कारोबार


भदौदेखि कात्तिकसम्म असला माछा मार्न प्रतिबन्ध

भदौदेखि कात्तिकसम्म असला माछा मार्न प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८१ आइतबार ५:३९, बागलुङ

बागलुङको गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ। 

यसका लागि नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको छ। गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ।

नगरपालिकाले कानुन बनाएर गत वर्षदेखि असला माछा संरक्षण सुरु गरेको थियो । जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० बनाइ दुवै खोलामा माछा मार्न रोक लगाएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए। 

‘गत वर्ष पनि अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछाको पर्याप्त पाउन थालेको पाइएको थियो । यस वर्ष पनि तीन महिनाका लागि माछा मार्न रोक लगाइएको हो’ , उनले भने। रोक लगाएको अवधिमा माछा मारेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ। 

नगर प्रमुख भरत शर्मा गैरेले असला माछालाई यहाँको  ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको बताए। उनले माछा मार्न पनि निश्चित व्यक्तिलाई मात्रै अनुमति दिने तयारी भइरहेको जानकारी दिए। अनुमतिप्राप्त व्यक्तिले मात्र माछा मार्दा रोजगारी सृजना हुने र नगरपालिकालाई राजस्व प्राप्त हुने उनको भनाई छ। 

यहाँ आउने अधिकांक पर्यटकले असला माछा खोज्ने गरेको होटल व्यवसायी कौशिला घर्तीले बताए। यहाँ आउनेहरू अधिकांशका पहिलो रोजाइको परिकार नै असला माछाको हुने गरेको छ। 

‘यहाँका असला माछा कोसेलीका रुपमा विदेशसम्म लैजाने गरिएको छ”, घर्तीले भने, “माछा प्रतिकेजी रु एक हजार छ सयसम्म बिक्री हुन्छ।’   रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad