कारोबार


मुस्ताङी च्याङ्ग्राको आयात घट्यो

मुस्ताङी च्याङ्ग्राको आयात घट्यो

नेपालखबर
असोज ९, २०८२ बिहिबार १०:३९, बागलुङ

यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादशैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन्। मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन्।

जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन्। हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादशैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन्।

दशैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा ल्याउने गरिएको बलबहादुर थापाले बताए। बर्सेनि बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा भित्र्याउँदै आएका उपल्लाचौरका थापाले यस पटक २९ वटा मात्रै च्याङ्ग्रा भित्र्याएको जानकारी दिए।

उनले प्रतिच्याङ्ग्रा ३५ हजारदेखि ३७ हजारसम्ममा बिक्री हुने गरेको बताए। च्याङ्ग्राको मासु प्रतिकेजी दुई हजारसम्ममा बिक्री गर्दै आएको भन्दै थापाले मूल्यवृद्धि भएकाले पछिल्लो समय च्याङ्ग्राको मासु कम खपत हुन थालेको अनुभव सुनाए। गत वर्ष जिल्लामा तीनसय भन्दा बढी च्याङ्ग्रा भित्रिने गरेकामा यस वर्ष मूल्य वृद्धि भएसँगै उक्त सङ्ख्यामा कमी आएको हो।

‘स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दशैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन। आर्थिक अवस्था कमजोर हुनेले खानै सक्दैनन्’, थापाले भने, ‘मुस्ताङबाट चार दिनमा च्याङ्ग्रा ल्याएको हो, रोज्जा च्याङ्ग्राको मूल्य ३७ हजार पर्दछ।’ उनले पहिला जस्तो च्याङ्ग्रा व्यापारमा नाफा नभएको बताए।

थापासँगै बागलुङका ज्ञानेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर केसीले यस पटक ३०/३० गरी ६० वटा च्याङ्ग्रा भित्र्याएका छन्। बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आएका केसीले लामो समयदेखि दशैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने कामलाई निरन्तरता दिएका छन्।

च्याङ्ग्राको आयात थोरै हुँदा मूल्य बढेको उनको भनाइ छ। मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन्।

गोठबाट उतैका व्यापारीले च्याङ्ग्रा मुस्ताङको सदरमुकाम जोमसोम ल्याउने र आफूले त्यहाँबाट खरिद गरेको केसीले बताए।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ। चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा बागलुङ झार्ने गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad