कारोबार


घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग

घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग

नेपालखबर
माघ २१, २०८२ बुधबार १३:४१, काठमाडौँ

सिङ्गो नेपाल आम निर्वाचनको संघारमा उभिएको छ। जनताका दर्जनौँ एजेन्डाहरू राजनीतिक पार्टीहरूका घोषणापत्रमार्फत प्रतिबद्धता सहित सार्वजनिक हुने क्रम सुरु भइसकेको छ। विगत केही समयदेखि आम जनताका मुख्य एजेन्डाहरू छायामा पर्ने, उचित स्थान नपाउने तथा राजनीतिक एजेन्डाबाट थिचिएको देखिन्छ।

सोही अवस्थालाई चिर्दै नेपालका अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा क्रियाशील दर्जनौँ संघसंस्था, पीडित परिवार, विज्ञ, सञ्चारकर्मी, तथा अभियानकर्मीहरूको तर्फबाट मुख्य राजनीतिक पार्टीहरूलाई अटोमोबाइल, सुरक्षित यातायात, दिगो सडक, सार्वजनिक यातायात, स्वाथ्य, उपभोक्ता तथा मानव अधिकारसंग सम्बन्धित महत्वपूर्ण विषयहरू समेटी सुझाव–पत्र पेस गरिएको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी–नेपाल तथा स्वतन्त्रता अभियान नेपालसँगको सहकार्यमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता प्रमुख राजनीतिक पार्टीमा सो सुझाव पत्र पेश गरिएको हो।

त्यसैगरी उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जस्ता राजनीतिक पार्टीहरूमा समेत माथि उल्लिखित क्षेत्रका विश्वभर रहेका नेपाली विज्ञ तथा पेशागत समुदायको तर्फबाट समेत सो सुझाव प्रस्तुत गरिएको हो।

समृद्ध, सभ्य र आधुनिक नेपाल निर्माणमा भयरहित यात्राको अधिकार, स्वाथ्यको अधिकार, सुरक्षित, व्यवस्थित र नियमित सार्वजनिक यातायात, युएनका अभिसन्धीहरू, अड्किरहेका ऐन, नियम र कार्यक्रमहरू, रोड सेफ्टी एक्ट, रोड सेफ्टी काउन्सिल तथा इन्टरनेशनल ड्राइभिङ परमिट जस्ता महत्वपूर्ण विषयहरूलाई सो सुझाव पत्रमा समावेश गरिएको छ।

नेपाली कांग्रेसका प्रवक्ता देव राज चालिसे, रास्वपाका उप–सभापति डिपी अर्याल, नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा (बादल) लगायतले सो सुझाव पत्र बुझ्दै ती विषयहरू आधुनिक र समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भएकाले आ–आफ्नो पार्टीको घोषणा पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad