लामो समयदेखि वित्तीय रुपमा अस्तव्यस्त नारायणी विकास बैंकलाई धितोपत्र बोर्डले हकप्रद निष्काशनको स्वीकृति दिएको छ।
यसअघिकै दायित्व निर्वाह गर्न नसकेको बैंकले १ः१ अर्थात् १ कित्ता बराबर १ कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।
पछिल्लो समय बैंकको वित्तीय अवस्था नाजुक बन्दै गएको छ भने सबै सूचकहरु ऋणात्मक छन्। योसँगै गत वर्षबाटै बैंकले निक्षेप र कर्जा वितरण गर्नसकेको छैन। गत आवको अपरिष्कृत वित्तीय विवरणमा बैंकले दिएको ऋण र लिएको निक्षेप दुवै शून्य छ।
ऋण दिने र लिने काम बन्द गरेर फसेको ऋण असुल्न लागेको बैंकले गत वर्ष पनि अपेक्षाकृत असुली गर्न सकेको छैन। त्यसले बैंक सञ्चालन नै थप अस्तव्यस्त बनेको छ। अपरिष्कृत वित्तीय विवरणमा खराबकर्जा ५० प्रतिशत मात्रै देखिएको छैन, समग्र वित्तीय सूचकले बैंकलाई चरम समस्याउन्मुख देखाएको छ।
यस्तोमा बैंकलाई पुँजी जुटाएर सर्वसाधारणको जोखिम थप बढाउने गरी धितोपत्र बोर्डले हकप्रद स्वीकृति दिएको हो। बैंकले सर्वसाधारणबाट हकप्रदमार्फत कुल २६ करोड २४ लाख बराबरको पुँजी संकलन गर्नलागेको छ।
हाल बैंकको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ छ भने बैंकको कुल कित्ता २६ लाख २४ हजार ६ सय ७६ कित्ता सेयर छ। जसमा ७ लाख ८७ हजार ५ सय ९२ कित्ता सर्वसाधारणसँग छ भने १८ लाख ३७ हजार ८४ कित्ता संस्थापक सेयरधनीसँग छ।
हकप्रदको स्वीकृति पाएपछि कम्पनीको चुक्तापुँजी ५२ करोड ४९ लाख रुपैयाँ पुग्नेछ भने कुल सेयरसंख्या २६ लाखबाट बढेर ५२ लाख ४९ हजार कित्ता पुग्नेछ। जसमा सर्वसाधारणको स्वामित्वमा १५ लाख ७४ हजार कित्ता हुनेछ भने संस्थापकको स्वामित्वमा ३६ लाख ७४ हजार कित्ता हुनेछ।
पाँच वर्षअगाडि समस्याग्रस्त घोषणा भएपछि एउटा मात्रै कार्यालयबाट सञ्चालनमा आएको यो बैंकले सुधारपछिका वर्षहरुमा ५ वटा शाखा विस्तार गरे पनि जोखिम व्यवस्थापन भने गर्नसकेको छैन।
नेप्सेका प्रवक्ता मुराहरी पराजुली राष्ट्र बैंकले पनि यसलाई ब्युँताउन खोजेका कारण थप सेयर जारी गरेर सेयर जुटाउने अवसर दिएको बताउँछन्। यस्तो अवस्थामा जोखिम सर्वसाधारण आफैँले मूल्यांकन गरेर थप सेयर लिने वा नलिने निर्णय गर्नुपर्ने उनको सुझाव छ।
‘हकप्रदको उद्देश्य पनि थप पुँजी जुटाएर अवस्था सुधार्नु भन्ने नै हो’, उनले नेपालखबरसँग भने, ‘अब सेयरधनीले कम्पनीको जोखिम हेरेर आफैँले जोखिम लिने नलिने निर्णय गर्न सक्छन्।’
सबै सूचक नराम्रा
बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानीका सबै सूचक नकारात्मक छन्। त्यस्तै, खुद नाफा २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको छ भने खराब कर्जा बढेर ५० प्रतिशत पुगेको छ।
अघिल्लो वर्ष नै कमजोर रहेको वित्तीय विवरण गत वर्ष सुधारिने अपेक्षा गरिएको थियो। तर अपरिष्कृत विवरणमा अघिल्लो वर्षभन्दा सूचकहरु थप कमजोर देखिएका छन्।
अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले गत आवमा ३ करोड ३२ लाख ब्याज आम्दानी गर्दा ३ करोड ६ लाख ब्याज दिनै खर्च गरेको छ।
यसले बैंकको खुद ब्याज आम्दानी घटाएर ऋणात्मक बनाउन पुगेको हो। बैंकको खुद ब्याज आम्दानी २ लाख ९९ हजार रुपैयाँले ऋणात्मक छ।
अघिल्लो वर्षबाटै बैंकले राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार पुँजीकोष कायम गर्न सकेको थिएन। यसले थप कर्जा प्रवाह गर्न पाएन। कर्जा प्रवाह गर्न नसकेपछि बैंकले ब्याज आम्दानी बढाउन नसक्दा त्यसको असर नाफामा देखिएको हो।
सबै वित्तीय सूचक नराम्रो रहेको यस बैंकको खुद सञ्चालन आय पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष ३ करोड २२ लाख रुपैयाँ कमाएको बैंकले गत आवमा १ करोड मात्रै कमाएको छ।
योबाहेक बैंकको सञ्चालन नाफा पनि ऋणात्मक छ। यो भनेको अघिल्लो वर्ष नै यस्तो नाफा घाटामा रहेकोमा गत आवमा घाटा थप बढ्न पुग्नु हो।
अघिल्लो आवमा बैंकको सञ्चालन मुनाफा १ करोड ६९ लाखले ऋणात्मक रहेकोमा गत आवमा बढेर थप ३ करोडले ऋणात्मक हुनपुगेको छ।
बैंकले यो वर्ष अन्य व्यापारिक आम्दानी भने सुधारेको छ। अघिल्लो वर्ष २२ लाख रुपैयाँबराबरको आम्दानी गरेको बैंकले गत आवमा ३८ लाख रुपैयाँ आम्दानी गरेको छ। योबाहेकका सबै सूचक ऋणात्मक छन्।
त्यसो त बैंकले वित्तीय सूचकहरु सुधार गर्न नसक्दा राष्ट्र बैंकले दिएको निर्देशनहरु पनि पूरा गर्नसकेको छैन।
बैंकले अपरिष्कृत वित्तीय विवरणमा निष्क्रिय कर्जा नियन्त्रण गर्न नसक्दा सम्पत्तिको गुणस्तर यथावत् राख्न नसकेको उल्लेख गरेको छ।
‘निष्क्रिय कर्जाको मात्रा बढ्नाले सम्पत्तिको गुणस्तर यथावत् राख्न चुनौती छ’, बैंकको विवरणपत्रमा उल्लेख छ।
त्यसैगरी बैंकको खराब कर्जा ५० प्रतिशतमा पुगेको छ। अन्यमध्ये नारायणी विकास बैंकको मात्रै सबैभन्दा धेरै खराब कर्जा देखिएको हो।
राष्ट्र बैंकले ४० प्रतिशतमाथि खराब कर्जा पुगेको तथा कर्जा अपचलन भएको भन्दै गत पुसमा कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेर आफ्नो नियन्त्रणमा लिएको थियो।
नारायणीले गत आवमा खराब कर्जा दरमा कर्णाली विकास बैंकलाई पनि उछिन्दै ५०.९७ प्रतिशतमा उक्लिएको हो। अघिल्लो आवमा बैंकको खराब कर्जा ४६ प्रतिशत रहेकोमा एक वर्षमा खराब कर्जा थप १०.८० प्रतिशतले बढेको छ।
यो बैंकको कर्जा असुलीमा सुधार नदेखिँदा खराब कर्जा नियन्त्रणमा आउन नसकिरहेको अवस्थामा बैंकले पुँजीकोष पनि सीमामा राख्नसकेको छैन।
बैंकको पुँजी कोष ७.८ प्रतिशतले ऋणात्मक छ। नेपाल राष्ट्र बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्कअनुसार विकास बैंकहरुले पुँजीकोष ११ प्रतिशत कायम गर्नुपर्छ।
तर अघिल्लो वर्षको सोही अवधिमै २.६० प्रतिशत रहेको पुँजीकोष गत आवमा आइपुग्दा ४०१.५३ प्रतिशतले घटेर ७.८४ प्रतिशतले ऋणात्मक बन्न पुगेको छ।
‘बैंकको कर्जा असुली समयमै हुन नसकेकोले नोक्सानी बढ्न गई पुँजीकोष घट्न पुगेको छ’, विवरणपत्रमा स्पष्ट्याइएको छ।
नेपाल राष्ट्र बैंकले २०७७ साउन २१ गते बैंक सञ्चालन गर्न सञ्चालक समिति सक्षम रहेको भन्दै समस्याग्रस्त सूचीबाट हटाएको थियो। त्यसयता राष्ट्रबैंककै निगारानीको बाबजुद पनि बैंकको वित्तीय अवस्था सुधारिन सकेको छैन । बरु बैंकिङ कारोबारको लागि प्राविधिक रुपमा समेत सक्षम रहन नसकेको बैंक स्वयंले स्वीकारेको छ।
यो अवस्थामा बैंकलाई पुन ब्युँताउनका लागि राष्ट्रबैंक देखी धितोपत्र बोर्डसम्मले बैंकलाई पुँजी जुटाउन स्वीकृति दिएको हो। बैंकले अब हकप्रदमार्फत थप पुँजी जुटाउने र वित्तीय दायित्व केही हदसम्म घटाउने प्रयास गरिरहेको छ।
Shares

प्रतिक्रिया