कारोबार


१६औँ योजना कार्यान्वयनमा युरोपेली संघले सघाउने, आयोग र राजदूतबीच छलफल

१६औँ योजना कार्यान्वयनमा युरोपेली संघले सघाउने, आयोग र राजदूतबीच छलफल

नेपालखबर
माघ ८, २०८० सोमबार १३:५४, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन्। 

सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन्। 

भेटवार्तामा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाल र ईयूको व्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ। 

आयोगका उपाध्यक्ष श्रेष्ठले ईयूले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए। १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए।

उपाध्यक्ष र ईयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ।

ईयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई ईयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छिन्। 

ईयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेकी छिन्। नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .