ad ad

कारोबार


वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

नेपालखबर
चैत ८, २०७९ बुधबार १९:२२, काठमाडौँ

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिलाई लक्ष्य गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ। 

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारीमा रहेका श्रमिकलाई आजदेखि सामाजिक सुरक्षाको दायरमा ल्याउने प्रक्रिया आरम्भ भएपछि सङ्घले लामो समयदेखि उठाइरहेको महत्त्वपूर्ण मुद्दा सम्बोधन भएको जनाएको हो। 

सङ्घले महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउँदै यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ। पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकृत गराउन सुरु गरेपछि बहुसङ्ख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको सङ्घको भनाइ छ। 

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले भनिन्, ‘सङ्घको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलका रुपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको हो। वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनी तथा परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेका छौँ।’

सङ्घका अर्का अध्यक्ष कूल आचार्यले लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र सरोकारवालालाई आभार व्यक्त गरे। 

सङ्घले आफ्नो सुरुको अभियानदेखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सरकारलगायत सरोकारवालासँग वकालत, पैरवीदेखि समन्वय र सहकार्यसम्म गरिरहेको थियो। सङ्घले सरकारसँग सहकार्य गर्दै आगामी अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा सामाजिक सुरक्षा कोषमा आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .