको सहयोग उपलब्ध गराइएकोे बताए।
Shares

प्रतिक्रिया