कारोबार


इरान युद्धले अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च

इरान युद्धले अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च

नेपालखबर
चैत १७, २०८२ मंगलबार २१:२६, न्युयोर्क

इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै उच्च हो। 

‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो। यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो।

विभिन्न राज्यमा मूल्य फरक-फरक छन्, जसका कारण आपूर्ति, कर दर र स्थानीय अवस्था छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेयता कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्य बढेको हो। 

अर्थतन्त्रमा असर पर्ने सम्भावना

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ।

ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना छ।

हालै गरिएको एक सर्वेक्षणअनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्ने विषयमा गम्भीर चिन्तामा परेका छन् ।

ढुवानी र सेवा क्षेत्रमा असर

इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ। हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ। 

डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारीसाधनलाई थप भार परेको छ।

विश्व आपूर्ति संकट

विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट गहिरिएको छ। इरान, अमेरिका र इजरायलबि जारी युद्धले तेल र ग्यास संरचनामा क्षति भएको छ।

भण्डार प्रयोग गर्ने प्रयास

मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपत्‌कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ। 

अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ।

भविष्यको अवस्था

युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ।

साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad