कारोबार


बुढापाकाले मात्र धानेका घुम्तीगोठ

बुढापाकाले मात्र धानेका घुम्तीगोठ

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १३:१२, म्याग्दी

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्। 

परिवारको गुजारा खेती–किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोठमा गाईभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्‍यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्,’ पुनले भने । भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन्।

लेकाली क्षेत्रमा पालन गरिने भैँसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैँसी र खसीबोकाको माग धेरै छ । यहाँका किसानले कोदो, मकै, जौँ, गहुँलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ । पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजंगल, लेकबेँसीका उकाली ओरालीको दुःख र वर्षा, हिमपात, हुरी बताससँगको चुनौती सामना गर्नुपर्ने बाध्यता छ।

मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ । आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिएका उनले आफ्ना ६ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताए । ‘म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु,’ उनले भने। 

पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको संख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसान जस्तै हुने गरेको उनले अनुभूति सुनाए । पशुचौपायाको संख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन् । मुनामा अहिले पनि करिब सय घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ।

दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए । परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पलायन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बुढापाकाले मात्र धानेका छन्। 

हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन्। वृद्धवृद्धा अवस्थाका पाका पुस्ता मात्र घुम्ती गोठमा भेटिन्छन्। खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताए । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ।

‘पुर्खाले गरेको पेसालाई च्वाट्ट छाड्न पनि सकिएन, बिचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुर्ख्याैली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु,’ रोकाले भने । पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ । स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन् । हिउँद याममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ। 

जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ । हिउँदेबाली जाै‌, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरुदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ । यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्‍याउने गर्छन्।

यस क्षेत्रमा पशुपालन गर्नेको संख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका– ३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताए। 

‘युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौँ, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो,’ वडाध्यक्ष रोकाले भने। 

चालू आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग संकलन गरिरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ। यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad