कारोबार


काँक्राको बिउ बेचेर फलेवासका किसानले गरे ६ करोड आम्दानी

काँक्राको बिउ बेचेर फलेवासका किसानले गरे ६ करोड आम्दानी

नेपालखबर
माघ २२, २०८१ मंगलबार ७:४०, पर्वत

पर्वतकाे फलेवास नगरपालिका-११ पाङ्राङका कृषकले काँक्रोको बिउ बिक्री गरेर ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। २५ वर्षदेखि काँक्राको बिउ उत्पादन गर्दै आएका यहाँका कृषकले योपटक ६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन्। 

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा २०५७ मा नारायणस्थान बिउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बिउ उत्पादनमा लागेका कृषकले यो वर्ष ६३ क्विन्टल काँक्रोको बिउ उत्पादन गरेका छन्।  

प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याएको कृषक बाबुराम भुसालले जानकारी दिए। उनका अनुसार गत वर्ष ७० क्विन्टल बिउ उत्पादन भएकामा यो वर्ष ६३ क्विन्टल मात्र भएको हो। गत वर्ष सात करोड आम्दानी भएको थियो। उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्रोको बिउ उत्पादन गर्दै आएका छन्। 

समूह गठन भएको शुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बिउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए। सुरुआतमा ८०० का दरले बिक्री गरेका कृषकले अहिले १० हजार रुपैयाँमा बिक्री गर्दै आएका उनले बताए।

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बिउ उत्पादन हुँदै आएको थियो। मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि काँक्रोको बिउ मात्र उत्पादन गर्न थालेको भुसालले बताए। उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन्। 

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम च लाखदेखि १८ लाख रुपैयाँसम्म बिउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिए। यो वर्ष आफूले एक क्विन्टल काँक्राको बिउ बिक्री गरी १२ लाख आम्दानी गरेको उनको दाबी छ।

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बिउ असारसम्ममा बिक्री गर्दैै आएका छन्। यहाँ उत्पादित अधिकांश बिउ काठमाडौंको कालीमाटी बजारका व्यापारीले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका-७ धाइरिङमा व्यावसायिकरूपमा काँक्राको बिउ उत्पादन हुँदै आएको जानकारी दिए। उनले उत्पादित बिउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad