कारोबार


मस्कले हाले एप्पल र ओपनएआईविरुद्ध मुद्दा

मस्कले हाले एप्पल र ओपनएआईविरुद्ध मुद्दा

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ११:२५, काठमाडौँ

टेस्ला प्रमुख एवं एक्सका मालिक इलोन मस्कले एप्पल र ओपनएआई विरुद्ध अदालतमा मुद्दा हालेका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्कले सोमबार टेक्ससको अदालतमा एप्पल र ओपनएआई विरुद्ध ६१ पृष्ठको मुद्दा दायर गरेका हुन्।

जसमा उनले एप्पल र ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रतिस्पर्धा अन्त्य गर्न खोजिरहेको आरोप लगाएका छन्।

मुद्दामा दुई ठूला खेलाडी एप्पल र ओपनएआईले आफ्नो पकड बलियो बनाउन एआई प्रविधि नियन्त्रण गर्ने षड्यन्त्र गरेको उल्लेख छ।

मस्कले एप्पलले एआईलाई आफ्नो सबैभन्दा ठूलो राजस्व कमाउने आईफोनका लागि खतरा मानेको र त्यसैले ओपनएआईसँग मिलेर च्याटजीपीटीलाई प्रवर्द्धन गरिरहेको आरोप पनि लगाएका छन्।

मुद्दामा यो पनि भनिएको छ, ‘एप्पलले ओपनएआईको च्याटजीपीटीलाई आफ्नो आईफोनको एप स्टोरको शीर्षमा अनुचित रूपमा राखेको छ र आफ्नो प्रतिस्पर्धी एक्स एआईको ग्रोक च्याटबटलाई दबाउन षड्यन्त्र गरेको छ।’

मुद्दामा मस्कका दुई कम्पनी एक्स र एक्सएआईले यो अनुचित व्यवहारविरुद्ध आर्थिक क्षतिपूर्ति र अदालती कारबाहीको माग गरेका छन्।

मुद्दामा ओपनएआईले सार्वजनिक हितकारी संस्थाको भूमिका त्याग्दै नाफालाई प्राथमिकता दिएको आरोप पनि लगाइएको छ।

तर ओपनएआईले पनि मस्कविरुद्ध मुद्दा हालेको छ। उसले मस्कले उत्पीडन गरिरहेको आरोप लगाएको छ।

एप्पलले भने अहिलेसम्म यस विषयमा प्रतिक्रिया दिएको छैन।

यसो भन्छन् विश्लेषक
विश्लेषकहरूका अनुसार ओपनएआईले पूर्वएप्पल डिजाइनर जोनी इभसँग मिलेर एआई उपकरण पनि निर्माण गरिरहेको छ, जुन भविष्यमा आईफोनका लागि चुनौती बन्न सक्छ।

यस मुद्दामा मस्कले एप्पल र ओपनएआई मिलेर बजारमा एकाधिकार सिर्जना गर्न र नयाँ प्रविधिमा प्रतिस्पर्धा रोक्न काम गरिरहेको गम्भीर आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad