कारोबार


आठौँ संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता

साउन २३ सम्म बुकिङ गरे लागतमा १० प्रतिशत छुट
आठौँ संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता

नेपालखबर
साउन ३, २०७९ मंगलबार १७:५७, काठमाडौँ

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ।

कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो। 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो। एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ। 

संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ। 

‘यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ’, जोशीले भने, ‘यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौँ।’

फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए। पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौँ संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन।  

५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहनेछन्। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ।

आठौँ संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ। एक्स्पोमा भारत बंगलादेश, पाकिस्तानलगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदै छन्। 

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ। आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार विस्तारमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। 

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ। साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .