कारोबार


किबीले बजार नपाउँदा किसान चिन्तामा

किबीले बजार नपाउँदा किसान चिन्तामा

नेपालखबर
पुस ४, २०८१ बिहिबार १४:९, म्याग्दी

म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किवी फलेको देखेर जति खुशी छन् त्योभन्दा बढी दुःखी किवीले बजार नपाएर छन्। 

‘७० बोटमा करिब तीन हजार किलो किवी फलेको छ’, उनले भने, ‘मङ्सिर महिनाभर करिब ५०० किलोग्राम मात्र बिक्री भयो। पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुन्छ। बजार नपाएर तनावमा परेको छु’, गत वर्षको तुलनामा दोब्बर बढी किवी फले पनि बिक्री गर्न समस्या भएको मगरले बताए। 

बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किवीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो। धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किवी बगैचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ। 

सानो बजार र उत्पादन धेरै भएपछि किवी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले बताउनुभयो।

‘यहाँका उपभोक्ताहरुको किवीमा अझै बानी परिसकेको छैन’, उनले भने, ‘पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किवीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन।’

करिब दुई हजार किलोग्राम किवी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम १८० का दरले एक हजार ५०० किलोग्राम बिक्री गरिसकेको बताउनुभयो। भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किवी टिपेका छैनन्। मङ्सिर र पुुस महिना किवी टिप्ने याम हो। पुुससम्म नटिपे किवी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने चिन्ता कृषकको छ।  

कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किवीखेती गरेका थिए। कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किवीखेतीबाट गत आर्थिक वर्ष २०८०÷०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो। 

केन्द्रका प्र्रमुख सञ्जिव बास्तोलाले यो वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किवी उत्पादन बढेको बताए। धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए।

‘८० सी ग्रामसम्म तौल भएको किवीलाई गुुणस्तरीय मानिन्छ। उपभोक्ताले किवीको ठूूला दाना खोज्छन्’, उनले भने, ‘बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो।’

किवीको दानाको आकार ठूूलो बनाउन बटिलामै पतलाउने, बगैँचा व्यवस्थापन, मल र पानी पर्याप्त दिन कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले सुुझाव दिए। उद्योग वाणिज्य संघ र फलफूल व्यापारीसँग समन्वय गरेर किवीको बजारीकरणमा पहल गरेको उनले बताए। 

३२ वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किवी भित्र्याएका थिए। व्यावसायिक खेती भएको पछिल्लो एक दशकयता हो। म्याग्दीको मध्य पहाडी क्षेत्रको भूगोल र हावापानी किवीका लागि अनुकुल मानिन्छ। 

स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किवीको विशेषता हो। लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवीखेती गर्न सकिन्छ। 

भिटामिन सि लगायत पौष्टिक तत्त्व पाइने किवी चिनीरोगका बिरामीहरुका लागि लाभदायक मानिन्छ। पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ। अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिनिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad