कारोबार


राजस्व उठाउन कमजोर मधेस आन्तरिक स्रोत खर्चमा अगाडि

राजस्व उठाउन कमजोर मधेस आन्तरिक स्रोत खर्चमा अगाडि

सुभाष कर्ण
जेठ २, २०८३ शनिबार २२:५, जनकपुरधाम

राजश्व संकलनमा निकै कमजोर देखिएका मधेश प्रदेश सरकार आन्तरिक श्रोत रकम खर्चमा सबैभन्दा अगाडि देखिएको छ। 

महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा उल्लेख गरेको वित्तीय अवस्थामा मधेस प्रदेश राजस्व संकलनमा सबैभन्दा कमजोर र आफ्नो आन्तरिक स्रोतबाट खर्च गर्ने मामिलामा भने अग्रस्थानमा रहेको देखिन्छ। प्रतिवेदनमा उल्लेख प्रदेशगत राजस्व संकलनको विवरण अनुसार मधेस  प्रदेशले लक्ष्यको केवल ६७.३९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। जुन सातै प्रदेशमध्ये सबैभन्दा कम हो। 

प्रदेशले कर, गैरकर, बाँडफाँट तथा रोयल्टीमार्फत ठूलो रकम उठाउने लक्ष्य राखेकोमा मधेस प्रदेश सबैभन्दा कम राजश्व संकलन गरेको हो। तर आन्तरिक खर्चतर्फ दोस्रो स्थानमा छ। मधेस प्रदेशले आफ्नै आन्तरिक स्रोतबाट हुने खर्चको ७०.७५ प्रतिशत रकम खर्च गरिसकेको छ।

राजस्व संकलनतर्फ कोसी प्रदेश सबैभन्दा अगाडि देखिएको छ। कोसीले लक्ष्यको ९२.२१ प्रतिशत राजस्व उठाएको छ। उद्योग, व्यापार, कृषि प्रशोधन तथा पूर्वी नाकाको आर्थिक गतिविधि सक्रिय हुँदा प्रदेशले अपेक्षाकृत बलियो उपलब्धि हासिल गरेको विश्लेषण गरिएको छ।

तर आफ्नै स्रोत खर्च गर्ने दरमा भने कोसी तेस्रो स्थानमा छ। प्रदेशले आन्तरिक स्रोत खर्चको ५९.८६ प्रतिशत मात्रै खर्च गरेको देखिन्छ। यसले कोसीले आम्दानी संकलनमा राम्रो प्रदर्शन गरे पनि खर्च कार्यान्वयनमा केही संयम अपनाएको संकेत गर्छ।

देशको आर्थिक केन्द्र मानिने बागमती प्रदेशले राजस्व संकलनमा ८२.३९ प्रतिशत उपलब्धि हासिल गरेको छ। काठमाडौँ उपत्यकाकेन्द्रित व्यापार, सेवा र घरजग्गा कारोबारका कारण बागमतीको राजस्व आधार बलियो मानिन्छ।

आन्तरिक खर्चतर्फ बागमतीले आफ्नै स्रोतको ७७.०६ प्रतिशत गरेको छ। यो सातै प्रदेशमा सबैभन्दा बढी हो। यसले बागमतीलाई राजस्व र खर्च दुवै हिसाबले तुलनात्मक रूपमा सन्तुलित प्रदेशको रूपमा देखाइएको छ।

गण्डकी प्रदेशले राजस्व संकलनमा ८१.५२ प्रतिशत उपलब्धि हासिल गर्दा आन्तरिक स्रोत खर्च ५८.५३ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशले राजस्व संकलनमा ७२.२४ प्रतिशत प्रगति गरेको छ भने आन्तरिक स्रोत खर्च ६३.०७ प्रतिशत पुगेको छ। औद्योगिक कर, कृषि र सीमावर्ती व्यापारले लुम्बिनीलाई तुलनात्मक रूपमा स्थिर बनाएको देखिन्छ।

यस्तै कर्णाली प्रदेशले राजस्व संकलनमा ८८.४० प्रतिशत उपलब्धि हासिल गरेको छ भने आन्तरिक स्रोत खर्च तर्फ सबैभन्दा कम ५०.१६ प्रतिशत मात्रै छ। सुदूरपश्चिम प्रदेशले राजस्व संकलनमा ९२.०१ प्रतिशत अर्थात दोस्रो स्थानमा राम्रो प्रगति हासिल गरेको छ भने आन्तरिक स्रोत खर्च ५९.८५ प्रतिशतले गरेको छ। कृषि, जडीबुटी तथा सीमावर्ती व्यापारमा निर्भर अर्थतन्त्र भएका कारण प्रदेशले अपेक्षित गति लिन सफल रहेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad