विदेशी पर्यटकको चहलपहल र फेवातालले भर्ने सौन्दर्यले सधैँ सुन्दर र भव्य देखिन्छ पोखराको लेकसाइड। त्यही लेकसाइडमा उभिएर पर्यटकलाई आतिथ्य पस्किन आतुर छ– एउटा ‘जीवित संग्रहालय’।
नेपाली काष्ठ र वास्तुकलाको सम्मिश्रण पाइने त्यो ‘संग्रहालय’ हो– हेरिटेज होटल सुइट्स एन्ड स्पा। ४५ वर्षदेखि आमादब्लम एडभेन्चर्सको माध्यमबाट पर्यटन क्षेत्रमा सक्रिय व्यवसायी रविचन्द्र हमालले यसलाई सपनाको परियोजनाका रुपमा अघि सारेका थिए।
आमादब्लम नेपालको पहिलो १० वटा टुर्स एन्ड ट्राभल्स कम्पनीमध्येको एक हो।
मकवानपुरको दामनमा एभरेष्ट पानोरोमा रिसोर्ट सञ्चालन गरिरहेका उनले ठ्याक्कै ८ वर्षअगाडि पोखरालाई बुटिक होटल पस्किएका थिए।
पर्यटन क्षेत्रबाट देशलाई सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउन सहयोग गरेका हमाललाई कुनै समय सरकारले नै सम्मानित गरेको थियो।
उनको त्यो विरासत र परिकल्पनालाई पोखरामा एउटा सजीव सपनाको रुपमा सजाइएको छ।

उक्त होटलका कार्यकारी निर्देशक एवं रविचन्द्र हमालका छोरा सौहार्द हमाल भन्छन्, ‘हराउँदै गएको काष्ठकला र वास्तुकला पोखरामा पर्यटन उद्योगमार्फत जीवन्त राखौँ भनेर बुटिक होटल बनायौँ। जहाँ भक्तपुरको इँटा प्रयोग भएको छ। बुङमती र पाटनका झण्डै १५० जना कालिगढहरूको शिल्पी कौशल सजिएको छ।’
होटल बनाउँदै गर्दा कसैले उनलाई भनेको थियो, ‘सिलिकनको डिजाइन सस्तो र छिटो पनि हुन्छ। किन काठमा मिहिनेत गरिरहेको?’
तर, उनीहरुले प्रतीकात्मक कला होइन, साँचो नेपाली काष्ठकला खोजेका थिए। काठमाडौंको हुनमानढोका क्षेत्रमा बसेको अनुभव पर्यटकले पोखरामै गरून् भन्ने थियो।
२०७२ को भूकम्पमा भत्किएका संरचनासँगै ढलेका कतिपय नेपाली मौलिक कलाकृति हेरिटेज होटलमा बटुलिएका छन्।
‘भूकम्पले ढालेका घरका काष्ठकला, झ्याल र ढोकाहरू बुवाले संकलन गरेर होटलमा जोड्नुभएको छ’, हमाल नेपालखबरसँग भन्छन्, ‘ढलेका संरचनासँगै हराउन थालेका कलाकृतिलाई होटलमा ल्याएर जीवित राखेका छौँ।’
त्यसैले उनीहरुले समय लगाए। लगानी थपिरहे। अन्ततः फेवातालको आँगनमा पाँच रोपनी क्षेत्रफलमा ठडियो चार तारे बुटिक होटल। कुल क्षेत्रफलमध्ये ६ हजार वर्गफिटमा होटलका संरचना बनेका छन्।

तीनवटा भवनलाई हिमालको नाम दिइएको छ। सबैभन्दा अगाडिको भवन अन्नपूर्ण ब्लक पाँच तल्लाको छ। यसको भुइँतल्लामा लबी र माथिल्ला तल्लामा कोठाहरु सजाइएका छन्। लाङटाङ ब्लक बीचमा छ। यसमा भुइँतल्लामा ज्याकोजीलगायतका सेवाहरु छन् भने अन्य तलामा कोठाहरु।
सबैभन्दा पुछारको ब्लकलाई एभरेष्ट नाम दिइएको छ। यसमा हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पाः थेरापी, पुलवार, रेस्टुरेन्ट, बारलगायत छन्।
होटलको कुल ६० कोठामध्ये १८ वटा सुइट र सेमी सुइट रुमहरू छन्। बाँकी ४२ वटा स्ट्यान्डर्ड रुमहरू छन्।
भविष्यमा विस्तार गर्न सकिने होटलको फाउन्डेसन तयार गरिएको छ। अहिले चार तलामा सीमित रहेको भवनमा अरु १० तला थप्न मिल्ने गरी फाउन्डेसन बनाइएको छ।
हमाल परिवारको यो सपना पोखरामा सजाउन नबिल र हिमालन बैंकले सहयोग गरेका हुन्। दुई बैंकले कन्सोर्टिएम बनाएर ऋण लगानी गरेका थिए। २०६७ मा जग खन्न सुरु गरेको उक्त होटल निर्माण सम्पन्न हुन ८ वर्ष लाग्यो। २०७५ को असोजबाट आंशिक रुपमा सञ्चालनमा आएको उक्त होटल पूर्णरूपमा सञ्चालन नहुँदै कोरोना महामारीको कहरमा लपेटियो।
‘होटल भर्खर वामे सर्न सुरू गरेको थियो। विश्वभरि कोभिड–१९ महामारी फैलियो। पर्यटन क्षेत्र प्रभावित भयो’, कार्यकारी निर्देशक सौहार्दले भने, ‘होटलले आफ्नो पखेटा फैलाउनै लाग्दा लकडाउनको मार व्यहोर्नुपर्यो।’

त्योसँगै करिब दुई वर्ष कोरोना प्रभावमा बित्यो। उनीहरुले बैंक ऋणको ब्याज तिर्न सकेनन्। राष्ट्र बैंकको नीतिअनुसार, कर्जा पुनर्तालिकीकरण भयो। ब्याज सावाँमा थपिँदै गयो। त्यतिमात्रै होइन, पछिल्ला दुई वर्षमा बैंक वित्तीय संस्थाले ब्याज यति बढाए कि सात प्रतिशत ब्याजदरमा लिएको कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्यो।
होटलको कमाइले सञ्चालन खर्च र बैंकको ब्याज धान्न धौ–धौ भयो। ब्याज पँुजीकृत हुँदै अहिले बैंकको ऋण मात्रै एक अर्ब चार करोड रुपैयाँ पुगेको छ। सुरुमा कोभिड कहरको अभरमा परेको यो होटललाई अहिले बैंकको कर्जाले कज्याएको छ। अझ भनौँ, होटल १०४ डिग्रीको ज्वरोले सिकिस्त छ।
हमाल भन्छन्, ‘होटल सुरु नहुँदै व्यवधान सुरु भयो। अहिले होटलले कमाएको सबै बैंकलाई बुझाउनुपर्ने अवस्था छ। कमाएर बैंकलाई मात्र खुवाउने कि व्यवसायलाई पनि अघि बढाउने? बैंक मोटाउने तर उद्यमी सुक्ने अवस्था बनेको छ।’
बैंकले ब्याज मात्रै लगाएको छैन। कोरोना महामारीका बेला समयमा तिर्न नसकेको कर्जाको ३ प्रतिशत थप जरिवाना तिर्नुपरेको छ। समग्रमा ११ प्रतिशत ब्याजको हिसाब छ।
उनका अनुसार होटलमा पारिवारिक कमाइ र पैतृक सम्पत्तिबाट समेत गरी दुई अर्ब ३२ करोड लगानी पुगेको छ। तर, अहिले बैंकको ऋणले यसरी च्यापेको छ कि उनीहरुलाई यो परियोजना जोगाउनै हम्मेहम्मे परिरहेको छ।
जीवन नै पर्यटन क्षेत्रमा समर्पित गरेका रविचन्द्र हमाल परिवार आफ्नै सपनालाई जोगाउने कठोर मोडमा उभिएका छन्। बाँसको टुप्पोमा बनाएको गुँडमा कोरलेको बचेरालाई ठूलो आँधीबेहरीबाट जोगाउन एउटा चराले जस्तो उनीहरुले संघर्ष खेप्नुपरेको छ। यसले हमाल परिवारको तनाव र बेचैनी बढेको छ तर सपना जोगाउने जिजीविषा उस्तै छ।

सोही कारण उनीहरु होटललाई बैंकको पोल्टामा सुम्पिनेभन्दा साझेदार भित्र्याएर बैंकको दायित्व चुक्ता गर्ने निर्णयमा पुगेका छन्।
‘हामीलाई यो संरचनासँग भावनात्मक लगाव छ। यसलाई केवल एउटा बिल्डिङको रूपमा मात्र लिएका छैनौँ। त्यसैले कोही राम्रो साझेदार पाउँदा सेयर बाँड्ने निर्णयमा पुगेका छौँ’, कार्यकारी निर्देशक सौहार्द हमालले नेपालखबरसँग भने।
होटलको ५१ प्रतिशत सेयर आफूसँगै राखेर ४९ प्रतिशतसम्म सेयर विदेशी वा स्वदेशी साझेदारलाई दिने उनको चाहना छ।
‘यो हाम्रो बाध्यात्मक र प्रारम्भिक प्रस्ताव हो। तर, हामीले भन्दा राम्रो गरी होटल चलाउने कोही आउनुहुन्छ भन्ने यसमा पनि अझ लचिलो भएर छलफल गर्न तयार छौँ’, उनले थपे।
बैंकको ऋण घटाएर व्यवसाय स्वस्थ बनाउने प्रयासमा उनीहरु छन्।
‘हामीले सबै पक्षको विन–विन अवस्था बनोस् भन्ने चाहेको हो। संरचना जोगाएर व्यवसाय स्वस्थ बनाउन खोजेका हौँ’, हमालले भने, ‘अहिले होटलको विस्तार रोकिएको छ तर सम्भावना त रोकिएको छैन नि!’
पोखराको पर्यटन भविष्यप्रति उनी आशावादी सुनिन्छन्।
‘काठमाडौंबाट अहिले पाँच घण्टामा पुगिन्छ। नागढुङ्गा टनेल सञ्चालनमा आएपछि अझ छिटो हुनेछ। डे ट्रिपका लागि पोखरा झन नजिक हुँदै छ। नेपाल रहुन्जेल पोखरामा होटल चल्छ’, उनले भने, ‘यो सम्भावना देखेका कारण हामी ग्रो हुन चाहन्छौँ। तर, सबै कमाइ बैंकलाई बुझाउन परेपछि कसरी विस्तार हुन सक्छौं र?’
हुन त राम्रो व्यवस्थापक वा लगानीकर्ता खोजेर होटललाई लिजमा दिए पनि हुन्थ्यो तर, उनीहरु यो पक्षमा छैनन्। दामनमा सञ्चालनमा रहेको एभरेष्ट पानोरोमा रिसोर्ट लिज प्रकरणबाटै चेतेका छन् उनीहरुले।
‘लिजमा दिँदा उनीहरुलाई सम्पत्तिको माया नहुने रहेछ। त्यसबाट हुने आम्दानी मात्रै हेरिँदो रहेछ। पूर्वाधार खण्डहर बन्दो रहेछ’, हमालको अनुभव छ।
‘एभरेष्ट पानोरोमा रिसोर्ट लिजमा दिइएको थियो। कोभिड महामारीपछि लिजमा लिनेहरुले छाडे। त्यहाँको संरचना हेर्दा खण्डहर बनेको पाइयो’, उनले भने।
हमाल परिवारले ३१ करोड लगानीमा रेनोभेट गरेपछि मात्रै रिसोर्ट पुनः सञ्चालनमा आएको छ। पानोरोमा रिसोर्टबाट पाठ सिकेका उनले हेरिटेजका लागि भरपर्दो साझेदार चाहेका छन्। जसले धराशायी बन्न लागेको यो धरोहर धान्न सकोस्, पोखरामा सजिएको यो कलात्मक गहनाको गहिराइ बुझोस् र व्यावसायिक उचाइ लेओस्!
उनी भन्छन्, ‘यो हाम्रो बाध्यात्मक र प्रारम्भिक प्रस्ताव हो। तर, हामीभन्दा राम्रो गरी होटल चलाउने कोही आउनुहुन्छ भन्ने यसमा पनि अझ लचिलो भएर छलफल गर्न तयार छौँ।’
Shares

प्रतिक्रिया