कारोबार


चुनाव गराउन आयोगले माग्यो करिब ८ अर्ब, खर्च आकलनपछि मात्रै दिन्छौँ : अर्थ मन्त्रालय

चुनाव गराउन आयोगले माग्यो करिब ८ अर्ब, खर्च आकलनपछि मात्रै दिन्छौँ : अर्थ मन्त्रालय

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १३:११, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ। आयोगले चुनावका लागि करिब ८ अर्ब रुपैयाँ बजेट माग गरेको हो।

चुनाव खर्चका लागि आयोगले ७ अर्ब ८१ करोड रुपैयाँ प्रस्ताव गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक साताअघि निर्वाचनका लागि आवश्यक रकम अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको जानकारी दिए। 

‘बजेट सन्दर्भमा अर्थ मन्त्रालयमा छलफल भइरहेको छ। अंकको विषयमा टुंगोमा पुगिएको छैन’, भण्डारीले नेपालखबरसँग भने, ‘यसका लागि थप केही दिन लाग्नेछ।’

अघिल्लो पटक २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले प्राप्त गरेको रकमभन्दा आगामी चुनावका लागि प्रस्ताव गरिएको रकम २ अर्ब रुपैयाँ बढी छ। 

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब ८१ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको थियो। 

‘विगतको तुलनामा आगामी निर्वाचनका लागि खर्च बढी माग गरिएको छ। निर्वाचन आयोगले माग गरेकै भरमा खर्च निकासी हुँदैन। कुन शीर्षकमा कति खर्च हुन्छ भन्ने एकीन गरेपछि मात्र बजेट विनियोजन हुन्छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘हाल माग गरेको रकममा केही कटौती गरेर मात्र निर्वाचनका लागि बजेट विनियोजन हुन्छ।’

चालू आर्थिक वर्ष ०८२÷८३ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ। जेन–जी प्रदर्शनपछि संसद् विघटन भई नयाँ अन्तरिम सरकार गठन भएसँगै समयअगावै निर्वाचनमा जानुपर्ने अवस्था छ। यसका लागि आयोगलाई निर्वाचन गर्न अतिरिक्त खर्च चाहिने भएको हो। 

बजेटका सम्बन्धमा अर्थ मन्त्रालयको बजेट महाशाखा र निर्वाचन आयोगका अधिकारीबीच छलफल भइरहेको छ। उक्त छलफलपछि आवश्यकताका आधारमा अर्थ मन्त्रालयले निर्वाचनका लागि बजेट निकासा गर्नेछ। 

कुन निर्वाचनमा कति बजेट?
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब ८१ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको थियो।

यस्तै, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७ अर्ब ५९ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ६ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको थियो। 

२०७० को दोस्रो संविधिानसभा निर्वाचनमा ३ करोड ६ करोड ३० लाख रुपैयाँ र आठ दातृराष्ट्रबाट ३ अर्ब १८ करोड सहयोग प्राप्त भएको थियो।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा २ अर्ब ८० करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad