कारोबार


धौलागिरि आइसफल पदमार्गका ताल-तलैया ओझेलमा

धौलागिरि आइसफल पदमार्गका ताल-तलैया ओझेलमा

नेपालखबर
साउन २४, २०८१ बिहिबार १३:४२, म्याग्दी

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन्। 

विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन्।

पदमार्गका प्रमुख आकर्षणको रुपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए।

‘हिमालको फेदीदेखि पहाडका टाकुराहरुमा मनमोहक ताल छन्, तर आधार शिविर हुँदै यी तालमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन’, पुनले भने। धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल छ।

धौलागिरिको फेदीमा रहेको यो तालले पर्यटक लोभ्याउने गरेको छ। यस तालको पानीको रङ्ग निलो छ। जमिनमाथि रहेको यो तालमा पानीको स्रोत नदेखिए पनि ताल कहिल्यै नसुक्ने विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिए।

धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ। वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ। अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ।

आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ। कालीबराहमा जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ।

यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यहाँ ताल परिसरमा बराह थानसमेत छ । कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ।

हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ। यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह तालसँगै लाटीबराह, सेतीबराह र मनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए।

यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरुको नामाकरण गरिएको छ । स्थानीयले ताल तलैयामा भारा पूजा गर्ने चलन छ। धौलागिरि आइसफल पदमार्गअन्तर्गत अहिले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरि हिल भ्यू प्वाइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ।

यसबीचमा रहेको कोखेभिर र धौलागिरि भ्यू प्वाइन्टबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ। आधार शिविरबाट पहेँलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले बताए।

भिरमा पदमार्ग नहुँदा रघुगङ्गा नदीलाई दुई ठाउँ वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ। यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू प्वाइन्ट हिललगायतका ठाउँमा झोलुङ्गे पुलको अभाव छ। रघुगङ्गा गाउँपालिकाले एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ।

डीपीआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

 ‘आइसफल पदमार्गमा गत वर्षसम्म सङ्घीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसलाई पूर्णता दिन हामीले गुरुयोजना बनाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा पहल थालेका छौँ’, अध्यक्ष भण्डारीले भने।

धौलागिरि हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको दृष्यसँगै ग्लेसियर, रघुगङ्गा नदीको मुहान, सुन छहरा, गुफा, ओढार र अग्ला डाँडाकाँडाको मनोरम दृष्यले यस पदमार्गमा आउने पर्यटकलाई लोभ्याउने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad