कारोबार


सिबिफिन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी

सिबिफिन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी

नेपालखबर
चैत ३, २०८१ आइतबार १७:१९, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ। 

सिबिफिन कार्यालय, सुन्धारामा भएको उक्त सम्झौतामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै सिबिफिनका महानिर्देशक रोशन कोइरालाले भने, “काठमाडौं फिनटेकसँगको यो महत्वपूर्ण सहकार्य नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी बनाउनका लागि कोसेढुंगा सावित हुनेछ।”

त्यसैगरी काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले नेपालको बैंकिङ क्षेत्रको गुणात्मक सुधार, विकास एवं विस्तारमा अविछिन्न क्रियाशील सिबिफिनसँगको यस रणनीतिक साझेदारीमा संलग्न हुन पाउँदा उत्साहित भएको बताए। 

उनले भने, ‘नेपाली बैंक तथा वित्तीय संस्थाहरूका सञ्चालक समिति सदस्यहरू र लब्धप्रतिष्ठित बैंकिङ नेतृत्वकर्ताहरूलाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेकसम्बन्धी विश्वस्तरीय ज्ञान प्रदान गर्ने अवसर पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो। यो सहकार्यले डिजिटल बैंकिङ, प्रविधि–सञ्चालित नवप्रवर्तन र समग्र वित्तीय सेवाहरूको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्नेछ।”

योसँगै बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यहरूका लागि नवीनतम प्रविधि, नीति, अभ्यास, नियमन, सुशासन, अनुपालना, रणनीतिक वित्तीय व्यवस्थापन, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधि एवं फिनटेक अपनाउने प्रक्रिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम तथा प्रशिक्षण कार्यक्रम र उच्चस्तरीय सम्मेलन आयोजना गर्ने सहमति पनि भएको छ।

त्यसैगरी रणनीतिक नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धिका विशेष तालिम संचालन गर्ने, सामाजिक एवं आर्थिक रुपान्तरणका लागि बैंकिङ पहुँच एवं समावेशी वित्तीय साक्षरता प्रवद्र्धन, नैतिक बैंकिङ अभ्यास, तथा सुशासन अभिवृद्धि गर्ने परियोजनाहरू सञ्चालन गर्ने कार्यमा सहकार्य गरिने सम्झौतामा उल्लेख गरिएको छ। त्यसैगरी बैंकिङ क्षेत्रका जल्दाबल्दा चुनौती एवं अवसर, उद्यमशीलता एवं नवप्रवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन समेत सार्वजनिक गरिने जनाइएको छ।

सम्झौताअनुसार काठमाडौं फिनटेकले कार्यक्रम आयोजना, स्रोत व्यवस्थापन तथा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ भने सिबिफिनले आफ्नो सञ्जाल तथा रणनीतिक मार्गदर्शनमार्फत परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । 

डिजिटल रूपान्तरणमा यात्रारत नेपालको बैंकिङ क्षेत्रलाई अझ डिजिटल प्रविधिमैत्री, रणनीतिक रूपमा सशक्त, तथा सुशासनकेन्द्रित बनाइ अझ मजबुत बनाउनका लागि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने साझेदारको विश्वास रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad