कारोबार


नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ एमएसआईई कार्यक्रम उद्घाटन

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ एमएसआईई कार्यक्रम उद्घाटन

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १३:३३, काठमाडौँ

नेपाल कम्युनिभर्सिटीले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता (एमएसआईई) विषयको स्नातकोत्तर शैक्षिक कार्यक्रमको आजदेखि औपचारिक शुभारम्भ गरेको छ। 

उक्त कार्यक्रममा शिक्षक, उद्यमी, सञ्चारकर्मी, विद्यार्थी तथा कर्पोरेट क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो। यस पहलले नेपालको उच्च शिक्षाको क्षेत्रमा सम्भावनाको सशक्त भावना जागृत गर्ने राष्ट्रिय स्तरको प्रयासको रूपमा महत्वपूर्ण संकेत दिएको छ।

सन् २०२६ अक्टोबरदेखि विभिन्न शैक्षिक पृष्ठभूमिका ३० जना विद्यार्थीहरूको सहभागितासहित सञ्चालन हुने एमएसआईई कार्यक्रम परम्परागत कक्षाकोठाको सीमाभन्दा बाहिर केन्द्रित हुनेछ। “समुदाय नै पाठ्यक्रम” र “अनुभवजन्य सिकाइ”को अवधारणामा आधारित यस कार्यक्रममा विद्यार्थीहरूले नेपालको तीन फरक भौगोलिक क्षेत्रमा प्रत्यक्ष अनुभवमार्फत अध्ययन गर्ने अवसर पाउनेछन्।

पाठ्यक्रमलाई हिमाल, पहाड र तराई गरी तीन त्रैमासिक चरणमा विभाजन गरिएको छ, जसअन्तर्गत क्रमशः मुस्ताङ, चित्लाङ र जनकपुरमा अध्यापन सञ्चालन हुनेछ। अन्तिम चरणमा काठमाडौंमा क्यापस्टोन सेमेस्टर सम्पन्न गरिनेछ। प्रत्येक समुदायमा, विद्यार्थीहरूले समुदायका सदस्यहरूसँग मिलेर समुदाय-आधारित परियोजनाहरूमा काम गर्छन्।यस कार्यक्रममा उद्यमशीलता, सामाजिक विज्ञान र प्रविधिलाई समग्र सामाजिक कल्याणसँग जोड्दै अन्तरविषयगत दृष्टिकोणसमेत समावेश गरिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम अर्यालले भने, “हाम्रो दृष्टि स्थानीय रूपमा जरा गाडेको तर विश्वस्तरमा सक्षम शिक्षा निर्माण गर्नु हो। हामी त्यस्ता व्यक्तिहरूको विकास गर्दैछौं जसले आफूलाई चिनेको, समाजलाई बुझेको, सीप सिकेको र उद्यमशील सोच बोकेको हुनेछन्।”

काठमान्डौँ विश्वविद्यालयका कला संकायका डिन प्रा. डा. उद्धव प्याकुरेलले यस कार्यक्रममार्फत विद्यार्थीहरूले नेपालभित्र विद्यमान  सम्भावनाहरू पहिचान गर्ने, वास्तविक समस्याहरूको समाधान खोज्ने तथा समुदायमा आधारित अर्थपूर्ण समाधान विकास गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख वक्ता ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज’ का संस्थापक निर्देशक डा. उत्तम बाबु श्रेष्ठले कोर्सको विशेष ध्यान “समुदाय, प्रकृति र गाउँहरू” मा केन्द्रित रहेको उल्लेख गर्दै प्रविधि, एल्गोरिदम र शहरतर्फ तीव्र रूपमा अघि बढिरहेको समाजको सन्दर्भमा यसको महत्वलाई जोड दिए।

श्रेष्ठले नयाँ विद्यार्थीहरूलाई शक्तिशाली सन्देश दिँदै भने, “नयाँ भविष्यको कुरा गर्दा इतिहासप्रति पनि जिम्मेवार हुनुहोला। जब तपाईं उद्यमशीलताको बाटोमा अघि बढ्नुहुन्छ, त्यसले मानव नैतिकताको सीमालाई कुल्चिनु हुँदैन।”

कार्यक्रमको उद्घाटन हिमाल (छ्योमे), पहाड (पनास) र तराई (दियो) का प्रतीकात्मक दीप प्रज्वलनमार्फत गरिएको थियो। समुदाय, उद्योग, शैक्षिक क्षेत्र र विद्यार्थीबीचको एकताको प्रतिनिधित्व गर्न प्रा. डा. मन प्रसाद वाग्ले, सुभाष शर्मा, याङ्छेन गुरुङ र सह-प्राध्यापक अशोक साहलाई संयुक्त रूपमा दीप प्रज्वलनका लागि आमन्त्रित गरिएको थियो। जसले नेपालको शैक्षिक परिदृश्यलाई पुनःपरिकल्पना गर्ने सामूहिक प्रतिबद्धताको संकेत दिएको छ।

सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता (एमएसआईई) कार्यक्रमका लागि आवेदन प्रक्रिया अब औपचारिक रूपमा खुला गरिएको छ। मानविकी, विज्ञान, व्यवसाय वा प्रविधि जुनसुकै शैक्षिक पृष्ठभूमिका विद्यार्थीहरूलाई  नेपाल कम्युनिभर्सिटीले रूपान्तरणकारी सिकाइ यात्राको हिस्सा बन्न आमन्त्रण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad