ad ad

निर्वाचन विशेष


इटहरी उपमहानगर : भत्किएला कि जोगिएला कम्युनिष्टको विरासत?

इटहरी उपमहानगर : भत्किएला कि जोगिएला कम्युनिष्टको विरासत?

सुमन पुरी
बैशाख १३, २०७९ मंगलबार २०:४६, इटहरी

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि इटहरी नगरमा एमालेबाहेक अन्य दलले प्रमुख पदमा चुनाव जितेको रेकर्ड छैन। यो विरासतलाई कायम गर्ने हो भने यसपटक एमाले उम्मेदवार याम सुब्बाले बाजी मार्नुपर्ने हुन्छ।

तर, वैशाख ३० को निर्वाचनमा बाजी मार्न यसअघिको जस्तो एमालेलाई सजिलो छैन। ०७९ सालसम्म आइपुग्दा इटहरीमा उम्मेदवारसँगै अवस्था पनि फेरिएको छ। 

२०७४ को स्थानीय निर्वाचनमा एमाले सग्लो पार्टी मात्रै थिएन, उसँग ०५४ सालको स्थानीय निकाय चलाउँदा जनप्रतिनिधिहरुले गरेका राम्रा कामको प्रशस्त उदाहरण पनि थियो। 

यसपटक भने सत्तामा रहँदा आफ्नै दलका नेताहरुले गरेका कमजोरी, पार्टी विभाजनको असर र एमाले बाहेकका अन्य दलको गठबन्धनलाई पनि  एमालेले सामना गर्दै जनतासमक्ष जानुपर्नेछ। 

प्रमुख पदको उम्मेदवार बन्न पार्टीभित्रको देखिएको अस्वस्थ प्रतिस्पर्धाको तुस मेटाउन पनि एमालेलाई चुनौती छ। भलै, आकांक्षीहरु एक ठाउँमा उभिँदै मंगलबार निर्वाचन परिचालन कमिटीको बैठक एमालेले सम्पन्न गरिसकेको छ। तर, बैठकमा सहभागी हुँदैमा सबै ठीकठाक भयो भन्न सकिने अवस्था चाहिँ छैन। 

एमालेभित्र देखिएको अप्ठ्यारोले १ लाख ४ हजार ६२६ मतदाता रहेको इटहरी उपमहानगरमा कांग्रेसलाई इतिहास बनाउने मौका आउन सक्छ। र, यही मौकाको पर्खाइमा छन् कांग्रेस उम्मेदवार हेमकर्ण पौडेल।

उनले मनोनयन दर्ता गराउँदा भनेका छन् ‘इटहरीलाई महानगर बनाउन कांग्रेसको अवश्यकता छ। त्यसैले जितका लागि उम्मेदवारी दर्ता गराएको छु।’

कांग्रेस नेता पौडेलले आत्मविश्वासका साथ जित्ने दाबी गरे पनि इटहरी कांग्रेस पनि एक ढिक्का भइसकेको छैन। मनोनयन दर्ता गराउने अन्तिम दिनको १ बजेसम्म इटहरीको मेयरका रुपमा कांग्रेसले कसलाई अगाडि सार्छ भन्ने टुंगो थिएन । 

प्रमुख पदकै टुंगो नलाग्दा वडामा कसलाई उठाउने भन्ने रणनीतिसम्म कांग्रेसले बनाउन नपाई हतार–हतार मनोनयन दर्ता गराएको छ। यसको असर प्रमुख पदसम्म पर्ने कांग्रेस जन स्वीकार्छन्। 

इटहरीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा आफूले टिकट नपाउँदा नाराबाजी गर्ने तिनै हेमकर्ण पौडेल हुन्। यही कारणले इटहरी कांग्रेस हारेको चर्चा अहिले पनि इटहरीका चिया पसल र चोकहरुमा सुन्न पाइन्छ। 

फरक पार्टीबीच भएको प्रतिस्पर्धाझैँ इटहरीमा कांग्रेसको गाउँ नगर अधिवेशन भएको थियो। अधिवेशनमा विकास केसीलाई हराउँदै हेमकर्ण पौडेलले सभापति भएका थिए। यो पौडेलका लागि भारी पर्न सक्छ।

योसँगै गाउँ नगर अधिवेशनका बेला दुई चिरामा भएको कांग्रेस एकढिक्का भइसकेको छ या छैन ? ३० गते खस्ने मतपत्रको नतिजाले देखाउनेछ।

प्रमुख पदका प्रत्यासी एवं एमाले नेता याम सुब्बा इटहरी बनाउन आफ्नाे उम्मेदवारी रहेको बताउँछन्। पार्टीबाट जितेका मेयर उपप्रमुखले थालेका कामको निरन्तरताका लागि पनि आफूले जित्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘हामीसँग इटहरीलाई कस्तो बनाउने भन्ने भिजन छ, त्यो भिजन व्यवहारमा उतार्न एमालेले जित्नुछ।’ 

समृद्ध इटहरी बनाउन आफू मेयरको पदको आकांक्षी भएको कांग्रेस नेता हेमकर्ण बताउँछन्। मेयरका प्रत्यासी पौडेल अहिलेसम्म इटहरी बनाउने चाहना नै नभएका मानिसहरु सत्तामा पुगेको बताउँछन्। आफू इटहरी बनाउने चाहनासहित उम्मेदवार भएको उनको तर्क छ। उनी भन्छन् ‘पहिले चाहाना हुनुपर्यो, अनि मात्र भिजनले काम गर्छ।’ 

आक्रामक पौडेल, शालीन सुब्बा     
०६२/०६३ को जनआन्दोलनका बेला इटहरीमा आन्दोलनको कमाण्डर थिए– अम्बरबहादुर गौली। कांग्रेस नगर सभापति गौली जेष्ठताका आधारमा कमाण्डर त थिए नै, तर उनै कमाण्डर गौलीका कार्यकर्ता भने इटहरीको सडकमा कम देखिन्थे।

आन्दोलनमा एमाले कार्यकर्ताले सडक ढाक्थे। संघ संस्था, सहकारी सबैतिर एमालेको वर्चश्व मात्रै थिएन, दबदबा नै थियो।

तर, अहिले १५ वर्षपछि दुई पार्टीबीचको अंकगणित बदलिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनको परिणाम नै हेर्ने हो भने पनि कांग्रेसका उम्मेदवार रोहित प्रसाई जम्मा २ हजार ७०४ मतले मात्रै एमालेभन्दा पछाडि परेका थिए। 

एमालेको गढ मानिने इटहरीमा कांग्रेसलाई यो अवस्थामा ल्याउने काम हेमकर्ण पौडेलले गरेका हुन् भन्ने एमाले नेताहरुलाई पनि थाहा छ।

वामपन्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका पौडेल जनता क्याम्पस इटहरीको स्ववियु सभापति भएपछि चर्चामा आएका हुन्। एमालेको गढका रुपमा चिनिएको जनता क्याम्पसमा ०५४ सालमा नेपाल विद्यार्थी संघका तर्फबाट सभापति जितेपछि इटहरीको राजनीतिमा पौडेल लगातार केन्द्र भागमा छन्। 

नेपाली कांग्रेसमा तीन कार्यकाल इटहरी नगर सभापति भएका हेममर्णको इटहरीका हरेक टोलका नागरिकसँग  सम्पर्क छ। वकापटुतामा खप्पिस पौडेल बेला बेला विवादमा समेत आउँछन्, जसले उनलाई आफैँ समस्यामा पार्ने गरेको छ।

अहिले मेयरको दाबेदार बनेका कांग्रेस नेता पौडेल अघिल्लो प्रदेश सभाको निर्वाचनमा एमालेका पूर्वप्रमुख सर्वध्वज साँवासँग पराजित भएका थिए। साँवा अहिले प्रदेशसभा सदस्य छन्।

एमालेका तर्फबाट विगतमा इटहरीको नेतृत्व सम्हालेका सर्वध्वज साँवा र द्वारिकलाल चौधरीको विरासत थाप्नुपर्ने दायित्व यसपालि याम सुब्बाको काँधमा आएको छ।  

०३३ सालमा भानु मावि अम्बिटार ताप्लेजुङ्गमा अध्ययन गर्दैदेखि वममपन्थी राजनीतिको सम्पर्कमा आएका सुब्बा भूमिगतकालमै विद्यार्थी राजनीतिमा संलग्न थिए। ०३४ सालमा नेपाल ल क्याम्पसको अनेरास्ववियु इकाइ कमिटी सदस्य भएयता उनी लगातार वामपन्थी राजनीतिमा संलग्न छन्। 

०३६ सालमा विद्यार्थी आन्दोलनमा अस्कल काण्डमा परेर १७ दिन प्रहरी हिरासतमा बसेका एमाले नेता सुब्बा ०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भए।

०६१ सालमा इटहरी नगर कमिटी सदस्य भएका उनी ०६२ सालमा इटहरी नगर कमिटी सचिव भए। ०६९ सालमा छैठौं नगर अधिवेशनबाट उनी नगर अध्यक्षमा निर्वाचित भए। अहिलेसम्म इटहरीको एमाले पार्टी सुब्बाकै नेतृत्वमा अघि बढिरहेको छ।  

कानुनमा स्नातक गरेका सुब्बा राजनीतिमा समन्वयकारी भूमिका निभाउन सक्ने व्यक्ति मानिन्छन्। एमालेमा उमेदवार बन्नेहरुको आकांक्षा बढ्दै जाँदा तेस्रो व्यक्तिका रुपमा सुब्बालाई अघि सारिएको हो। उनलाई एमालेभित्र शालीन नेताका रुपमा चिनिन्छ। 

अस्तव्यस्त गठबन्धन 
इटहरी उपमहानगरमा गठबन्धन भनिएको माओवादी र जसपाले  छुट्टै मनोनयन दर्ता गराएका छन्। कांग्रेसले आफूहरुलाई पेलेको भन्दै माओवादीले २० वटै वडामा उम्मेदवारी दिएको छ भने जसपाले पनि प्रमुख र उपप्रमुखसहित मनोनयन दर्ता गराएको छ।

माओवादीबाट पुराना मजदुर नेता भानु मैनाली मेयर पदको चुनावी मैदानमा छन्। जसपाबाट मेयरमा डिल्ली सुब्बाको उम्मेदवारी परेको छ। 

वडा र पद बाँडफाँटका विषयमा सहमति जुटे मनोनयन फिर्ता गर्ने तयारीमा दुवै दल छन्। तर, उनीहरुले मागे जसरी वडाहरू दिन कांग्रेस तयार छैन। माओवादी नेता शिव डाँगी वडा बाँडफाँटमा कुरा मिले मनोनयन फिर्ता लिने विकल्प पनि बाँकी नै रहेको बताउँछन्। जसपा नगर सचिव योशा गुरागाइले दुई दिनपछि सबै कुरा बाहिर आउने बताइन्। उनका अनुसार अहिले नै गठबन्धन भत्कियो भन्ने चाहिँ होइन।

उनले भनिन् ‘कांग्रेस र समाजवादीले दम्भ देखाए। अब यसको असर निर्वाचनमा पर्छ।’

वडा तहबाट नै उम्मेदवार बन्न प्रतिस्पर्धा चलेको कांग्रेसमा माओवादी र जसपालाई केही वडाहरू दिए कांग्रेसभित्रको असन्तुष्टिले एमालेलाई फाइदा पुग्नेछ। मनोनयन दर्ता गराएर चुनावी मैदानमा लागिसकेका कांग्रेस उम्मेदवारलाई फिर्ता बोलाए कांग्रेसलाई नै घात हुने कतिपय नेताहरु बताउँछन्। 

गठबन्धनमा प्रमुख पदमा महिला नउठाएको असन्तुष्टि तिब्र छ। कांग्रेसकै महिला नेताहरु उपमेयर समाजवादीलाई दिएर आफूहरुलाई अन्याय गरिएको बताउँछन्। यो असन्तुष्टिको परिणाम पनि निर्वाचन पर्ने देखिन्छ। 

मन जोड्न एमालेलाई चुनौती 
प्रमुख पदका आकांक्षी रामप्रसाद चौलागाईले उम्मेदवार छनोट नभएपछि सामाजिक सञ्जालमा पार्टी निर्णयका बारेमा तिव्र असन्तुष्टि व्यक्त गरे। उनले पार्टी नश्लवादी भएको आरोपसमेत लगाए।

इटहरीका वर्तमान प्रमुख​ द्वारिकलाल चौधरीले एक महिनादेखि धारावाहिक रुपमा आफ्नै पार्टीका स्थानीय नेताहरुका बारेमा सार्वजनिक मञ्चमै विरोध गर्दै आएका छन्।

चौधरी आफैं पनि प्रमुख पुनः दोहोर्याउन चाहान्थे। उपप्रमुख लक्ष्मी गौतम पनि प्रमुखको उम्मेदवार बन्न चाहन्थिन्। तर, प्रभावशाली नेताहरुलाई उम्मेदवार नबनाई नगर अध्यक्षलाई उम्मेदवार बनाउँदाको धमिलो पार्टीभित्र सङ्लिसकेको छैन। चुनाव आइहालेकाले जतिसक्दो नेताहरुको अमिलो मेट्न कार्यकर्ताको जोडबल छ। 

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको छ। नेकपा (एमाले) का प्रभावशाली नेता राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य–सचिव केशवकुमार विष्ट नेकपा एकीकृत समाजवादीबाट उपप्रमुख बनेका छन्। यसले एमालेलाई घाटा पुर्याउने विश्लेषण पनि भइरहेको छ। 

अर्कोतिर इटहरीको तेस्रो ठूलो दल राप्रपाका प्रमुखका उम्मेदवार रोहितकुमार कार्की नेकपा (एमाले)मा प्रवेश गरेका छन्। तत्कालीन खनार गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च कार्की खनार क्षेत्रमा प्रभावशाली मानिन्छन्। उनको मुस्लिम समुदाय र सरदार समुदायमा राम्रो पकड छ। यसबाट एमालेलाई फाइदा पुग्न सक्छ। 

त्यस्तै, यसअघि माओवादीबाट उपप्रमुखका उम्मेदवार बनेका भीमप्रसाद सुवेदी (सागर) पनि नेकपा एमालेमा प्रवेश गरेका छन्। उनले ४ हजार ८७४ मत प्राप्त गरेका थिए।

त्यस्तै, माओवादीबाटै संघीय सांसदका उम्मेदवार हिमाल सुवेदी पनि नेकपा (एमाले)मा प्रवेश गरेका छन्, यसले गर्दा इटहरीमा माओवादी कमजोर बनेको विश्लेषण स्थानीयको छ।

माओवादी इटहरीका नगर सचिव प्रभात आचार्य पनि केही दिनअघि एमालेमा प्रवेश गरेका छन्। उनी पकली क्षेत्रका हुन्। उनको वडामा गत निर्वाचनमा एकजना वडा सदस्य माओवादीले जितेको थियो। ती वडा सदस्य अहिले एमाले बनेका छन्। 

जातीय ‘फ्याक्टर’ 
रंगकर्मी सोनु जयन्ती इटहरीलाई शहर मान्दैनन्। उनी इटहरीलाई चोक मान्छन्। उनको विचारमा  शहर हुनका लागि शहरसँग आफ्नो संस्कार चाहिन्छ। संस्कृति चाहिन्छ र पहिचान पनि। उनी प्रश्न गर्छन्, ‘इटहरीको पहिचान के हो ? पहिचान नभएको शहर हुन सक्दैन।’

जयन्तीको तर्कमा केही दम देखिन्छ। इटहरी माओवादी सशस्त्र आन्दोलन र मधेस आन्दोलनको जगमा बढेको शहर हो। इटहरीलाई सुरक्षित ठानेर बसाइँ सराइ बढेसँगै केही वर्षयता इटहरीमा जनघनत्व ह्वात्तै बढ्यो । इटहरी उपमहानगरको तथ्यांकअनुसार यहाँ ३ लाख मानिस बस्छन्। 

इटहरीमा हरेक बर्ष २५ सयभन्दा बढी घर बन्छन्। ४ बर्षको अवधिमा इटहरीमा २६ हजार ४९६ जना मतदाता थपिएका छन्। थपिएका मतदाता कुन विचार, आस्था र जातका हुन्, अहिले पार्टीहरुले अनुमान गर्न भ्याइसकेका छैनन्। तर, इटहरीमा जे भए पनि जातीय मत सधैं निर्वाचन जिताउने र हराउने ‘फ्याक्टर’ बन्ने गरेको छ।

इटहरीका पूर्वप्रमुख तथा प्रदेश सभा सदस्य सर्वध्वज साँवा इटहरीमा जातीय मतको प्रभाव बलियो रहेको बताउँछन्। जातीय मतमध्ये पनि थारु मत निर्वाचन जिताउने पहिलो आधार हो।

विगतमा इटहरी सुब्बा नरसिंह थारुको मौजा रहेको र त्यही मौजामा थारुहरुले बसोबास गरेको यहाँका अगुवाहरु बताउँछन्। 

इटहरीका भूमिपुत्र थारुको जनसंख्या यहाँ कुल जनसंख्याको ४० प्रतिशत रहेको अनुमान गरिन्छ। इटहरी उपमहानगरका साविक गाविसहरु हाँसपोसा, पकली, एकम्बा र  खनारमा थारुको बाहुल्य छ। साविक इटहरीकै गैसार क्षेत्रमा पनि थारुको बाहुल्य छ। 

पूर्वपश्चिम राजमार्गबाट धरान र विराटनगरतर्फ मोडिने मुख्य नाकामा रहेको इटहरी उपमहानगरपालिका पहिलेको इटहरी नगरपालिका, हाँसपोसा गाविस, खनार गाविस, पकली गाविस र एकम्वा गाबिस जोडिएर उपमहानगर भएको हो। 

ज्यवहार प्रथामा चल्ने थारु समुदाय कुनै बेला इटहरीमा बहुमत थिए। अहिले अल्पमतमा परे पनि इटहरीको निर्वाचनमा उनीहरुको खास अर्थ रहन्छ। एमाले नेता तथा इटहरीका प्रमुख​ द्वारिकलाल चौधरी थारु समुदायले जता मुन्टो हल्लायो, उसैले निर्वाचन जित्ने दाबी गर्छन्। 

यसपटक एमालेले उपप्रमुखमा थारु समुदायबाट संगीता चौधरीलाई अगाडि सारेको छ भने गठबन्धनबाट प्रमुख पदमा थारु समुदायबाट कसैले पनि मौका पाएनन्। यसले एमालेलाई फाइदा पुग्न सक्ने एमाले नेताहरुको विश्लेषण छ। 

तर, इटहरीमा थारु बाहेक प्रभाव पार्ने मत जनजाति समुदायको पनि छ। त्यसका साथै ब्राह्मण क्षेत्री समुदायको संख्या पनि बढिरहेको छ। हिन्दुहरुको गतिविधि बढ्दै गएको इटहरी धार्मिक शहरका रुपमा पनि चिनिन थालेकाले यहाँको खसआर्य समुदायको मत पनि निर्णायक बन्दै गएको छ।

इटहरीमा एमाले, जसपा र राप्रपाबाट प्रमुख पदमा जनजाति उम्मेदवार छन्। एमालेबाट याम सुब्बा बाहेक राप्रपाबाट आकाश सुब्बा र जसपाबाट डिल्ली सुब्बाले प्रमुखमा मनोनयन दर्ता गरेका छन्। यस्तो अवस्थामा जनजातिको मत कता धेरै खस्छ, वैशाख ३० पर्खनुपर्ने हुन्छ। 

यस्तो छ विगतको परिणाम 
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरका लागि १५ जना उम्मेदवार मैदानमा थिए, जसमा ११ जना राजनीतिक दलका थिए भने चारजना स्वतन्त्र थिए।

अघिल्लो निर्वाचनमा मेयर पदको निम्ति खसेको मतमा सदर मत ५२ हजार ५२२ थियो। जसमा तत्कालीन नेकपा एमाले)का उम्मेदवार द्वारिकलाल चौधरी विजयी भएका थिए। उनले २२ हजार ६८९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाईले १९ हजार ९८५ मत प्राप्त गरेका थिए। 

अहिलेको अवस्थामा भने दल विभाजनले एमालेलाई केही असर गर्न सक्छ। एमाले विभाजनको फाइदा नेपाली कांग्रेसले लिन सक्ने देखिन्छ। तर,समाजवादीले करिब १ हजार मत मात्रै काट्ने एमालेको दावी  छ। तर, समाजवादीले भने २० हजार मत आफूसँग रहेको दावी गर्दै आएको छ। माओवादीको भने अघिल्लोपटक भन्दा केही अवस्था कमजोर रहेको आकलन गरिएको छ।

इटहरी उपमहानगरको मेयर बन्न प्रतिस्पर्धा गरेकी माओवादी केन्द्रकी  उमेदवार हरिमाया जिमीले यसअघि ३ हजार ३६४ मत ल्याएकी थिइन्। अघिल्लो चुनावमा राप्रपाका रोहितबहादुर कार्कीले ३ हजार ७१५ मत ल्याएका थिए।

उपप्रमुखमा जितेकी एमालेकी लक्ष्मी गौतमले २१ ह्जार ८४२ मत ल्याएकी थिइन्। उनको प्रतिस्पर्धामा रहेकी कांग्रेसकी बिमला ढकाल सिवाकोटीले १८ हजार ३५२ मत ल्याएकी थिइन्।

उपप्रमुखमा माओवादी केन्द्रका भीम सुवेदी सागरले ४ हजार ८३१ मत ल्याएका थिए। राप्रपाकी माया रायमाझीले ३ हजार ९१९ मत ल्याएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .