ad ad

निर्वाचन विशेष


उपेन्द्र यादव पुत्रका कारण जसपामा असन्तुष्टि, विराटनगर उपप्रमुखमा बागी

उपेन्द्र यादव पुत्रका कारण जसपामा असन्तुष्टि, विराटनगर उपप्रमुखमा बागी

सुमन पुरी
बैशाख १२, २०७९ सोमबार १९:३४, विराटनगर

सेतो पाइजामा। गलामा फूलको माला। नारा जुलुससहित अमरेन्द्र यादव विराटनगर महानगरको  उपप्रमुख पदमा  मनोनयन दर्ता गराउन मनोनयन स्थलमा पुगे। 

जब गेट खोलेर भित्र पसे, उनी भन्दा पहिला आफ्नै पार्टीका महिला नेताहरु उपप्रमुखको पदमा मनोनयन दर्ता गराउन लाइनमा भेटिए। 

जब आफ्नै पार्टीका महिला कार्यकर्ताहरु उपप्रमुखमै बागी उम्मेदवारको रुपमा  मनोनयन दर्ता गराउन लाइनमा भेटिए अमरेन्द्र रोकिए। 

त्यसपछि उनी गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नागेश कोइरालालाई पर्खिन थाले। केहीबेर पत्रकारसँग कुरा गरे। पत्रकारहरुका लागि फोटोको पोज दिए। 

निक्कैबेर कुरेपछि गठबन्धनका तर्फबाट प्रमुखका प्रत्यासी बनेका नागेश आए अनि मनोनयनको प्रक्रियामा अमरेन्द्र सहभागी भए। 

गठबन्धनको तर्फबाट महानगरको उपप्रमुखमा मनोनयन दर्ता गराएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। 

मेडिकल इन्जिनियरिङ पढेर केही समय जागिर खाएपछि उनी राजनीतिमा आएका हुन्।  लामो समय पार्टीमा काम गरेकालाई उम्मेदवार नबनाई राजनीतिमा भर्खर आएका अमरेन्द्रलाई उम्मेदवार बनाएको भन्दै जसपा मोरङमा तीब्र विरोध छ। 

यही विरोधका कारण जनता समाजवादी पार्टी निकट महिलाहरुको संगठन समाजवादी महिला संघकी अध्यक्ष सदिना खातुनले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनको समर्थक र प्रस्तावक संघका सचिव र कोषाध्यक्ष बसेका छन्। 

मनोनयन दर्तापछि खातुनले महिला माथि अन्याय भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताइन्। 

‘पार्टीले सामाजिक समावेशीको कुरा गर्ने अनि भाग खाने बेलामा चाहिँ पुरुषलाई उम्मेदवार बनाउने?’ उनले भनिन्, ‘उप मेयरमा महिलामा मेरो मात्रै नाम पठाइएको थियो। टिकट भने छोरालाई दिइयो।’ 

पार्टीको निर्णयका कारण जसपामा आवद्ध महिलाहरुको अपमान भएको महसुस गरेर आफूहरुले स्वतन्त्र रुपमा भएपनि उम्मेदवारी दिएको बताइन्। गठबन्धनमा रहेको जसपालाई महानगरको उपप्रमुख परेपछि खातुन, भूराज राई  अमरेन्द्र यादव र उमेश यादवको नाम सिफारिस भएको थियो। 

पार्टीमा काम गरेका महिलाहरुलाई अपहेलना गरेको भन्दै जसपा जिल्ला सदस्य बसुन्धरा झा ले आज नै राजीनामा दिएकी छन्।

उनले समानता र समावेशी अधिकारको अवमूल्यन गर्ने गरी पार्टीले निर्णय गरेकाले आफू पार्टीमा बसिरहनु उचित नभएको राजीनामा पत्रमा उल्लेख गरेकी छन्। उनले यस्तो अवस्थामा पार्टीमा बसेर जनताको सेवा गर्न नसक्ने बताएकी छन्। 

जसपामा उप प्रमुख छनौटका विषयमा विवाद हुँदा जसपाका प्रभावशाली नेता उमेश यादवले पार्टी छाडिसकेका छन्। उनले हिजै स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन्। 

जसपाका मोरङ अध्यक्ष राजकुमार यादवले पार्टीमा सामान्य असहमति भएको भएपनि केही दिनमा सबै मिल्ने बताए। उनले महिलाहरुले उम्मेदवारी फिर्ता गर्ने समेत विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .