कारोबार


अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा

अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा

नेपालखबर
माघ १४, २०८१ सोमबार १०:१, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु. एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ।

अन्नपूर्ण गाउँपालिकाको रु. एक करोड, नेपाल पर्यटन बोर्डको रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख बजेटबाट आश्रय स्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्च कुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए।

‘एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो’, उनले भने, ‘अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ।’

योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए। सन्धीखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा रु. ४० लाखको लागतमा तीन वटा आश्रय स्थल निर्माण गर्न लागिएको छ। 

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्च कुण्डमा खानेपानी र शौचालय निर्माणका लागि रु. ३० लाख विनियोजन भएको छ। फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि रु. १०/१० लाख विनियोजन भएको छ। खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई संकलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले बताए।

पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको रु. २० लाख, गाउँपालिकाको रु. १० लाख र एक्यापको रु. पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सवइञ्जिनियर पौडेल र समुन्नत यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माण स्थलको निरीक्षण गरेर फर्किएको थियो।

मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजार. जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुंगे पुल, सञ्चार, विद्युत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उनले बताए।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ। अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्च कुण्ड ताल आधार शिविरको आकर्षण हो।

तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किमी पदमार्ग तयार भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad