ad ad

निर्वाचन विशेष


नेतृत्व विषयमै विद्यावारिधि गरेका नगरप्रमुख पदका उम्मेदवार

भन्छन्: कम्पनी हाँक्न त पढेलेखेको मान्छे खोजिन्छ, नगर जोसुकैलाई हाँक्न दिने!
नेतृत्व विषयमै विद्यावारिधि गरेका नगरप्रमुख पदका उम्मेदवार

अशोक साह


यज्ञराज जोशी
बैशाख २०, २०७९ मंगलबार ७:३६, काठमाडौँ

अशोक साहले चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीबाट लिडरसिप (नेतृत्व) विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। सिरहामै जन्मे/हुर्केका अशोक भारतको बैंग्लोर युनिभर्सिटीका गोल्डमेडलिस्ट हुन्। त्यसपछि उनले चीनको वुहान युनिर्भर्सिटीमा ८५ लाख बराबरको पूर्ण छात्रवृत्तिमा पीएचडी गरेका हुन्। 

यिनै अशोकले सिरहाको कर्जन्हा नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका छन्। डा. सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीबाट उनले उम्मेदवारी दिएका हुन्।

विश्वलाई नेतृत्व गर्ने अमेरिका, रुस, चीनलगायतका देशले शिक्षित र दुरदृष्टि भएको नेतृत्व पाएकैले विकासमा फड्को मारेको उनी उदाहरण दिन्छन्। एउटा कम्पनी हाँक्न पढेलेखेको मान्छे खोजिन्छ भने नगर हाँक्न पनि शिक्षित मानिस खोजिनुपर्ने उनेका तर्क छ। 

‘कम्पनी हाँक्न त पढेलेखेको मान्छे खोजिन्छ, नगर जोसुकैलाई हाँक्न दिने’, प्रश्न गर्दै उनी भन्छन्, ‘कम्पनीमा खराब नेतृत्व चयन भयो भने केही हजार मान्छेलाई समस्या होला। तर नगर चलाउने खराब मान्छे चुनियो भने त्यो समाजमै समस्या देखिन्छ। समाजकै विकास रोकिन्छ। त्यसैले शिक्षित, सीप हासिल गरेको मानिसलाई नेतृत्वमा चयन गर्नु अति आवश्यक छ।’

उनको अनुभवमा मधेशमा राजनीतिलाई पैसा र ‘पावर’ कमाउन प्रयोग गरिन्छ। राजनीतिमा लागेका आफ्नो आर्थिक हैसियत सुधारेको तर गाउँसमाज जहाँको तहीँ रहेको उनी बताउँछन। सुरुमा आफ्नो खुट्टामा नउभिएकाहरूबाट अरूका लागि केही गर्छन् भन्ने अपेक्षा गर्न नसकिने उनी बताउँछन्। 

‘म पढेलेखेर आफ्नो सम्पूर्ण व्यवस्थापन गरेर राजनीतिमा आएको हुँ’, जनकपुरस्थित मोडेल कलेजका संयोजकसमेत रहेका उनले भने, ‘मैले आफूलाई पुग्दो सबैथोक गरिसकेँ। हामीलाई गाडी किन्न, पैसा कमाउनल मेयर बन्नु छैन। सुरुमा आफ्ना लागि बन्नुपर्यो। जो व्यक्ति पहिले आफ्नो लागि बन्दैन त्यसले अरुका लागि गर्ने सम्भावना देखिदैँन।’ 

घोषणापत्र
कर्जन्हा नगरको विकासका लागि अशोकले ९ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। सामुदायिक विद्यालयको पूर्वाधार गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने, हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्थालगायत कार्य शिक्षा क्षेत्रमा गर्ने उनको प्रतिबद्धता छ। 

यस्तै नगरमा योग्य चिकित्सक, प्रोफेसनल नर्सिङ, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको अस्पताल सुरुवात गर्ने, मधुमेह र रक्तचापजस्ता दीर्घकालीन रोगका लागि दिगो नियन्त्रण उपायका रूपमा जगिङ तथा व्यायाम गर्न पार्क निर्माण गर्ने, नगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालन गर्ने उनी बताउँछन्। 

गरिबी तथा किसानीको परिचयपत्र व्यवस्था गर्ने, कल सेन्टरमार्फत सञ्चालित भौतिक पूर्वाधारद्वारा ढल, नाला, सडकजस्ता पूर्वाधारको मर्मतसम्भार गर्ने, हरेक वडामा इन्टरनेट तथा वाइफाई जोनको व्यवस्था गर्ने, घरेलु हिंसामुक्त सुरक्षित वातावरणको व्यवस्थापन गर्ने, वडा तहमा स्तन क्यान्सर, पाठेघरको समस्याको निःशुल्क उपचार गर्ने, बेमौसमी तरकारी तथा अन्य कृषक उत्पादनको निःशुल्क तालिम दिने उनका योजना छन्।

त्यसबाहेक जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाह दर्ता तथा अन्य कागजात घरमै आएर बनाउने व्यवस्था गर्ने, वृद्ध भत्ता तथा एकल महिला भत्ताजस्ता सेवा घरघर गएर दिने, स्वदेश वा विदेशमा काम गर्नेहरूका लागि उचित तालिम दिई रोजगारी सिर्जना गर्ने, नगरपालिकाको मेयर कार्यालयको प्रत्यक्ष नियन्त्रणमा प्रभावकारी गुनासो बाकस राख्ने र भ्रष्टाचारविरोधी विशेष ब्युरो गठन गर्ने उनको प्रतिबद्धता छ। 

चुनौती
अशोकलाई विपक्षीहरूले बाहिर बसेर आएको पाहुना उम्मेदवार भनेर विरोध गर्ने गरेका छन्। तर अध्ययन अध्यापनका लागि आफू बाहिर जान परेको र अध्ययन सकेर आफ्नो गाउँमै केही गर्ने भनेर फर्किएको भन्दै उनी मतदातालाई सम्झाउँछन्।
अर्कातिर एक समय स्वतन्त्र मधेशको विखण्डनकारी मुद्दा उठाएका सीके राउत नेतृत्वको पार्टीमा उनी किन? प्रश्न पनि उठिरहेको हुन्छ। 

सीके राउतको व्यक्तित्वबाट प्रभावित भए पनि आफू कहिले उनको स्वतन्त्र मधेशको एजेन्डामा सहमत नभएको र अहिले त्यो एजन्डा नै नरहेको उनी बताउँछन्। 

‘पार्टी आफैँमा खराब हुँदैन। पार्टी हाँक्नेको भिजन र मुख्य नेतृत्व कस्तो छ, त्यसमा धेरै फरक पर्छ। नेतृत्वमा स्पष्ट भिजन छैन, आफ्नो एजेन्डामा अडिग रहँदैन भने त्यो पार्टी पार्टी रहँदैन। त्यहाँ विश्वास पनि रहँदैन’, उनी भन्छन्, ‘नासाको कराडौंको जागिर छाडेर केही गर्ने भनी उहाँ (सीके राउत) यहाँ आउनुभएको हो। सुरुमा उहाँले जुन स्वतन्त्र मधेशको मुद्दा उठाउनुभएको थियो। त्यो नराम्रो पनि हो। म पनि त्यसमा उहाँको सपोर्ट गर्दैन। तर उहाँले त्यो मुद्दा छाड्दै सरकारसँग शान्तिपूर्ण राजीनीति गर्ने सम्झौता गरिसक्नुभएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .