कारोबार


निर्माण व्यवसायी महासंघ पनि निर्वाचनमा होमिँदै, अध्यक्षमा लामा र पाण्डे भिड्ने

निर्माण व्यवसायी महासंघ पनि निर्वाचनमा होमिँदै, अध्यक्षमा लामा र पाण्डे भिड्ने

आङदोर्जे लामा (एडी) र निकोलस पाण्डे


नेपालखबर
माघ ८, २०८२ बिहिबार १४:५३, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वको लागि दुई जना आकांक्षी देखिएका छन्।

महासंघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा (एडी) र सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच अध्यक्षका लागि हुने प्रतिस्पर्धा हुने देखिएको छ। 

महासंघको २६औँ साधारणसभा एवं निर्वाचन (१३औँ अधिवेशन) आगामी माघ १५, १६ र १७ गते हुने कार्यक्रम छ। 

पुस २९ गते एसोसिएटतर्फबाट ३९ जना प्रतिनिधि टुंगोमा पुगेसँगै महासंघको अधिवेशनमा सहभागी हुने ९७५ जना प्रतिनिधि टुंगोमा पुगिसकेको छ। 

यसअघि नै ७७ वटै जिल्ला र प्रदेश प्रतिनिधि टुंगोमा पुगिसकेको थियो। 

लामा वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र पाण्डे अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार हुन्। पाण्डे अघिल्लो निर्वाचनमा अध्यक्षमा रवि सिंहसँग पराजित भएका थिए। 

अध्यक्षका आकांक्षी लामा पीएस कन्स्ट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक र पाण्डे निर्माण व्यवसायीका साथै युवा उद्यमी पनि हुन्। साथै उनी पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेका छोरा समेत हुन्।

आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण निर्माण व्यवसायीहरु सर्वसहमतिका आधारमा नेतृत्व गर्ने पक्षमा पनि रहेका छन्। तर लामा र पाण्डे दुवै अध्यक्षबाहेक अन्य पदमा बसेर नजाने बताउँछन्। 

संस्थापन पक्षले महासंघको विधान संशोधन गरेर वेटिङ प्रेसिडेन्ट (वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष) हुने प्रावधान राखेर अघि बढ्न खोजेको छ। 

तर दुवै प्रत्याशी आफू अध्यक्ष भए मात्र सहमति हुने बताउँछन्। यस्तोमा सहमतिभन्दा पनि निर्वाचनबाटै महासंघको नेतृत्वचयन हुने देखिन्छ।

लामा र पाण्डे दुवैले अध्यक्षमा चुनाव उठ्ने नेपालखबरलाई बताएका छन्।

‘समय ठीक नभएकाले सहमति गरेर जानुपर्ने साथीहरुको प्रस्ताव छ। मैले म भए सहमति हुन्छ भन्ने हो, अर्को साथीले आफू भए सहमति हुने भन्दै आएका छौँ। यस्तोमा सहमति हुन सक्ने सम्भावना कम छ’, लामाले भने।

अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दा आफूसँग चुनाव लड्ने व्यक्ति नभएको पाण्डे बताउँछन्।

सुरुवाती चरणमा महासंघमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको थियो। उक्त दुईबाहेक महासचिव रोशन दाहाललाई पनि दाबेदार मानिएको थियो। तर सर्वसहमतिबाट नेतृत्वचयन हुने वातावरण सिर्जना भएमा दाहालले अध्यक्षको दाबेदारी छोड्ने बताएका छन्।  

वर्तमान कार्यसमितिको महासचिव भएकाले उनी अध्यक्षको स्वतः दाबेदार हुन्। तर संस्थापन पक्ष दाहाललाई लामाको वरिष्ठ उपाध्यक्षमा मनाउने प्रयासमा छ। 

सर्वसहसमतिका नेतृत्वचयन गर्ने वातावरण तयार भएमा साथीहरुले उपलब्ध गराएको पदमा बसेर जाने दाहाल बताउँछन्। 

‘निर्माण व्यवसायी लडेर भन्दा पनि जुटेर जाने भन्ने छ। सर्वसहमत नेतृत्व चयन हुने अवस्थामा आएमा अध्यक्षको हठ गर्दिनँ। काम गर्ने नै हो’, दाहालले भने, ‘जुन पद भए पनि हुन्छ।’ 

मुलुकको तरल अवस्था र वर्तमान परिवेशमा महासंघको नेतृत्व एकजुट भएर अघि बढ्नुपर्ने अध्यक्ष सिंह बताउँछन्। सकेसम्म आगामी कार्यसमितिलाई सहमतिमा बनाउनुपर्छ भन्ने निर्माण व्यवसायी साथीहरुको सुझाव रहेको सिंहको भनाइ छ। 

दोस्रो कार्यकालको अन्तिम क्षणमा रहेको बताउँदै उनी कार्यसमितिलाई सर्वसहमति बनाउने प्रयासमा जुटेको दाबी गर्छन्। 

निर्विरोध सकिएन भने पनि जिम्मेवार टिम चयन गरेर कार्यसमितिमा ल्याउने प्रयास गर्ने उनको भनाइ छ। 

प्यानलको तयारीमा दुवै अध्यक्षका प्रत्याशी
हालसम्म अध्यक्षका आकांक्षीले आधिकारिक रुपमा प्यानल घोषणा गरेर चुनावी प्रक्रियामा होमिनसकेका छैनन्। तर दुवै अध्यक्षका प्रत्याशी आन्तरिक रुपमा प्यानलको तयारीमा भने जुटिसकेका छन्। 

लामाले आफ्नो टिममा वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन दाहाल, महसचिवमा शिवहरी घिमिरे र कोषाध्यक्षमा बालाजु श्रेष्ठलाई उठाउने तयारी गरेका छन्। 

पाण्डेले आफ्नो टिममा वरिष्ठ उपाध्यक्षमा हालका एसोसिएटतर्फका उपाध्यक्ष मुकेश पन्थ (रामजी), महासचिव मंगल शाहीलाई उठाउने तयारीमा छन्। 

दुवै टिमले माघको दोस्रो साता आधिकारिक रुपमा चुनावी प्यानल घोषणा गरेर अघि बढ्ने जानकारी दिएका छन्। महासंघको नेतृत्वमा कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ। वर्तमान अध्यक्ष रवि सिंह कांग्रेसकै समर्थनमा निर्वाचन जितेका थिए।

आगामी निर्वाचनमा विभिन्न दलप्रति आस्था राख्ने मिश्रित पदाधिकारी उठाउने तयारी छ।

लामा कांग्रेसनिकटका व्यक्ति हुन् भने पाण्डे आफूलाई कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको लोकतान्त्रिक व्यक्तिका रुपमा चिनाउन रुचाउँछन्। 

रोशन दाहाल र बालाजु श्रेष्ठ एमाले हुन् भने शिवहरी श्रेष्ठ कांग्रेसनिकट मानिन्छन्। यस्तै मुकेश पन्थ कांग्रेस र मंगल शाही नेपाली कम्युनिस्ट पार्टीका हुन्। 

दुवै पक्षले माघको दोस्रो साताभित्र आधिकारिक रुपमा प्यानल घोषणा गर्ने जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad