ad ad

कारोबार


ह्वावेको ‘सिड्स फर द फ्युचर’ : जसले ७ नेपाली विद्यार्थीलाई बैंकक र सिंगापुर पुर्‍यायो

ह्वावेको ‘सिड्स फर द फ्युचर’ : जसले ७ नेपाली विद्यार्थीलाई बैंकक र सिंगापुर पुर्‍यायो

नेपालखबर
असोज २६, २०७९ बुधबार १२:१, काठमाडौँ

प्रज्ञा मल्लिक काठमाडौं विश्वविद्यालयकी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अन्डर ग्रेजुएट विद्यार्थी हुन्। 

युनिर्भसिटीमा भर्ना हुँदा आफ्नो आईडियालाई विदेश प्रस्तुत गर्ने अवसर पाउँछु भन्ने उनलाई विश्वास थिएन। ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमले भने उनको विश्वास तोड्यो। उनीसँगै ७ जना नेपाली विद्यार्थीले बैंकक र सिंगापुरमा आफ्नो आइडिया प्रस्तुत गर्न पाए। 

‘पहिलो त ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा छनोट हुन्छु भन्ने नै विश्वास थिएन’, प्रज्ञा भन्छिन्, ‘छनोटपछि बैंकक जाने निश्चित थियो तर सिंगापुर जान पाइएला भन्ने सोचेकै थिइनँ।’

सातै जना नेपाली विद्यार्थी अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका थिए। ह्वावे नेपालले छनोटका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी, प्रा. सुवर्ण शाक्य, प्रा. तिमिला यमी शाक्य र काठमाडौं विश्वविद्यालयका प्रा.मनिस पोखरेलसहित ४ जनाको छनोट कमिटी बनाएको थियो। त्यही कमिटीले बैंकक लैजान देशभरका २५६ विद्यार्थीबाट ७ जना विद्यार्थी छनोट गरेको थियो। 

प्रज्ञासँगै काठमाडौं विश्वविद्यालयका निर्माण खड्का, मदन भण्डारी मेमोरियल कलेज वंशज पौडेल, ख्वपः इन्जिनियरिङ कलेजका जतिन भुसाल, पुल्चोक क्याम्पसका रीया वैद्य, नदिका पौडेल र अमृत साइन्स क्याम्पस अजु तामाङको टोलीको ‘साझा आइडिया’ छनोटमा विजयी भएको थियो। 

नेपालमा सन् २०२१ मा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु भएको थियो। 

ह्वावे एसिया प्यासिफिक ‘सिड्स फर द फ्युचर’ २०२२ मा पहिलो पटक अगस्ट १९ मा बैंककमा सुरु भएको थियो। ९ दिने डिजिटल बुट क्याम्पमा एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूले थाइल्यान्डमा क्रस–कल्चरल डिजिटल यात्राको आनन्द लिए।

सहभागीहरूले फाइभजी, एआई र क्लाउड कम्प्युटिङ जस्ता नयाँ प्रविधिहरूमा आईसीटी विज्ञहरूबाट तालिम पाए। 

‘बैंककमा हामीले प्रविधिबारे बढी जानकारी पायौँ। आफ्नो आइडियालाई कसरी प्रस्तुत गर्ने पनि सिक्यौँ’, प्रज्ञा मल्लिकले भनिन्। 

ह्वावेले आसियान फाउन्डेसन र थाइल्यान्डको पर्यटन अथोरिटी (टीएटी)सँगको सहकार्यमा ‘सिड्स फर द फ्युचर २०२२’ आयोजना गरेको थियो। यस वर्षको कार्यक्रममा टीएटीले  विद्यार्थीहरुलाई बैंककको सांस्कृतिक भ्रमणमा सहभागीहरूलाई आतिथ्य सत्कार दियो।  

भव्य उद्घाटन समारोह
अगस्ट १९ को उद्घाटन समारोहमा स्थानीय सरकारका पदाधिकारी र विभिन्न अन्तर्राष्ट्रिय संघ÷संस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए। कार्यक्रमका वक्ताहरूले यस क्षेत्रको डिजिटल प्रतिभा इकोसिस्टमको लागि बलियो आधार निर्माण गर्न मल्टी–पार्टी सहकार्यले खेल्ने उल्लेख गरे। 

थाइल्यान्डका उपप्रधानमन्त्री तथा वाणिज्यमन्त्री जुरिन लक्सानाविसिटले अर्थतन्त्रलाई अन्तर्राष्ट्रियस्तरमा लाने लक्ष्यका साथ डिजिटल विकासलाई अगाडि बढाउने उत्कृष्ट कदम रहेको बताएका थिए। 

‘बदलिँदो प्रवृत्तिहरूसँगै अगाडि बढ्न, सार्वजनिक र निजी क्षेत्रहरू आईसीटी कर्मचारी वृद्धि गर्न मिलेर काम गरिरहेका छन्’, जुरिन लक्सानाविसिटले भने, ‘व्यक्तिगत रूपमा, ह्वावे जस्तो नेतृत्वदायी कम्पनीहरूसँगको सह–प्रशिक्षणले शिक्षाको गुणस्तरमा ठूलो वृद्धि ल्याउनेछ।’

आसियानका महासचिव, महामहिम दातो लिम जोक होइले डिजिटल आसियानको निर्माणमा डिजिटल प्रतिभा ‘ड्राइभिङ फोर्स’को रुपमा रहने बताए। 

आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले आसियान डिजिटल अर्थतन्त्रको वृद्धि यस क्षेत्रका युवाहरूको सहभागितामा निर्भर गर्ने बताए। उनले आसियान फाउन्डेसन–ह्वावे साझेदारीको अर्को सफलता रहेको बताउँदै प्रतिभा विकासमा केन्द्रित लर्निङ इकोसिस्टम सिर्जना गर्न मद्दत गर्ने बताए। 

ह्वावे एसिया प्यासिफिकका अध्यक्ष सिमोन लिनले प्रतिभा विकासको लागि ह्वावेको आफ्नै प्रतिबद्धता दोहो¥याए। सिड्सले आशा, जोश र भविष्यलाई प्रतिनिधित्व गर्दछ। 

‘डिजिटलाइजेसन हाम्रो भविष्यको लागि ड्राइभिङ फोर्स हो। प्रतिभा डिजिटल रूपान्तरण र दिगो विकासको लागि मुख्य कुरा हो’, साइमन लिनले भने, ‘हामी दृढ विश्वास गर्छौँ कि युवा पुस्ता आफ्नो प्राविधिक सपनाहरू पछ्याउँदै एसिया प्यासिफिकको निर्माणकर्ताको रूपमा बढ्नेछन्।’

बंगलादेशका शिक्षामन्त्री डा. दिपु मोनीले डिजिटल प्रतिभाले ऐतिहासिक लैङ्गिक अन्तरहरू गाभ्न सकिने बताए। 

‘हाम्रा महिला विद्यार्थीहरूलाई स्टेम आधारित शिक्षामा समावेश गर्नु र उनीहरूलाई अगाडि बढ्ने समान अवसर सिर्जना गर्नु झन् महत्वपूर्ण छ’, उनले भने, ‘सिड्स फर द फ्युचर त्यसमा धेरै इमानदार देखिन्छ। हामी बंगलादेशका पाँच उत्कृष्ट महिला युवा पेशेवरहरू शिविरमा सामेल हुन पाउँदा उत्साहित छौँ। उनीहरूको सफलताले बंगलादेशको डिजिटल अर्थतन्त्रमा योगदान दिन धेरै महिलाहरूलाई सशक्त बनाउँछ भन्ने मलाई विश्वास छ।’

नेपाली विद्यार्थीलाई सिंगापुरमा सहभागी हुने मौका
नेपाली विद्यार्थी एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीबीचको प्रतियोगितामा टप ७ मा परी सिंगापुर पुगेका थिए। १२० विद्यार्थीमध्ये ७ जना नेपालीसहित ३३ जना एक्सेलेरेसन क्याम्पको लागि छनोट भए। अगस्ट २७ मा भएको टेकफरगुड प्रतियोगितामा ‘अद्वैत’ विजयी प्रोजेक्टहरूमध्ये एक थियो।  

उनीहरुको आइडिया ‘अद्वैत’ एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआई प्रयोग गर्दछ। विचार यो हो कि औषधिको प्रत्येक फाइलमा क्यूआर कोड राखिएको छ। यो क्यूआर कोड स्क्यान गरेपछि खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारिक वितरक खुद्रा बिक्रेतामार्फत औषधि आएको हो कि हैन र एमआरपीबारे सूचित गरिन्छ।

विजेता टोलीलाई अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म सिंगापुरमा भएको एक्सेलेरेसन क्याम्पमा सहभागी गराइयो। सिंगापुरमा उच्चस्तरका उद्यमी र लगानीकर्ताहरूलाई भेट्ने अवसर पाए। उनीहरूको आइडियालाई थप विकास गर्ने अवसर पाए। 

अगस्ट २९ मा ह्वावेले सिङ्गापुरमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रमको ११औँ संस्करण आयोजना भयो। पहिलो पटक ह्वावेले सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनमा ‘टेक टु बिल्ड योर करियर’ सेमिनार पनि डेब्यु गरेको छ। जसको उद्देश्य सहभागीहरूलाई प्राविधिक करियरको भविष्यबारे जान्न र उद्यमशीलतालाई बढावा दिन मद्दत गर्नु रहेको ह्वावेले जनाएको छ।  

‘ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमअन्तर्गत टेक टु बिल्ड योर करियर सेमिनारले अन्य आसियन देशहरूका भावी पुस्ताका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्नेछ’, ह्वावे इन्टरनेशनलका प्रबन्धनिर्देशक चाल्र्स छेङले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउनेछ।’

‘टेक टु बिल्ड योर करियर’ सेमिनारमा प्रोफेसर लो होङ यी, पिलरका प्रमुख डेजिग्नेट, एसोसिएट प्रोफेसर र डिजिटल म्यानुफ्याक्चरिङ एण्ड डिजाइन सेन्टर, एसयूटीडीका निर्देशकले मन्तव्य राखेका थिए। 

सेमिनारमा विद्यार्थीहरूले आगामी चुनौतीहरूको लागि कसरी तयारी गर्न सक्छन् र आईडीएसएनबाट रियलाएजेसनमा कसरी ल्याउन सकिन्छ भन्ने छलफल भयो। 

सिंगापुरमा डिजिटल भविष्यमा उद्यमशीलतादेखि डिजिटल युगमा सामुदायिक सिर्जनासम्मका विषयहरू समेटेको थियो । जहाँ ज्याक याङ, मुख्य अपरेटिङ अफिसर र फोमो पेका सह–संस्थापक, एआरसी कम्युनिटीका सह–संस्थापक एलरोय छेओ र द आइडियाको का सह–संस्थापक र सीईओ, टीईडीएक्स सिंगापुरका लागि लिड क्युरेटर र लाइसेन्स होल्डर भिभियन लिमलगायत प्रतिष्ठित स्वदेशी उद्यमीहरूसँग विद्यार्थीले अन्तक्र्रिया गर्न पाए। 

२०२२ मा ह्वावेले सिङ्गापुरमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत कुल २०३ सहभागीहरूलाई तालिम दिइसकेको छ । 

थाइल्यान्डमा १० दिन, सिंगापुरमा ५ दिन
पहिलो दिन विद्यार्थीलाई वेलकम डिनरसहित सहभागी गराइएको थियो। विद्यार्थीले ‘सिड्स फर द फ्युचर’ कार्यक्रमबाट विश्वविद्यालयमा नपढाइएको विषयमा अध्ययन गर्न पाएका थिए।

दोस्रो दिन सांस्कृतिक भ्रमणमा लगिएको थियो। थाइल्यान्ड मेटाभर्स एक्स्पोमा उनीहरु सहभागी भएका थिए। त्यहाँ उनीहरुले भीआर र साइबर टेकको विषयमा अनुभव गरे। तेस्रो दिन १६ देशका विद्यार्थीले आफ्नो देशको खानेकुरा, संस्कार र संस्कृतिको साटासाट गरे। दीगो विकासका लक्ष्य कसरी प्रविधिको माध्यमबाट पूरा गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो। 
 
चौथो दिन ह्वावेको इनोभेसन सेन्टरको अवलोकन भ्रमण गराइयो। जसमा ह्वावे प्रविधि र फाइभजीले मेडिकल, शिक्षा र औद्योगिक क्षेत्रमा कसरी सहयोग गर्छ भन्ने अनुभव लिन पाए। पाँचौँ दिन विद्यार्थीले आर्थिक, सामाजिकरुपमा डिजिटल पावरको विषयमा अध्ययन गर्न पाए।

उक्त दिन विद्यार्थीले ह्वावेको पहिलो ग्लोबल टेकफरगुड विजेतासँग अनुभव साट्न पाए। छैठौँ दिन विद्यार्थीलाई भविष्यको प्रविधि मेटाभर्सबारे विषयमा जानकारी गराइयो। 

सातौँ दिन विद्यार्थीलाई समस्याको समधान कसरी गर्ने, कसरी सोच्ने र टिममा कसरी काम गर्ने विषयमा विद्यार्थीहरुलाई सिकाइयो। आठौँ दिन टेक फर गुडको प्रतिस्पर्धाको लागि तयारीका कक्षा भए। विद्यार्थीलाई कुनै पनि समस्याको समधान थुप्रै तरिकाले समाधान हुन्छ। त्यसैले समस्या के हो भन्ने जान्नुपर्ने विद्यार्थीलाई सिकायो। नवौँ दिन टेकफरगुडको लागि रिहर्सलसँगै पहिलो चरणको प्रतिस्पर्धा भयो। 

१०औँ दिन टेकफरगुडको रिजल्ट सार्वजनिक भयो। सोसँगै थाइल्यान्डको यात्रा सकियो। नेपालसहित ७ टिम सिंगापुर जानको लागि छनोट भए। ११औँ दिन सिंगापुरमा सहभागी भए। विद्यार्थीहरुले विभिन्न क्षेत्रका मेन्टरसँग भेटघाट गरे। विद्यार्थीलाई ह्वावे कम्पनी टुरमा गए।

सिंगापुरको ह्वावे कार्यालयमा इकोसिस्टममा ह्वावेका प्रोडक्टको विषयमा विद्यार्थीलाई जानकारी दिइयो। १२औँ दिन विद्यार्थीले जुरीसँग छलफल गरी आफ्नो आइडियालाई स्पष्ट बनाउन सहयोग पुग्यो। त्यसपछिउ उनीहरुलाई न्यायिङ टेक्नोलोजिकल युनिभर्सिटी भिजिट गराइयो। 

‘थाइल्यान्डमा प्रविधिको माध्यमबाट हाम्रा समस्या कसरी समाधान गर्ने? नयाँ प्रविधिको प्रयोग गरी आइडिया विकास गर्न सिक्यौँ’, सहभागी विद्यार्थी प्रज्ञाले भनिन्, ‘सिंगापुरमा आफ्नो आइडियालाई प्राविधिक रुपमा मात्रै नभई कसरी व्यावसायिक रुपमा सफल गराउने विषयमा सिक्न पायौँ।’

सिड्स फर फ्युचर : नेपाली विद्यार्थीलाई आईसीटी क्षेत्रमा नयाँ गर्न प्रोत्साहन
ह्वावे नेपालले काठमाडौंमा विद्यार्थी छनोट घोषणाको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले ह्वावेलाई नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता गराएकोमा धन्यवाद व्यक्त गरे। 

‘ह्वावेको सिड्स फर फ्युचर कार्यक्रमले विद्यार्थीको क्षमता वृद्धिसँगै आईसीटी क्षेत्रमा केही नयाँ गर्न प्रोत्साहन मिल्छ’, सचिव अर्यालले भने, ‘विद्यार्थीले सिकेको कुरा यहाँ व्यवहारमा उतार्नुपर्छ।’

सूचना प्रविधिको क्षेत्रमा नेपालमा संख्या र गुणस्तर वृद्धि आवश्यक रहेको उनको भनाइ थियो। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ह्वावेको कार्यक्रमले अहिले बीउ रोपेर भविष्यमा फाइदा पुग्ने बताए।  

आईओईका डिन शशीधरराम जोशीले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा दोस्रो पटक सञ्चालन गरेकोमा धन्यवाद दिँदै जोशीले विद्यार्थी क्षमता अभिवृत्ति गर्न सहयोग पुग्ने बताए। 

प्राध्यापक तिमिला यमी थापाले दीर्घकालीन रुपमा नेपाललाई फाइदा पुग्ने बताइन्। यमीले कोभिडको समयमा विश्वमा थुप्रै स्टार्टअप फस्टाए पनि नेपालमा प्रविधिका नयाँ क्षेत्रमा लगानी हुन नसकेको बताइन्। 

‘सिड्स फर फ्युचर’जस्ता कार्यक्रमले नेपालमा आईसीटी क्षेत्रमा योगदान पु¥याउने उनको भनाइ थियो। उनले एकाडेमी र कम्पनीहरुबीच सहकार्यको नमूना भएको बताइन्। नेपाली विद्यार्थीले १७० भन्दा बढी देशका विद्यार्थीसँग सहकार्य गर्न पाउनु एकदमै राम्रो रहेको बताइन्। 

प्राध्यापक सुवर्ण शाक्यले ह्वावेले प्रोडक्ट वा सेवा मात्रै नभई शिक्षाको क्षेत्रलाई पनि सहयोग गरिरहेको बताए। ७ विद्यार्थीले तालिम लिँदा अरु विद्यार्थीलाई गाइड गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ह्वावे नेपालका बोर्ड सदस्य जेसन लीले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तराष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन चाहेको बताए। 

सिड्स फर फ्युचर कार्यक्रम २००८ देखि सञ्चालन भए पनि नेपालमा २०२१ मा पहिलोपटक सञ्चालनमा ल्याएको थियो। विद्यार्थीहरुले एनसेल सेन्टर, डिसहोम कार्यालयमा पुगेर त्यसको सिस्टमबारे बुझ्ने अवसर पाएका थिए।

अघिल्लो वर्ष १३६ जनाले आवेदन दिएकोमा २० विद्यार्थी छनोट भएका थिए। एक जना विद्यार्थी अनुपस्थित भएसँगै १९ विद्यार्थीले आईटीसम्बन्धी नयाँ प्रविधिको विषयमा तालिम प्राप्त गरेका थिए। 

आईसीटी प्रतिभाहरूलाई प्रेरित गर्न र डिजिटल सोलुसनमार्फत सामाजिक चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्न थाइल्याण्डमा २००८ मा सुरु गरिएको थियो। 

प्राविधिक इनोभेसन र क्रस–कल्चरल एक्सचेन्जको माध्यमबाट अर्को पुस्ताको लिडरहरूलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको ह्वावेले उल्लेख गरेको छ। 

१४ वर्षमा १३७ देश र क्षेत्रहरूबाट १२ हजारभन्दा बढी विद्यार्थीहरू कार्यक्रममा भाग लिन आकर्षित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .