निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले यही चैत अन्तिम साता नयाँ नेतृत्वचयन गर्दै छ।
चैत ५ गते बस्ने महासंघको कार्यकारिणी समिति बैठकले प्रदेश महासंघको प्रदेश सभा एवं अधिवेशनका साथ ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तय गर्नलागेको हो।
महासंघमा विगतका वर्षजस्तो यस पटक आगामी कार्यकालका लागि वेटिङ प्रेसिडेन्ट (वरिष्ठ उपाध्यक्ष) प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछैन।
२०८१ मंसिरमा भएको विशेष साधारणसभाले विधान सर्वसम्मत रुपमा संशोधन गरी हालका वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने र त्यसपछिको अध्यक्ष भने प्रत्यक्ष निर्वाचनबाट छान्ने व्यवस्था गरेको छ। हाल महासंघमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ रहेका छन्।
विधानतः उनी नै महासंघको नयाँ अध्यक्ष बन्नेछन्। अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो। तर वरिष्ठ उपाध्यक्षमा पनि यस्तै प्रवृत्ति कायम रहँदा पुरानै व्यवस्थामा महासंघ फर्किएको हो। २०७३ सालमा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो।
अहिले कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हुने व्यवस्था गरिएको छ। विधान संशोधनअघि कार्यसमितिको कार्यकाल तीन वर्षको थियो।
विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा यस व्यवस्थाअनुरुप पहिलो अध्यक्ष बनेकी थिइन्। त्यसपछि वरिष्ठ उपाध्यक्षबाट शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्न सफल भइसकेका छन्।
को कसरी चुनिन्छन्?
नयाँ व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष (आगामी अध्यक्ष) बाहेक अन्य कार्यसमिति सदस्यहरु साधारणसभाबाट चुनिएर आउनेछन्।
नयाँ विधान अनुसार पदाधिकारीमा १ वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष र कोषाध्यक्ष रहने व्यवस्था छ।
सात पदाधिकारीमध्ये ४ उपाध्यक्ष साधारण सदस्यको मतबाट निर्वाचित हुनेछन्।
वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित कार्यकारिणी समितिले चयन गर्नेछ।
वरिष्ठ उपाध्यक्ष कुनै पनि सदस्य समूहमध्येबाट कम्तीमा ३ कार्यकाल सदस्य भइसकेको बहालवाल कार्यकारिणी समिति सदस्य वा एक कार्यकाल पदाधिकारी भइसकेकोमध्येबाट चयन गर्नुपर्नेछ।
विधानअनुसार एसोसियट्स द्विराष्ट्रिय एक जना उपाध्यक्ष रहनेछ। यसका लागि २० वटाभन्दा बढी द्विराष्ट्रिय संघहरु सदस्य हुनुपर्छ। त्यस्तै, महिला उपाध्यक्ष सम्पूर्ण कार्यकारिणी समितिमध्येबाट निर्वाचित हुनेछ। दुई कार्यकाल सदस्य भइसकेको बहालवाल सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्ने व्यवस्था छ। कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष एक जना हुने विधानमा उल्लेख छ।
महासंघमा रहने एक जना कोषाध्यक्ष सम्पूर्ण कार्यकारिणी समितमध्येबाट चयन हुनेछ र कम्तीमा दुई कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्नेछ।
यसरी निर्वाचित हुन्छन् सदस्यहरू
सात प्रदेशका एक/एक अध्यक्ष सबै सदस्य हुन्छन्। उद्योग वाणिज्य संघहरुको खुलातर्फबाट कम्तीमा दुई जना महिलासहित १७ जना, उद्योग वाणिज्य संघ सदस्यमध्ये प्रत्येक प्रदेशबाट निर्वाचित दुई जनाका दरले (प्रदेशगत उम्मेदवारी र समूहगत निर्वाचित हुने) सात प्रदेशबाट १४ सदस्य हुने विधानमा व्यवस्था छ।
यस्तै वस्तुगत तर्फबाट निर्वाचित हुने कम्तीमा एक जना महिला सहित १४ जना, वस्तुगत महासंघमा १५ भन्दा बढी सदस्य भएमा निर्वाचित हुने २ जना, द्विराष्ट्रिय संघहरुबाट निर्वाचित १ जना र एसोसिएट्स सदस्यमध्येबाट कम्तीमा २ जना महिला सहित १७ जना सदस्य नियुक्त हुनेछन्।
महासंघद्वारा प्रवर्द्धित नेपाल युवा उद्यमी मञ्चको (पदेन) अध्यक्ष, संस्थापक सदस्यहरु १२ मध्येमा २ जना सदस्य र अध्यक्षद्वारा मनोनीत सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा २ जना महिला सहित ७ जना सदस्य रहनेछन्।
वरिष्ठ उपाध्यक्षमा संघाई, ढकाल र श्रेष्ठको चर्चा
यो पटक महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति स्वतः अध्यक्ष बन्नेछैनन्।
तर पनि आगामी अध्यक्षको रुपमा आफूलाई दाबेदारी कायम राख्न व्यवसायीहरुले वरिष्ठ उपाध्यक्ष पदलाई प्राथमिकता दिइरहेका छन्।
हालसम्म वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले दाबेदारी प्रस्तुत गरेका छन्। उनले गत फागुन ११ गते आफ्नो समूहको टिम नै घोषणा गरिसकेका छन्।
वरिष्ठ उपाध्यक्षका दाबेदारमा जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य र रामचन्द्र संघाईको नाम पनि चर्चामा छ। तर हालसम्म उनीहरुले आधिकारिक रुपमा प्यानल घोषणा गरेका छैनन्।
ढकालको टिमबाट उपाध्यक्षका लागि ज्योत्सना श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा उमेश डालमिया, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे, जिल्ला नगर उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा कमला श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ।
यस्तै, वस्तुगत उपाध्यक्षमा शिवकुमार घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेय, जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठको नाम चर्चा छ।
वरिष्ठ उपाध्यक्षका प्रत्याशीहरुले कार्यकारिणी सदस्यमा आफ्नो टिमका अधिकभन्दा अधिक सदस्य निर्वाचित गराउन लबिङ तथा कार्यक्रमहरु गरिरहेका छन्। निर्वाचित भएर आउने कार्यकारी सदस्यहरुको भोटका आधारमा वरिष्ठ उपाध्यक्ष चयन हुनेछ।
Shares

प्रतिक्रिया