ad ad

कारोबार


प्राइभेटबाट लिमिटेड भए, ‘पब्लिक’ हुन सकेनन् दूरसञ्चार कम्पनी

३ महिनाभित्र आईपीओ जारी गर्दै डिशहोम
प्राइभेटबाट लिमिटेड भए, ‘पब्लिक’ हुन सकेनन् दूरसञ्चार कम्पनी

वसन्त अर्याल
कात्तिक २१, २०७९ सोमबार १४:५२, काठमाडौँ

नेपालमा धमाधम दूरसञ्चार कम्पनीहरु ‘प्राइभेट लिमिटेड’बाट ‘लिमिटेड’ भए पनि सर्वसाधारणलाई सेयर जारी गर्नसकेका छैनन्। 

सरकारको बाध्यकारी व्यवस्थाको कारण निजी कम्पनीबाट पब्लिकमा रुपान्तरण भए पनि उनीहरुले साधारण सेयर (आईपीओ) जारी गर्न नसकेका हुन्। 

अधिकांश ठूला दूरसञ्चार कम्पनीहरु प्रालिबाट लिमिटेडमा गइसकेका छन्। तर धेरै सरकारी स्वामित्व भएको नेपाल दूरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले मात्रै हालसम्म सर्वसाधारणलाई सेयर दिएको छ।  

कम्पनी ऐन २०६३ को दफा १३ मा प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने व्यवस्था छ। यसअनुसार प्राइभेट कम्पनीको साधारणसभाले विशेष प्रस्ताव पारित गरी पब्लिक कम्पनीमा रुपान्तरण गरेमा पब्लिक हुने व्यवस्था छ। 

‘५ करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक कम्पनीमा परिणत गर्नुपर्नेछ’, ऐनमा भनिएको छ। 

इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (इस्पान)का अध्यक्ष सुधिर पराजुलीले सरकारको बाध्यकारी नीतिले लिमिटेड कम्पनीमा जानुपरेको बताए। 

‘सरकारले बाध्यकारी नीति नबनाएको भए हामी तत्काल पब्लिक कम्पनीमा जाने थिएनौँ’, सुबिसु केबल नेट लिमिटेडका सञ्चालक समेत रहेका पराजुलीले भने, ‘आईएसपी कम्पनीहरु प्रालिबाट लिमिटेडमा गए पनि तत्काल आईपीओ जारी गर्नसक्ने अवस्था छैन।’

प्रालिबाट लिमिटेडमा जाँदा कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र व्यक्ति र एक महिला अनिवार्य राख्नुपर्छ। कम्पनीलाई एक व्यक्तिको मातहतभन्दा धेरै सदस्य हुँदा पारदर्शिता हुने विश्वास गरिन्छ। 

‘लिमिटेडमा गए पनि सर्वसाधारणलाई सेयर जारी गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्छ’, पराजुलीले भने, ‘कम्पनी निरन्तर नाफामा जानुपर्यो, चुक्ता पुँजी लगायतका विषय मिलाउनुपर्छ।’

कुनै कम्पनीले लिमिटेड कम्पनी भएपछि पनि पब्लिक सेयर जारी गर्छु भन्दा नेपालको कानुनी प्रक्रियाले ३ वर्ष लाग्ने उनी दाबी गर्छन्। 

‘डिशहोमले ३ महिनाभित्र आईपीओ जारी गर्छ’
यता डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्धनिर्देशक सुदीप आचार्य डिशहोमले आईपीओ जारी गर्ने प्रक्रियामै रहेको बताउँछन्। 

सन् २००९ मा स्थापना भएको डिशहोम वि.सं. २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्काशन गर्ने तयारी थाल्यो। कम्पनीको वि.सं. २०७५ पुस २७ गते सम्पन्न भएको साधारणसभाले आईपीओ बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो। 

२०७७ असारमा डिशहोमले आईपीओ सार्वजनिक गर्ने अनुमति धितोपत्र बोर्डबाट मागेको थियो। 

डिशहोमले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाएको छ। धितोपत्र बोर्डका अनुसार डिशहोमले २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको आईपीओ बिक्रीको अनुमति पाएको छ। 

१०० रुपैयाँ कित्तामा सेयर जारी गर्ने कम्पनीले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्दै छ। 

प्रबन्धनिर्देशक आचार्यले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रियामा गए पनि सेयर संरचनामा परिवर्तन गर्दा केही ढिलाइ भएको बताए। 

‘अबको साढे २–३ महिनामा डिशहोमको आईपीओ जारी हुन्छ’, उनले भने। 

डिशहोमको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ। डिशहोमले इन्टरनेटसँगै आईपीटिभी सञ्चालन गरिरहेको छ। डिशहोमका ग्राहक २ लाख कटेका छन्। 

आईएमई ग्रुपअन्तर्गतको एक कम्पनी रहेको डिश मिडिया नेटवर्क लिमिटेडको ४७ प्रतिशत सेयर स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडको छ। 

वर्ल्डलिंक घोषणामै सीमित
वर्ल्डलिंक कम्युनिकेसनले साधारण सेयर सार्वजनिक गर्ने घोषणा गरेको थियो। २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले आईपीओ जारी गर्ने घोषणा गरेका थिए। 

१९९५ मा स्थापना गरेको वर्ल्डलिंकको चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। २०७९ असार मसान्तसम्म वर्ल्डलिंकका ग्राहक ६ लाख ६० हजार पुगेका छन्।

वर्ल्डलिंकमा २०१९ मा बेलायतको बैंक तथा वित्तीय संस्था ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (सीडीसी)ले १ अर्ब ३५ करोड लगानी गरेको थियो। जसमा १ अर्ब वर्ल्डलिंकमा प्रत्यक्ष लगानी गरेको थियो।  

इन्टरनेट सर्भिस प्रोभाइडर कुल ग्राहकमा ३० प्रतिशत बढी बजार हिस्सा रहेको वर्ल्डलिंकको आर्थिक वर्ष २०७७/०७८ मा फाइबरनेट सेगमेन्टमा ३६ प्रतिशत बजार हिस्सा थियो।  

देशका ७० बढी जिल्लामा आफ्नो सेवा पुर्याएको कम्पनीका नेपालभर १४० शाखा छन्। कम्पनीको आम्दानीमध्ये ४१ प्रतिशत खुद्रा ग्राहकबाट र ७ प्रतिशत कर्पोरेट ग्राहकबाट आम्दानी गरेको छ।

सुबिसु लिमिटेडमा रुपान्तरण, सर्वसाधारणले तत्काल सेयर नपाउने
अर्को कम्पनी सुबिसु केबलनेट २०७७ मै लिमिटेडमा रुपान्तरण भएको थियो। सुबिसु इन्टरनेट सर्भिस प्रोभाइडरमा तेस्रो ठूलो कम्पनी हो। कम्पनीका २ लाख ३६ हजार ग्राहक छन्। 

२००१ मा स्थापना भएको सुबिसुको वार्षिक टर्नओभर (कारोबार) साढे ३ अर्ब बढी छ। १८ सय बढीलाई रोजगारी दिएको कम्पनीका ११० शाखा छन्। 

कम्पनीका सञ्चालक सुधिर पराजुलीले सुबिसु तत्काल आईपीओ जारी गर्ने अवस्थामा नरहेको बताए।

भायानेट आईपीओ ल्याउने तयारीमा
यसैबीच, भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ।

सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर टू द होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गरेको थियो। 

त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरूमध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको थियो।

आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्यो। जसअनुसार भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच अप टिभीजस्ता सुविधा तथा सेवाहरूमार्फत नेपाली टेलिभिजनका ग्राहकहरूको मन जित्न सफल भएको थियो ।

भायानेट देशका ३० सहरमा विस्तारित भइसकेको छ। आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरैभन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ। 

एनसेल २०७७ मै पब्लिकमा रुपान्तरण 
निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेल अब पब्लिक कम्पनीमा रुपान्तरण भएको छ।

कम्पनी ऐनको प्रावधानअनुसार एनसेल पब्लिक कम्पनीमा परिणत भएको हो। पब्लिक कम्पनीमा गएसँगै एनसेलले आईपीओ जारी गर्ने बाटो खुलेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयले २०७७ साउन १९ गते निर्णय गर्दै एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न अनुमति दिएको हो।

कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ।

एनसेल पलिब्क कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल आजियाटा लिमिटेड भएको छ।

सर्वसाधारणलाई सेयर दिँदा कम्पनीको विश्वास बढ्छ : आचार्य 
डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक आचार्य विदेशमा अधिकांश कम्पनी पब्लिकमा जाने गरेको बताउँछन्। उनले कम्पनीले पब्लिकमा सेयर जारी गर्दा कम्पनीप्रतिको विश्वास बढ्ने बताए। 

‘विदेशमा अधिकांश ठूला कम्पनी पब्लिकमै गएका हुन्छन्’, उनले भने, ‘कम्पनी म्याचुअर्ड नहुने बेलासम्म मात्रै प्रालिमा हुन्छन्।’

उनले पब्लिक कम्पनीमा जाँदा कम्पनीका कुनै व्यक्तिको एकलौटी नहुने र सर्वसाधारणले सेयर खरिद गर्न पाउँदा आफ्नो भनी अनुभूति गर्नसक्ने बताए। उनले पब्लिक कम्पनीमा जाँदा कम्पनीको भ्यालु पनि बढ्ने बताए। 

‘डिशहोम स्थापनाको १२ वर्ष भइसक्यो। अहिले प्रतिकित्ता १०० रुपैयाँमै बेच्नुपर्छ’, उनले भने, ‘कम्पनीले छिट्टै सेयर बिक्री गर्नसके १०० रुपैयाँको भ्यालु धेरै बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .