ad ad

निर्वाचन विशेष


जनकपुरधाम: गठबन्धनमा अन्तरघातको डर, बलिया स्वतन्त्र उम्मेदवार

जनकपुरधाम: गठबन्धनमा अन्तरघातको डर, बलिया स्वतन्त्र उम्मेदवार

शैलेन्द्र महतो
बैशाख १६, २०७९ शुक्रबार ७:३, जनकपुरधाम

मधेश प्रदेशको महत्त्वपूर्ण ठाउँ हो- जनकपुरधाम उपमहानगर। मधेश प्रदेशको राजधानी रहेकाले आगामी स्थानीय निर्वाचनबाट सत्तारुढ गठबन्धन लगायतका दलहरु प्रमुख आफ्नो पाेल्टामा पार्ने कसरतमा जुटेका छन्। 

जनकपुरधामको प्रमुखमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टी (जसपा) बाट प्रमुख लालकिशोर साह उम्मेदवार छन्। साह निवर्तमान नगर प्रमुख हुन्। 

गठबन्धनबाटै नेपाली कांग्रेसका किशोरी साहले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रमुखमा मनोज चौधरी र उपप्रमुखमा रिताकुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। मिश्र निवर्तमान नगर उपप्रमुख हुन्।

यस्तै, नेकपा एमालेबाट शिवशंकर साह हिरा र उपप्रमुखमा रुना झा, जनमत पार्टीबाट प्रमुखमा अनिता देवी साह र उपप्रमुखमा सन्तोष साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट प्रमुखमा विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र उम्मेदवार छन्। 

यस्तै कांग्रेसका बागी उम्मेदवार मनोज साहले पनि उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै पूर्व निर्माण व्यवसायी बलराम महतो, वडा नं. ७ का निवर्तमान अध्यक्ष जानकीराम साह, समाजसेवी वैद्यनाथ साहसहितले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

उपप्रमुखमा नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट सरोज मिश्रलगायत उम्मेदवार छन्। 

जनकपुरधाम उपमहानगरमा प्रमुखमा ४१ जना र उपप्रमुखमा २८ जनाको उम्मेदवारी परेको छ। उपमहानगरको २५ वटा वडामा वडाध्यक्षको लागि ३३४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै २५ वडाका ५० जना खुला वडा सदस्यका लागि ३३६ जनाले उम्मेदवारी दिएका छन् भने २५ जना महिला वडा सदस्यका लागि १७४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यस्तै दलित २५ जना वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दिएका छन्। यसरी प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरि १२७ पदका लागि  जम्मा १ हजार ९७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

जनकपुरमा २०७४ को तथ्यांक यस्तो छ 
वि.स. २०७४ को निर्वाचनमा यस उपमहानगरपालिकामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रमुख र उपप्रमुखमा जित निकालेको थियो। राजपाबाट जितेका प्रमुख लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज कुमार साहले ११ हजार १६४ मत ल्याएर हारेका थिए।

यस्तै, तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए।

माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५८८ मत ल्याएका थिए। चुनावपश्चात् मधेशवादी दल राजपा नेपाल र फोरम मिलेपछि जसपा हुँदा मधेशवादी दल निकै शक्तिशाली थियो। 

महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो। पछि विभाजन हुँदा राजेन्द्र महतोको कित्ता छाडेर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे। उपप्रमुख रीताकुमारी झाले भने ठाकुर–महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन्। 

जनकपुरधाममा हाल कांग्रेस, लोसपा र जसपा बलिया देखिन्छन्। हुन त अघिल्लो मत परिणामअनुसार तत्कालीन राजपा सबैभन्दा शक्तिशाली दल थियो। पछि एकता भएर जसपा हुँदा झनै शक्तिशाली थियो भने पुनः विभाजन हुँदा जसपा र लोसपा दुवैको शक्ति घटेको छ।

जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा छ। तर अहिले पनि जनकपुरमा लोसपा नै बलियो देखिन्छ। दोस्रोमा कांग्रेस, तेस्रोमा जसपा मानिन्छ। त्यसपश्चात् मात्रै क्रमशः एमाले, माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी देखिन्छ।   

गठबन्धनको शक्ति
२०७४ को मत परिणामअनुसार सत्ता गठबन्धन बलियो देखिन्छ। तर प्रमुख शक्तिशाली दल कांग्रेसभित्रको चरम असन्तुष्टि र बागीले गठबन्धन कमजोर भएको चर्चा छ।

नेपाली कांग्रेसले भागबन्डामा जनकपुरमा प्रमुख नपाएकोमा चरम असन्तुष्टि त छँदै छ, त्यसमा पनि जसपाको भागमा परेको प्रमुख पदमा पुनः निवर्तमान प्रमुख लालकिशोर साह नै उम्मेदवार बनेपछि कांग्रेससहित गठबन्धनका दलमा असन्तुष्टि चुलिएकाे छ। यसले गठबन्धनलाई चुनौती थपिएको छ। 

गठबन्धन गरेपछि कांग्रेसका नगर सभापति मनोजकुमार साहले पार्टी परित्यागको घोषणा गरी स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी गत २०७४ को निर्वाचनमा पनि कांग्रेसबाट प्रमुखका प्रत्यासी बनेर निकटतम प्रतिद्वन्द्वी भएका थिए। २५ वडाका नेता/कार्यकर्ताको दबाबमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको उनी बताउँछन्।

पार्टीले जति नै कडाई वा ह्विप लगाए पनि कांग्रेसको ६० प्रतिशतभन्दा बढी मत गठबन्धनलाई नजाने कांग्रेसकै नेताकार्यकर्ताहरु बताउने गरेका छन्। कांग्रेस अन्तर्घातको डर जसपाबाट प्रमुखका उम्मेदवार लालकिशोर साहलाई छ। 

कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएका किशोरी साह भने बुधबारदेखि प्रमुखका उम्मेदवार लालकिशोर साहसँगै गठबन्धनलाई मत माग्न सुरु गरेका छन्। लालकिशोर साहको कार्यकालबाट जनतामा व्यापक असन्तुष्टि छ। गठबन्धनभित्रकै दलको मत पाउन लालकिशोर साहलाई सकस छ।

जनकपुरधाममा लोसपा गठबन्धन दलसँगको प्रतिस्पर्धामा देखिन्छ। त्यस्तै, पछिल्लो निर्वाचनमा कमजोर दलका रुपमा देखिएकाे नेकपा एमालेले पछिल्लोपटक संगठन विस्तार गरेको छ।    

पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी किता टुटफुट र जुटले कुन दल वा उम्मेदवार कति बलिया छन् भनेर अनुमान लगाउन पनि कठिन छ। यसपटक केही स्वतन्त्र उम्मेदवार पनि बलिया देखिन्छन्।

कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार मनोज साह, पूर्व निर्माण व्यवसायी रमण कन्ट्रक्सनका सञ्चालक बलराम साह, वडा नं. ७ का निवर्तमान वडाध्यक्ष जानकी रामसाह स्वतन्त्रमध्ये बलिया उम्मेदवार भएको चर्चा छ। 

यसरी हेर्दा गठबन्धन, लोसपा, एमालेसहित स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने अनुमान गर्न सकिन्छ। 

विद्रोही उम्मेदवारलाई फापेको इतिहास 
यसपटक जनकपुरधामको नेतृत्वका लागि समाजमा पकड जमाएका स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्। जनकपुरधाममा स्वतन्त्र उम्मेदवारले जितेकाे इतिहास पुनरावृत्ति हुन्छ कि भन्ने आकलन गर्न थालिएको छ। 

२०७४ सालको पछिल्लो स्थानीय तह निर्वाचनभन्दा पहिला जनकपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले नै जितेकाे इतिहास छ। 

२०७४ को स्थानीय चुनाव र गतिलो स्वतन्त्र उम्मेदवार नहुँदा २०७४ को चुनावमा मधेश आन्दोलनकै सेन्टिमेन्टको कारण तत्कालीन मधेशवादी दल राजपा नेपालबाट प्रमुखमा लालकिशोर साह निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर मतले जितेका थिए। उपप्रमुखमा राजपाकी रीता झाले नै जितेकी थिइन्। राजनीतिक दलबाट २०७४ निर्वाचनमा प्रमुख उपप्रमुखमा जितेको अपवाद घटना मानिन्छ। 

नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले २०१७ जेठ १३ गते जनकपुरलाई नगरपालिका घाेषणा गरेकाे हाे। त्यतिबेला प्रमुख बनाउने परिपाटी थिएन, ‘चेयरमेन’ बनाइन्थ्यो। जनकपुर नगरपालिकाको पहिलो चेयरमेनमा श्यामसुन्दर शर्मालाई नियुक्त गरिएको थियो।  

तत्कालीन राजा महेन्द्रले २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ हुन पुग्यो। 

२०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्बहाली हुँदा २०४७ जेठ २८ गते नगरपालिका ऐन, २०४७ लागू भयो र  जनकपुरधाम पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो। २०४९ सालमा पहिलो पटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो। 

जसमा प्रमुखका लागि नेपाली कांग्रेस भित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए। दिगम्बर रायले प्रमुखको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लालले विद्रोह गरे। कांग्रेसको बागी बनेर प्रमुखमा उम्मेदवारी दिए। लालसँगै निवर्तमान प्रमुख लालकिशोर साहले पनि कांग्रेसकै बागी उम्मेदवारको रुपमा उपप्रमुखको उम्मेदवार बने। 

अन्ततः स्वतन्त्रबाटै प्रमुखमा वृषेशचन्द्र लाल र उपप्रमुखमा लालकिशोर साह विजयी भए। कांग्रेसको आधिकारिक उम्मेदवार दिगम्बर राय हारे। 

पाँच वर्षपछि २०५४ सालमा फेरि स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका बजरंग प्रसाद साह प्रमुखमा निर्वाचित भए। कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले टिकट पाएपछि साहले विद्रोह गरेर उम्मेदवारी दिएका थिए। पञ्चायतकालमै दुईपटक प्रधानपञ्च रही सकेका उपाध्याय हारे। 

नेपाल संघीयतामा प्रवेश गरेपछि २०७४ को निर्वाचनमा राजपा नेपालबाट लालकिशोर साह र उपप्रमुखमा रीताकुमारी मिश्र विजयी भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .