कारोबार


सकियो एनसेल फाउन्डेसन र जोन्टा क्लबको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

सकियो एनसेल फाउन्डेसन र जोन्टा क्लबको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १६:५३, काठमाडौँ

एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै सफलतापूर्वक समापन भएको छ। 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरी समापन भएको एनसेलले जनाएको छ। 

यस १६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू’ शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो ।  यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्य लिइएको छ। 

कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए। 

यसै अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि संचालन गरिएको थियो।

यस संयक्त पहलले सरकारी तथा निजी गरी १२ विद्यालयमा करिब १ हजार ७०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराई विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीजस्ता जान्नैपर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने काम गरिएको थियो। 

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका थिए। 

अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर माननिय मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेलजस्ता विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए। 

यस अवसरमा लैङ्गिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका चुनौतीहरू र समाधान विषयमा प्यालन डिस्कसनको आयोजना भएको थियो। 

यसको सञ्चालन जोन्टा इन्टरनेशनलको जिल्ला २५ समितिकी अध्यक्ष सोनि जोशीले गर्नुभएको थियो । प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सीईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसीमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारीजस्ता विशिष्ट वक्ताहरूको सहभागिता थियो। 

यस छलफल सहकार्यमा आधारित समाधानहरू अपनाई लैङ्गिक असमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावित हुने जनसमुदायलाई सहयोग पुर्‍याउने र यसमा युवाहरुको भुमिका र उपायहरूका बारेमा केन्द्रित भएको एनसेलले जनाएको छ।

अभियानको बारेमा आफ्नो विचार व्यक्त गर्दै, एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्काले भनिन्, “यस अभियानले संयुक्त रुपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको छ । विविध सरोकारवालाहरूलाई समेटेर युवाहरूको आवाजलाई सशक्त बनाएर, हामीले लैङ्गिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौं।”

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, बिना राणाले लैङ्गिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन्। उनले यस १६ दिनको सक्रियता अभियानको सफलताबारे चर्चा गर्दै, एनसेल फाउन्डेसन र साथीको समर्थनमा ‘ओरेन्ज द स्कूल’ पहलले १२ विद्यालयका १ हजार ७०० भन्दा बढी विद्यार्थी माझ लैङ्गिक हिंसा, बालविवाह र साइबर सुरक्षा सम्बन्धी चेतना फैलाउन सफल भएको बताइन्।

एनसेल फाउन्डेसन र जोन्टा क्लबद्वारा संचालित १६ दिने सक्रियता अभियानले लैङ्गिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयासहरूको लागि एक बलियो उदाहरण प्रस्तुत गरेको छ। शिक्षा, वकालत, र सहकार्यलाई समेटेर, यस पहलले जागरूकता मात्र फैलाएको छैन, सबैमाझ आवश्यक कदम चाल्न प्रेरित गर्दै सहभागी र सरोकारवालाहरूमा दीर्घकालीन प्रभाव छोड्न सफल भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad