सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पूर्वतयारी भइरहेको छ। सुरुङमार्गको मुख्य काम सुरु गर्नुअघि अहिले डाइभर्सन निर्माण भइरहेको हो।
रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याममाथि डाइभर्सन बनाइँदै छ। सडकमा उपकरणसहित काम गर्नुपर्ने भएकाले डाइभर्सन बनाउन लागिएको सुरुङमार्ग समेत हेरिरहेका डिभिजन सडक कार्यालय (बुटवल) का प्रमुख होमबहादुर एसीले जानकारी दिए।
‘पहाड कटिङ गर्नुपर्ने बेलामा सडक बढाउन डाइभर्सन बनाएको हो’, उनले भने, ‘डाइभर्सन निर्माणका लागि सो क्षेत्रमा अहिले दैनिक ८ घण्टा यातायात बन्द गरिएको छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म बुटवल–झुम्सा खण्डमा सवारी आवागमन बन्द गरिएको छ।’
यातायात बन्द भएको समयमा सडक माथि पहाडका ढुंगा सफा गर्ने गरिएको छ। बाँकी समयमा डाइभर्सन निर्माणको काम भएको डिभिजन प्रमुख एसीले बताए। ‘खुकुलो ढुंगा भएकाले झर्न सक्ने, गाडीहरुलाई लाग्न सक्ने काम गर्ने मान्छेलाई लाग्न सक्ने भएकाले हटाउन लागेका छौं’, उनले भने, ‘दिउँसोमा ३ घण्टा यातायात रोकेको बेला माथिबाट ढुंगाहरु झार्ने हो। अरु बेला डाइभर्सनको काम भइरहेको छ।’
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक वर्षअघि ठेक्का सम्झौता गरेको हो। निर्माण कम्पनीले पाल्पाको दोभानमा साइट क्याम्प पनि निर्माण गरिसकेको छ। डाइभर्सन र साइट क्याम्पसहित पूर्वतयारीअन्तर्गत गुणस्तर मापनका लागि आवश्यक पर्ने ल्याब इन्स्टल गर्ने, क्रसर प्लान्ट बनाउने काम पनि सुरु भएको छ।
सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङमार्ग बन्ने छ। सुरुङमार्गको विचमा ३ वटा एक्जिट अर्थात् बाहिर निस्कने ठाउँ पनि हुने छ।
७ अर्ब ३४ करोड २१ लाखमा सुरुङमार्ग बन्न लागेको हो। सिद्धबाबा क्षेत्रको सडक वर्षायाममा मात्र नभई हिउँदमा पनि माथि पहाडबाट ढुंगा खस्ने गर्छन्। ठूला ढुंगा खस्दा यात्रुले ज्यान गुमाउनुपरेको छ। थुपै सवारीसाधनमा क्षति पुगेको छ। सडक जोखिमयुक्त भएपछि सुरुङमार्ग बनाउन लागिएको हो।
सुरुङमार्ग निर्माणका लागि डीपीआरको काम सकेर सडक विभागमा पेस भएको छ। स्विस कम्पनीको सहयोगमा डीपीआरको परीक्षण भइरहेको छ। डीपीआर परीक्षण गरी सरकारले स्वीकृत गरेपछि सुरुङमार्गको मुख्य निर्माण सुरु हुने छ।
प्रतिक्रिया