ad ad

निर्वाचन विशेष


विराटनगरः उपप्रमुखमा अमरेन्द्र, शिल्पा र नमिताबीच त्रिपक्षीय भिडन्त

विराटनगरः उपप्रमुखमा अमरेन्द्र, शिल्पा र नमिताबीच त्रिपक्षीय भिडन्त

सुमन पुरी
बैशाख २०, २०७९ मंगलबार ९:५१, काठमाडौँ

विराटनगर महानगरमा पाँच दलीय गठबन्धन संकटमा छ। संकटका कारण बनेका छन्– गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई गठबन्धनले उपप्रमुखको उम्मेदवार बनाएपछि माओवादी केन्द्र अहिले अनौपचारिक रुपमा गठबन्धनबाट बाहिर छ।

माओेवादीका नेताकार्यकर्ता गठबन्धनको घरदैलो अभियानमा पनि हिँडेका छैनन्। सँगै हिँड्ने अवस्था पनि नभएको माओवादी नेताहरु बताँउछन्।

वडा तहमा छुट्टै मनोनयन दर्ता गराएको माओवादीले गठबन्धनमा प्रमुख वा उपप्रमुख दुवैमा भाग नपाएपछि सँगै मत माग्न जानुको अर्थ नभएको जनाएको छ। केन्द्रले गठबन्धन कायम राख्न निर्देशन दिए पनि वडामा कांग्रेससँगै प्रतिस्पर्धा गर्नुपर्ने र प्रमुख तथा उपप्रमुखमा पार्टीको उम्मेदवार पनि नभएकाले सँग हिँड्न नसकिएको माओवादी नेता तथा कार्यकर्ताको भनाइ छ।

‘हामीले प्रमुख र उपप्रमुखलाई भोट माग्नु पर्ने कारण छैन,’ एक नेताले भने। 

माओवादीकी नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छन्। अमरेन्द्रकै कारण जसपाका प्रभावशाली नेता उमेश यादवले मेयर र वसुन्धरा झाले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी र जनता समाजवादी फोरमका बीचमा गठबन्धन भएको थियो। त्यसबेला प्रमुखका रुपमा उमेश र उपप्रमुखमा नमितालाई अघि सारिएको थियो। यस पटक पनि जोडीलाई स्वतन्त्र गठबन्धनका उम्मेदवारको रुपमा चिन्न थालिएको छ। 

महानगरमा उपप्रमुखका लागि १७ जनाले मनोनयन दर्ता गराएका थिए। तीमध्ये तीन जनाले मनोनयन फिर्ता लिएका छन्। 

उपप्रमुखकम गठबन्धनका अमरेन्द्रबाहेक एमालेबाट शिल्पा कार्की उम्मेदवार छिन्। यस्तै बीपी कांग्रेसबाट माया ओझा, राप्रपाबाट विन्दाकुमारी लुइँटेल, लोकतान्त्रिक समाजवादी पार्टीबाट सहनाज खातुन, लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला शर्मा र स्वतन्त्र गंगा सुवादी पनि चुनावी मैदानमा छन्। 

को हुन् शिल्पा?
एमालेले उपप्रमुख उम्मेदवार बनाएको शिल्पा निराला कार्की एमाले विराटनगर महानगर कमिटीकी उपाध्यक्ष हुन्।

२०३५ साल मंसिर १४ गते सिरहाको लाहानमा जन्मिएकी कार्की २०५७ देखि विराटनगरमा छिन्। 

उनी उद्योगी तथा नेकपा एमालेका नेता गिरेन्द्र कार्कीसँग विवाहपछि विराटनगरका रोटरी लगायतका संघ सस्थामा आवद्ध भइन्। योगमाया फाउन्डेसन हुँदै उद्योगीहरुको संघसंस्थामा बसेर उनी राजनीतिसँग नजिक भइन्। राजनीतिशास्त्रमा स्नातकोत्तर कार्की फेसन डिजाइनर समेत हुन्। 

एमालेको मूल राजनीतिमा आउनुपूर्व उनी नेपाल घरेलु तथा साना उद्योग महासंघको जिल्ला अध्यक्ष तथा महासंघकै महिला समितिको प्रदेश १ संयोजक समेत थिइन्। 

विराटनगरको समग्र विकासका लागि आफूले उपप्रमुखमा उम्मेदवारी दिएको उनले बताइन्। 

‘जनतालाई महानगरमा पुग्दा सजिलोगरी काम हुने वातावरण मिलाउँछु,’ उनले भनिन्, ‘नजिकको सरकारमा पुग्दा विराटनगरवासीले दुःख नपाउने व्यवस्था मिलाउने मेरो प्रतिबद्धता हो।’ 

पुरानो सहरका रुपमा परिचित विराटनगरलाई आधुनिक महानगरमा बदल्न पूर्वाधार विकासमा ध्यान दिने उनले बताइन्। 

‘विराटनगर सहरलाई महिलामैत्री बनाउनु मेरो प्राथमिकतामा रहनेछ। महानगरमा सार्वजनिक शौचालयहरु छैनन्। शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेन्जिङ रुम नहुँदा समस्या छ। यसमा मेरो ध्यान जानेछ,’ उनले भनिन्।

त्यस्तै, महानगरमा एक सय सार्वजनिक धारा निर्माण, बालिका शिक्षा, सार्वजनिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक कक्ष र गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्ने उनको कार्यक्रम छ।

दीपेश नामले चिनिने अमरेन्द्र 
गठबन्धनबाट उम्मेदवार बनेका अमरेन्द्र विराटनगरमा दीपेश नामले बढी चिनिन्छन्।
२०५५ सालतिर उपेन्द्र यादव मधेशी जनअधिकार फोरमबाट मधेशी जनताको अधिकारका लागि सक्रिय थिए। त्यो फोरम पार्टी भइसकेको थिएन। तर उपेन्द्र तत्कालीन सरकारको तारोमा पर्थे। सामाजिक द्वेष फैलाउने कुरा गरेको भन्दै परिवारमाथि धम्की आउँथ्यो। त्यही त्रासका कारण एसएलसी दिने तयारीमा रहेका अमरेन्द्रले नाम परिवर्तन गरे र दीपेश यादव भए।

विराटनगरबाट एसएलसी पास गरेपछि उनी भारतमा बसे। उनले त्यहीँ उच्च शिक्षा अध्ययन गरेका हुन्। उनी बायोमेडिकल इन्जिनियर हुन्। 

इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टर चण्डीगढबाट फरेन्सिक मेडिसिनमा उनले स्नातकोत्तर गरेका छन्। उनले केही समय फरेन्सिक विज्ञको रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र सफदरगञ्ज अस्पताल दिल्लीमा पनि काम गरे।

३४ वर्षीय अमरेन्द्रलाई बुबासँग जोडेर आफूलाई हेरिएकोमा आपत्ति छ। 

‘म विराटनगरको राजनीतिमा गत आठ वर्षदेखि सक्रिय छु,’ उनले भने। 

विराटनगरलाई शिक्षा र स्वास्थ्यको हब बनाउने उनले बताए।

‘सिरहा, सप्तरीबाट विद्यार्थीहरु विराटनगरमा पढ्न आउँथे। प्रदेश १ का सबै जिल्लाबाट पढ्न आउने विराटनगर थियो। अहिले त्यो छैन। म विराटनगरलाई त्यही अवस्थामा फर्काउन चाहन्छु,’ उनले भने, ‘भारतबाट समेत उपचार गर्न आउने स्वास्थ्यको केन्द्र बनाउन पहल गर्छु।’

विद्यार्थी नेता नमिता 
राजनीतिशास्त्रमा स्नाकोत्तर गरेकी नमिता विद्यार्थी राजनीतिबाट आएकी नेता हुन्। धरानको महेन्द्र क्याम्पसबाट कानुनमा स्नातक गरेकी न्यौपानेले सुरुमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति गरेकी थिइन्। उनी २०६३ मा नेकपा माओवादी केन्द्रमा आबद्ध भइन्। 

०६८ मा माओवादी केन्द्रको क्षेत्रीय सचिव, क्षेत्रीय अध्यक्ष हँुदै विराटनगर महानगरपालिकाको सचिव भएकी थिइन्। 

इन्टरनेसनल लायन्स क्लब, घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ महिला उद्यम समितिको अध्यक्ष पनि भएकी न्यौपाने २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखको उम्मेदवार बनिन्। 

उनले त्यसबेलामा ११ हजार ५ सय मत ल्याइन्। स्वातन्त्र उम्मेदवार बन्नुअघि उनी नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव थिइन्। 

स्थानीय तहमा संविधानले ग्यारेन्टी गरेको महिला सहभागिताको सुनिश्चितता गर्न आफूले उम्मेदवारी दिएको उनले बताइन्। 

आफुले जिते न्यायिक समितिलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गरी नगरबासीलाई न्यायको अनुभूति गराउने उनले बताइन्।

त्रिपक्षीय भिडन्त
विराटनगर महानगरको उपप्रमुख बन्न अहिले १४ जना मैदानमा छन्। तर भिडन्त भने त्रिपक्षीय हुने देखिन्छ। गठबन्धनका अमरेन्द्र, एमालेकी शिल्पा र स्वतन्त्र नमिता उपप्रमुखका बलिया उम्मेदवार हुन्। 

नमिता स्वतन्त्रको उम्मेदवार भनिए पनि उनलाई जिताउन माओवादी पार्टी लागेको छ। अघिल्लो निर्वाचनमा ११ हजार ५२४ मत ल्याएकी उनी दोस्रो भएकी थिइन्। 

२० हजार १४६ मत ल्याएर इन्दिरा कार्की नेपाली कांग्रेसका तर्फबाट विजयी भएकी थिइन्। एमाले–फोरम लोकतान्त्रिक गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेकी सूची चौधरीले भने १० हजार ५३६ मत ल्याएकी थिइन्। 

महानगरमा गठबन्धन धर्मराँउदा एमालेकी उपप्रमुख उम्मेदवारलाई केही सहज देखिन्छ। एमालेबाट प्रमुखमा को उठ्ने भन्ने प्रतिस्पर्धा भए पनि उपप्रमुखमा शिल्पा पहिले नै लगभग पक्का थिइन्। त्यसैले उनको उम्मेदवारीलाई लिएर एमालेमा विवाद देखिन्न। 

कांग्रेसमा भने उपप्रमुखका कारण ठूलो असन्तुष्टि छ। उपप्रमुख जसपालाई दिएपछि नेपाल महिला संघले प्रदेशको कार्यालय नै घेराउ गर्यो। 

कांग्रेसबाट गठबन्धनको विरोधमा गंगा सुवेदी बागी उठेकी छन्। उनी बलियो उम्मेदवार होइनन्। तर अमरेन्द्रको पक्षमा कांग्रेसको सम्पूर्ण मत जाने स्थिति अहिले नै बनिसकेको छैन। 

कांग्रेसका महिला नेताहरुले सामाजिक सञ्जालमा पार्टीको निर्णयप्रति रोष प्रकट गरेका छन्।

यसले नमिता र शिल्पालाई थप बलियो बनाएको छ। महानगरमा हुने महिला आन्दोलनमा यी दुवैको सहभागिता हुने गरेकाले कांग्रेसको सान्तवना भोट उनीहरुलाई जानसक्छ। दुवै रोटरी लगायतका संस्थामा छन्। 

अर्कोतिर, उद्योगी महिलाहरुमा पनि काम गरेका उनीहरुको मत विभाजित हुँदा अमरेन्द्रलाई नाफा हुन सक्छ। मधेशी मत एकोहोर्याउन सके उनी बलियो हुनसक्छन्।

उपप्रमुखमा जसपाकै बागी उम्मेदवार बसुन्धरा झाले उनको केही मत काट्न सक्छिन्। विराटनगरमा मधेशी समुदायको मत आधाभन्दा बढी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .