ad ad

कारोबार


एसआर–३ र बूढीगण्डकी प्रोकमा लगानी गर्न चिलिमे हाइड्रोपावर कम्पनीको प्रस्ताव

एसआर–३ र बूढीगण्डकी प्रोकमा लगानी गर्न चिलिमे हाइड्रोपावर कम्पनीको प्रस्ताव

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १७:३९, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ। 

अर्ध–जलाशययुक्त (सेमी स्टोरेज) प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर–३ जलविद्युत परियोजनाको क्षमता ८७ मेगावाट र नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बूढीगण्डकी प्रोक जलविद्युत् परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ। 

बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्ताव अनुसार, एसआर –३को लागत १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र बूढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ रहने अनुमान छ। पश्चिम सेती जलविद्युत परियोजनाको अपस्ट्रिम (माथिल्लो भाग) मा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लामा पर्छ। 

लगानी बोर्डको कार्यालयले गत भदौ २ मा भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग पश्चिम सेती (७५० मेगावाट) र एसआर–६ (४५० मेगावाट) विकास गर्नेगरी समझदारी गरेको थियो। त्यस्तै, बूढीगण्डकी प्रोक जलविद्युत परियोजनाको परियोजनास्थल गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ। 

चिलिमेले एसआर–३ मा लगानी गर्ने प्रस्तावसँगै सेती करिडोरका अन्य सम्भाव्य जलविद्युत परियोजनाहरूमा स्वतन्त्र उर्जा उत्पादकहरूको लगानी आकर्षित हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए। उनले सेती करिडोरको पनि अरुण करिडोरको जस्तै भविष्य रहेको चर्चा गर्दै चिलिमेले विकासका लागि प्रस्ताव गरेको परियोजनाले सेती नदी र एसआर–६ का लागि निर्माणका क्रममा आवश्यक उर्जा आपूर्ति हुने विश्वास व्यक्त गरे। 

चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रले सेती बेसिनमा पश्चिम सेती र एसआर–६ दुई ठूला जलविद्युत परियोजना निर्माण हुनलागेको पृष्ठभूमिमा एसआर–३ जलविद्युत परियोजनाले उक्त बेसिनमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरे।

चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन छन्।

सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किमी प्रसारणलाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् कार्यान्वयन हुँदै छ। 

परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किमी प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। त्यस्तै, बूढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .