ad ad

कारोबार


महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्

महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्

सुशीला रेग्मी
पुस २९, २०७९ शुक्रबार १३:४८, रामपुर (पाल्पा)

सार्वजनिक सवारीसाधनमा पुरुष चालकले नै गाडी गुडाउँछन्। महिला चालक पाउन मुस्किल छ। हुन त काठमाडौँ, पोखराजस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन्। मोफसलमा सार्वजनिक सवारीसाधनमा महिला चालक खासै देखिँदैनन्। 

सार्वजनिक सवारीसाधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकी छन् - पाल्पाको रामपुरकी २७ वर्षीय मैना श्रेष्ठ। उनले रामपुर नगरपालिका क्षेत्रमा भ्यान चालकको काम गरिरहेकी छन्। पुरुष चालक सरह नै हिम्मत र आँट गरेर समुदायमा उदाहरणीय महिला चालकका रुपमा कहलिएकी छन्। रामपुर क्षेत्रमा पालोअनुसार तथा रिजर्भमा गाडी चलाउँछिन्। 

‘महिला भए पनि अवसर पायो भने पुरुष सरह नै काम गर्न सकिन्छ”, उनले भने, ‘गाडी चालक भएर यात्रु ओसार्न पाउँदा आनन्द लागिरहेको छ, मनमा इच्छा शक्ति भयो भने महिला भनेर पछाडि हट्नु पर्दैन।’

नमस्ते रामपुर यातायात प्रालिमा भ्यान दर्ता गरेर आफ्नो पालोमा उनी यात्रु ओसार्ने गर्छन्। दुई महिनाअघि रु १२ लाखमा यात्रुवाहक भ्यान किनेर व्यावसायिक रुपमा यात्रु ओसारपसारमा अहिले उनको दैनिक बित्ने गरेको छ। 

रामपुरका बेझाड बजार, विजयपुर, किसानवारी, प्याक्लुक, आँपचौर, रामटार, गण्डकीढिक, भलायटार, स्याउली बजार क्षेत्रमा उनी यात्रु लाने-ल्याउने गर्छिन्। उनी बिहान ६ देखि साँझ ७ बजेसम्म चालकका रुपमा निस्किन्छिन्। एकै पटकमा सवारी चालकको अनुमति पत्र प्राप्त गरेपछि व्यावसायिक रुपमा गाडी चलाउन उनको हिम्मत बढ्यो। 

‘लाइसेन्स निस्केपछि गाडी चलाउँछु भन्ने योजना बनाए, परिवारको साथ सहयोग हौसला पाएपछि व्यावसायिक रुपमा यसमा लागेको छु”, उनले भनिन्। मासिक रुपमा उनले सरदरमा रु १५ हजार बराबरको कमाइ गर्छिन्। छ वर्षको छोरालाई बिहानै घरमा छाडेर उनी नियमित ड्युटीमा निस्किन्छिन्। बेझाड चोकमा भ्यान लिएर यात्रुको प्रतीक्षामा उनी भेटिन्छिन्। 

उनी भन्छिन्, ‘सानो बच्चा छ, घरमा सासूससुराको साथमा छाडेर बिहानै गाडी लिएर नम्बर लगाउन जान्छु, बाँच्नका लागि केही न केही गर्नुपर्‍यो, आफ्नै घरबाट निस्केर काम गर्न पाइएको छ, दुःखसुख नगरीकन जीवन चल्दैन।”

महिला चालक भनेपछि महिला यात्रुले नै उपेक्षा गर्ने गरेको गुनासाे उनले गरिन्। गाडीमा चढ्ने क्रममा महिला चालक रहेछ भनेर कतिपय यात्रु चढेपछि ओर्लने, कतिपय नचढीकन अर्को गाडी चढ्ने गरेको श्रेष्ठले अनुभव सुनाइन्। रामपुर नगरपालिकाको सहयोगमा एक महिना सवारी चालकको तालिम लिएकी श्रेष्ठले सीप विकासका लागि स्थानीय ड्राइभिङ सेन्टरमा तीन महिनाको तालिम लिइन्। 

महिला भनेर उपेक्षा गर्ने समाजमा ठूला सार्वजनिक सवारी चालकका रुपमा काम गर्ने उनको इच्छा छ। एउटा निश्चित रुट भइदिएमा सवारीसाधन चलाउन सहज हुने उनी बताउँछिन्। घरपरिवार र आफ्नो गाउँ छिमेकका साथीले यस व्यवसायमा राम्रो हौसला दिएको श्रेष्ठले बताइन्। सुरुको समय भएकाले केही पुरुष चालकले राम्रो व्यवहार गर्ने गरे पनि केहीले भने महिला चालक भनेर नियम मिच्न खोज्ने गरेको उनले बताइन्। 

समाजमा महिलाले नगरेको पुरुषले मात्र गर्ने नयाँ काम गर्ने अठोटका साथ सवारी चालकको काम थालनी गरेको उनको भनाइ छ। श्रीमान् वैदेशिक रोजगारीमा र घरमा सानो बच्चा हुँदा केही कठिनाइ भने झेल्नुपरेको उनले सुनाइन्। सिलाइकटाइको काममा समेत राम्रो अनुभव बटुलेकी श्रेष्ठले यस क्षेत्रमा लागेपछि समाजमा सबैका सामु चिनिने अवसर पाएको बताइन्। दैनिक व्यवसायमा खटिनुपर्ने भए पनि यात्रुको सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको उनले बताइन्। 

महिला भएर पनि समाजका लागि पुरुषसरह नै हिम्मत गरेर समुदायमा उदाहरणीय महिलाका रुपमा पहिचान बनाएको देख्दा खुसी लागेको स्थानीय सरिता रेग्मीले बताइन्। उनले जस्तै हिम्मत गरेर काम गरियो भने महिला भन्दैमा सधैँ पछाडि पर्नु नपर्ने उनको भनाइ छ। रामपुर क्षेत्रमा हाल २८ भ्यान सञ्चालनमा छन्। नगरपालिकाभित्र पालैपालो विभिन्न स्थानमा भ्यान चालकले नम्बरअनुसार यात्रु ओसारपसार गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .