कारोबार


अब म्याग्दीको पदयात्रामा जाँदा बन्दोबस्तीका सामान बोक्नु नपर्ने

अब म्याग्दीको पदयात्रामा जाँदा बन्दोबस्तीका सामान बोक्नु नपर्ने

नेपालखबर
चैत १४, २०८१ बिहिबार १२:२६, म्याग्दी

म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ।

अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना पालसहित आश्रयस्थल निर्माण गरी खाना र खाजा खुवाउने र बस्ने व्यवस्था गरेपछि पर्यटकलाई सहज भएको हो।

होटल तथा लजको सुविधा नभएकाले यसअघि मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो।

अन्नपूर्ण–४ का वडासदस्य श्याम पुर्जाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा यो यामदेखि खान, बस्नका लागि पर्यटकले सामानको भारी बोकेर जानुपर्ने समस्याको अन्त्य गरिएको जानकारी दिए।

 ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीतिगत व्यवस्था अनुसार आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरूले चिया पसल, रेष्टुरेन्ट र बस्न शिविर (क्याम्प) सञ्चालन गरेका छन्’, उनले भने,  ‘योसँगै पर्यटकलाई खान, बस्न सहज भएको छ। बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना भएको छ।’

फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा शिविर सञ्चालन गरिएको वडासदस्य पुर्जाले जानकारी दिए। उनका अनुसार ती शिविरहरूमा दैनिक ५० जनासम्म पर्यटकले बास बस्नसक्ने छन्।

एक्यापमा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटक याममा सञ्चालन गर्न मिल्ने गरी शिविर क्षेत्र बनाइएको बताउँदै पुर्जाले लागत अनुमान हिसाब गरेर सो क्षेत्रको सेवाशुल्क तोक्ने तयारी भइरहेको जानकारी दिए।

मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, आकर्षित भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटरको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ। नारच्याङबाट दुई घण्टा सावरीसाधनमा यात्रा गरेपछि पुगिने हुमखोलाबाट पनि दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्कन सकिन्छ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा पर्ने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन्। 

करिब ७० वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको उक्त पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामारण गरी पदमार्ग सञ्चालन गरेको थियो।

शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरका आकर्षण हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad