कारोबार


कोटेश्वरको जाम घटाउन फ्लाइओभर र सुरुङमार्ग, लागत अनुमानको मापदण्ड बनाउँदै विभाग

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ठेक्का अघि बढाउने तयारी
कोटेश्वरको जाम घटाउन फ्लाइओभर र सुरुङमार्ग, लागत अनुमानको मापदण्ड बनाउँदै विभाग

कोटेश्वर सुधार योजना (सडक विभाग)


निर्दोष घोरसाइने
माघ २१, २०८२ बुधबार ६:५३, काठमाडौँ

कोटेश्वर चोकको जाम न्यूनीकरण गर्न आवश्यक भौतिक संरचना निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाउन सडक विभागले तयारी सुरु गरेको छ।

कोटेश्वर चोक सुधार गर्न विशेष प्रकारको भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ। जुन फ्लाइओभरका साथै ‘कट एन्ड कभर’ सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ। यस्तो बनाउन आवश्यक पर्ने विशेष संरचनाको लागत अनुमान (इस्टिमेट) सम्बन्धी मापदण्ड नेपालमा छैन। सोही कारण सडक विभागले उपमहानिर्देशक अर्जुन अर्यालको संयोजकत्वमा मापदण्ड तयार गर्न समिति गठन गरेको हो। 

नेपालमा फ्लाइओभर र कट एन्ड कभर सुरुङमार्ग एकै स्थानमा निर्माण भएको छैन। ग्वार्को चोकमा ओभरपास, कलंकीमा र पूर्व–पश्चिम राजमार्गका केही स्थानमा अन्डरपास भने निर्माण भइसकेका छन्। 

ग्वार्को चोकमा नेपाल सरकार, कलंकीमा चीनको प्राविधिक तथा आर्थिक सहयोग र पूर्व–पश्चिम राजमार्गमा एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा ती संरचना निर्माण भएका हुन्। ग्वार्को चोक र पूर्व–पश्चिम राजमार्गमा बनेका संरचनालाई सन्दर्भका रुपमा लिने विभागको तयारी छ। 

यसका लागि त्यहाँ प्रयोग भएको विधि कोटेश्वरमा लागू गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन हुनेछ। यसकै आधारमा लागत अनुमान मापदण्ड तयार गरिनेछ। कलंकी चोकमा चीन आफैँले निर्माण गरेकाले त्यहाँको लागत अनुमान मापदण्ड भने नेपालसँग उपलब्ध नभएको संयोजक अर्यालले जानकारी दिए।

मापदण्डका आधारमा संरचना निर्माण गर्न आवश्यक पर्ने जनशक्ति र निर्माण सामग्रीको अनुमानित लागत निकालिनेछ। त्यसको आधारमा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ। उक्त समितिले अनुमानित लागतको मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद्मा पेस गर्नेछ। मन्त्रिपरिषद्ले लागत अनुमान मापदण्ड स्वीकृत गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया अघि बढ्ने अर्यालले बताए। 

‘लागत अनुमान मापदण्ड नभएकाले निर्माण प्रक्रिया अघि बढाउन सकिएको छैन। नयाँ प्रकारको काम भएकाले मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ। त्यसपछि डीपीआर निर्माण प्रक्रिया अघि बढ्नेछ’, उनले भने। 

सरकारले कोटेश्वर चोक सुधार आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा अघि बढाउन खोजेको छ। 

भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३४ अर्ब ४९ करोड (करिब ३० अर्ब ८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको थियो। 

यस्तै, गत मंसिर १७ गते अर्थ मन्त्रालय र जाइकाबीच यसबारे सम्झौता भएको थियो। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।

काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमनले गर्दा कोटेश्वर तथा जडीबुटी खण्ड काठमाडौं उपत्यकाको सबैभन्दा बढी जाम हुने क्षेत्रमा पर्छ। 

यस खण्डमा हुने जाम न्यूनीकरण गर्न जाइकाले सन् २०२४ जनवरीमा तयारी सर्वेक्षण प्रतिवेदन तयार गरेको थियो। यसअघि जाइकाले सन् २०१७ मा गरेको काठमाडौं उपत्यका सहरी यातायात सुधार आयोजनामा पनि कोटेश्वर तथा जडीबुटी खण्डको जाम व्यवस्थापनमा यथाशीघ्र प्रयास सुरु गर्नुपर्ने उल्लेख गरेको थियो। 

जाइकाले कोटेश्वर चोकको जाम न्यूनीकरण गर्न ३ वटा वैकल्पिक प्रस्ताव गरेको छ। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रहेको जग्गामुनि सुरुङ खन्ने र फ्लाइओभरले जोड्ने उल्लेख छ। 

तीनकुने सुरुङमार्ग जोड्न बागमती नदीदेखि शान्तिनगरसम्म फ्लाइओभर बन्छ। पेप्सीकोला मोडिने चोकमा जाम घटाउन मनोहरासम्म फ्लाइओभर हुने जाइकाको प्रतिवेदनमा उल्लेख छ। जडीबुटीबाट एयरपोर्टको जग्गामुनिबाट तीनकुने निस्किने ६०० मिटरको सुरुङ बन्छ। बीचमा सुरुङमार्ग बन्दा छेउमा फ्लाइओभर बनाउन जाइकाले सुझाव दिएको छ। 

रिपोर्टअनुसार सन् २०२० देखि कोटेश्वर–तीनकुने खण्डमा ट्राफिक चाप बढेको पुष्टि भएको थियो। जसले गर्दा पनि चोक सुधार आवश्यक देखिएको हो। ट्राफिक जामले गर्दा प्रतिकूल सामाजिक र आर्थिक क्षति निम्त्याएको उल्लेख छ। फ्लाइओभरसहितको सुरुङमार्गको निर्माण लागत ३४ अर्ब रुपैयाँ बताइएको छ। 

लागत अनुमानको मापदण्ड र डीपीआर तयार नभएसम्म कोटेश्वर चोक सुधार आयोजनाको एकीन लागत अहिले नै भन्न नसकिने उपमहानिर्देशक अर्याल बताउँछन्। डीपीआरमा लागत, डीजाइनलगायत अन्य विषयहरू समेटिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad