पछिल्लो जनगणनालाई हेर्ने हो भने पनि नेपालमा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको छ।
राज्यका सबैजसो अंगमा महिला सहभागिता पनि उत्साहजनक नै देखिन्छ। तथापि नेतृत्व तहमा भने महिला सहभागिता निक्कै कम देखिएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि नेतृत्वमा महिला संख्या देख्न मुस्किल हुने भएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिला प्रायः उपप्रमुखमै सिमित भए।
०७४ को त्यो सीमितता आगामी निर्वाचनमा पनि दोहोरिने मात्रै होइन, दलीय गठबन्धनका कारण संख्या घट्ने देखिन्छ।
५ वर्ष उपप्रमुख भएर आफ्नो क्षमता प्रदर्शन गरेका थुप्रै महिलाले नेतृत्वमा आकांक्षा देखाएका थिए। धेरैले नेतृत्वका लागि दाबी समेत गरेका थिए। जसमध्ये निक्कै कमले मात्रै अवसर पाएका छन्।
अघिल्लो निर्वाचनमा उपप्रमुख बनेर अनुभव सँगालेका महिला पनि पुनः उपप्रमुखमै दोहोरिन बाध्य भएका छन्।
सबै राजनीतिक संगठनको अधिकांश कमिटीबाट अधिकांश पालिकामा महिला आकांक्षी देखिएपनि थोरैले मात्रै टिकट पाएका छन्। देशभर १ लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता गराउँदा ३२ हजार महिलाले मनोनयन दर्ता गराएका छन्।
प्रमुखमा उम्मेदवारी दर्ता गराएका महिलाले पनि जित्ने सम्भावना कम देखिएको छ। दलहरुबीच गठबन्धन भएपछि यो पटक महिलाको संख्या उपप्रमुखमा पनि घटेको छ।
दुई दलले पुरुषलाई प्रमुख-उपप्रमुखमा अघि सार्दा महिलाको संख्या घट्ने अवस्था आएको हो।
दलमा टिकट दिने ठाउँमा पुरुष हुने र महिलाले अनौपचारिक रुपमा भेटघाट गर्न नसक्ने भएकाले पनि आकांक्षी धेरै महिलाले टिकट नपाएको धेरैको गुनासो छ।
अघिल्लो निर्वाचनमा ७५३ पालिकामा निर्वाचित कूल जनप्रतिनिधिमा महिलाको सहभागिता ४१ प्रतिशत रहेको थियो। यो निर्वाचनमा त्यो प्रतिशत पनि घट्न सक्ने आकलन गरिएको छ।
अघिल्लो निर्वाचनमा नगरस्तरमा ७ र गाउँपालिकामा ११ गरी १८ स्थानमा मात्रै प्रमुख वा अध्यक्ष पदमा महिला थिए।
निर्वाचनका लागि मनोनयन दर्ता हुने बेलासम्म देशको जनसंख्याको झन्डै ५२ प्रतिशत हिस्सा ओगटेका महिलाका आवाज निक्कै मधुरो सुनियो।
प्रमुख वा अध्यक्ष पदमा जान सक्ने उपप्रमुख वा उपाध्यक्ष भइसकेका महिलाहरूले पनि आफ्नो आवाजलाई बुलन्द बनाउन सकेनन्। परिणाम स्वरुप धेरै महिला उपप्रमुखमै दोहोरिन बाध्य भए।
आगामी निर्वाचनमा पनि नेतृत्वमा पुरुषकै हालीमुहाली देखिने पक्कापक्की छ।
२ महानगरमा भिड्दै महिला
देशका ६ महानगरपालिका मध्ये २ वटामा मात्रै महिला उम्मेदवारले नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन्।
काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)पदका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंह र भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी चार महानगर प्रमुखका लागि पुरुष उम्मेदवार उठाइएको छ।
११ उपमहानगर मध्ये ३ ठाउँमा मात्रै महिलाले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने अवसर पाएका छन्।
जसमध्ये धरानमा नेपाली कांग्रेसका तर्फबाट मन्जु भण्डारी सुवेदी, जीतपुरसिमरामा नेकपा एमालेका तर्फबाट सरस्वती चौधरी र हेटौंडामा एकीकृत समाजवादीका तर्फबाट मीनाकुमारी लामाले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
Shares
प्रतिक्रिया