सानिमा बैंकले १८ करोड रुपैयाँले नाफा बढाएको छ।
बैंकले आव २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यो वर्ष कुल २ अर्ब ५७ करोड रुपैयाँले नाफा कमाएको उल्लेख गरेको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड मात्रै नाफा कमाएकोमा यो वर्ष सामान्यले बढाएको हो।
यस्तै बैंकले यो अवधिमा खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि बढाएको छ।
अघिल्लो वर्ष ६ अर्ब १८ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा ६ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै अघिल्लो वर्ष ३ अर्ब ४७ करोड सञ्चालन मुनाफा गरेको बैंकले गत आवमा भने ३ अर्ब५७ करोड नाफा गरेको हो। बैंकले सञ्चालन आम्दानी भने यो वर्ष ८ अर्ब ६० करोड रुपैयाँ गरेको छ।
योबाहेक नाफा बढाउनका लागि बैंकले खराबकर्जा नोक्सानीमा छुट्याएको १ अर्ब ८८ करोड पैसालाई राइटब्याक गरेर नाफामा देखाएको छ। जसले अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा बढाउन मद्दत पुर्याएको हो।
कुल २ अर्ब ५७ करोड नाफा कमाएको बैंकले ९९ करोड ५९ लाख रुपैयाँ कर बापत सरकारलाई बुझाएको हो।
नाफामा सुधार गरे पनि बैंकले खराब कर्जालाई भने घटाउन सकेन। अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको बैंकको खराब कर्जा दर गत वर्ष ३.०१ प्रतिशतमा पुगेको छ।
खराब कर्जा बढे पनि बैंकलाई असर पुर्याउने अवस्था भने छैन। अधिकांश बैंकको यस्तो दर ७ प्रतिशतको हाराहारीमा पुगिसक्दा सानिमासहित केही बैंकले भने खराब कर्जालाई नियन्त्रणमै राख्न सफल देखिएका हुन्।
यस्तै बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। जसबाट बैंकले सेयरधनीलाई कित्तामा २० रुपैयाँ ४७ पैसाबराबरको लाभांश दिने क्षमता राख्छ।
Shares

प्रतिक्रिया