कारोबार


मनास्लु आरोहण गर्न २२४ जनाले लिए अनुमति

मनास्लु आरोहण गर्न २२४ जनाले लिए अनुमति

नेपालखबर
भदौ २१, २०८२ शनिबार ९:१४, गोरखा

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन्। यो तथ्याङ्क शुक्रवारसम्मको हो।

विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। उनीहरूबाट नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व सङ्कलन भएको छ।

यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन्। शुक्रवारसम्म सगरमाथा आरोहणका लागि जम्मा एक जनाले मात्र अनुमति लिएका छन्। ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन्।

अरु आरोहीहरूले आठ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन्। 

तथ्याङ्कअनुसार सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन्। छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन्।

गत वर्षको यही सिजनमा चार सय एक जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए। अहिले मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका–१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए।

साथै आरोहीहरू सामागाउँमा आइपुग्न थालेका छन्। यहाँ लमजुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको सङ्ख्या धेरै हुने गर्छ। कोही हेलिकप्टरबाट पनि आउने गर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad