ad ad

निर्वाचन विशेष


विराटनगरका सुकुम्वासी वस्तीमा उमेश यादवको ‘भूमिगत’ घरदैलो

मत मागेको फोटो देखाउँदा भोट घट्ने पीर!
विराटनगरका सुकुम्वासी वस्तीमा उमेश यादवको ‘भूमिगत’ घरदैलो

मत माग्दै विराटनगरमा मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादव। तस्बिर : नेपालखबर


सुमन पुरी
बैशाख २४, २०७९ शनिबार १९:२७, विराटनगर

विराटनगर महानगरपालिकाको मेयरको दौडमा रहेका उमेश यादव अहिले चुनावी प्रचारमा छन्। 

उनी विराटनगर महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार हुन्। उनलाई महानगर मेयरमा बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ। 

जनता समाजवादीबाट मेयरका आकांक्षी उमेश पाँच दलीय गठबन्धनका कारण मेयर पद नपाएपछि स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् । 

गठबन्धनमा बाँडफाँट हुँदा विराटनगर कांग्रेसको भागमा परेपछि उनले जसपाबाट राजीनामा दिएका थिए। 

पार्टीसँग असन्तुष्टि जनाउँदै उम्मेदवारी घोषणा गरेका उमेश मनोनयनसँगै बिहानदेखि रातिसम्म चुनावी प्रचारमा हुन्छन् । 

उनी विराटनगरका टोल टोलमा पुग्छन् । तर, उनले आफू ती टोलमा पुगेको विवरण सार्वजनिक गर्दैनन्। 

मत माग्न गएको टोलसमेत गोप्य राख्छन्। किन त? यादव भन्छन्, ‘म पुगेको ठाँउमा गएर अन्य उम्मेदवारले प्रभावित पार्ने चिन्ता छ।’

उनले आफ्ना मतदाता गरिब र सुकुम्बासी रहेको पनि बताए। ‘मेरा मतदाता गरिब र सुकुम्वासी वस्तीका छन्’, उनले अगाडि भने, ‘उनीहरु चाँडै प्रभावित हुन्छन्। त्यसैले मैले चुनावी कार्यक्रम गोप्य राखेको छु।’

उनका प्रतिस्पर्धीहरुले घरदैलो गरेको तस्विर र भिडिओले सामाजिक सञ्जाल रंगिएका छन् । तर, उनले भोट मागेको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा देख्न पाइन्न । 

यादवलाई आफूले मत मागेका मतदाताहरूको पहिचान खुल्ने चिन्ताले सताएको छ । ‘दिनभर हिँड्यो, बेलुका अरुले नै प्रभावित पार्न थालेपछि चुनाव प्रचार प्रसारको कार्यक्रम गोप्य बनाएको छु’, यादवले भने ।  

उनले आफ्ना मतदाताको पहिचान गोप्य राख्न समस्या परेको बताए। नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘मलाई मेरा मतदाताको पहिचान गोप्य राख्न गाह्रो परेको छ। मेरा मतदाता भुइँमान्छे हुन्। उनीहरुलाई धाकधम्की र प्रलोभन आउने डरले पहिचान लुकाएको हुँ।’ 

उनीसँग उमेश यादवको सचिवालय नामको फेसबुक पेज पनि छ । तर उनको पेजमा मत कसरी हाल्ने जानकारीसहितका भिडिओ पोस्ट गरिएको छ। मत माग्न हिँडेको र भेटेका मानिसहरुको तस्बिर एउटा पनि छैनन्। 

अघिल्लो पटक पनि माओवादी–फोरम गठबन्धनबाट मेयरका प्रत्यासी उमेशले १४ हजार ९५८ मत ल्याएका थिए । उनको पक्षमा खसेकामध्ये ३५ सय मत त बदर नै भएको थियो। 
‘मेरा मतदातालाई मत हाल्न सिकाउनु पर्ने छ । सिकाउन भिडिओ बनाएर पोष्ट गरेको हुँ’, यादवले भने, ‘एक सातादेखि सचिवालयलाई मत मागेको फोटो नराख्नु भनेको छु । अहिले पूरै बन्द छ।’

यस पटकको निर्वाचन जित्ने उनको दाबी छ । ‘म विराटनगरमा जन्मिएर यहीँ हुर्किएँ। यहाँका मतदातासँग नजिकको नाता छ’, उनले भने, ‘म विराटनगर बनाउन भनेर लागेको छु । मलाई यसपटक विराटनगरले मेयर बनाउँछ।’ 

गरिव, विपन्न र सुकुम्बासीहरू आफ्नो मतदाता रहेको उनले बताए । ‘विराटनगरका २० हजार सुकुम्बासीले मलाई यस पटक मत हाल्दै छन्’, कारण खुलाउँदै उनले भने, ‘म सत्तामा नहुँदा पनि उनीहरुका लागि काम गरेको छु।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भए पनि निरन्तर काम गरिरहेको उनले दाबी गरे । 

‘मैले एक पटक पराजित हुँदैमा हार मानिनँ’, उनले भने, ‘ मेयर जित्नका लागि निरन्तर मतदाताको घर आँगनमा गएँ । उनीहरुको सुख दुःखमा साथ दिएँ ।’

विराटनगरमा मतदाताको विश्वास आफ्नो जितको आधार भएको उनले सुनाए। ‘जनताकै काम गरेको मलाई मत नहालेर अरु कसलाई मत हाल्छन्?’, उनले भने, ‘यस पटक परिवर्तनका लागि विराटनगरबासीले मलाई जिताएर पठाउने छन्।’ 

यसअघि कांग्रेस र एमाले सत्तामा पुगेर पनि उनीहरुले विराटनगरका लागि नयाँ काम नगरेकाले यो पटक विकल्प रोजेर आफूलाई जिताउने उनले दाबी गरे ।  

को हुन् उमेश ? 
विराटनगर महानगरपालिका–१८ स्थित जतुवा गाउँमा ०३१ सालमा जन्मिएका हुन्  उमेश यादव । उनी विराटनगरमा जमिन्दार परिवारका सदस्य हुन् । महानगरपालिकाभित्र उनको ३० बिघा जग्गा छ । 

उमेशका बुवा कांग्रेसका स्थानीय नेता थिए । बुवाको प्रभावका कारण उनी महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी हुँदा राजनीतिमा आए । 

शुरुमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको राजनीतिले उनलाई चिनाएको हो। यादवले एसएलसी दिएकै वर्ष ०४६ सालमा जनआन्दोलन भयो ।

उक्त आन्दोलन उनको राजनीतिक जीवनको पहिलो खुड्किलो बन्यो । ०४६ को आन्दोलनमा सक्रिय सहभागी बनेको यादव बताउँछन् । एसएलसी पास गरेसँगै आइकम पढ्न उनी महेन्द्र मोरङ क्याम्पस गए । 

आइकम पढ्ने क्रममा नै उनी नेविसंघको राजनीतिमा लागे । राजनीतिमा लागेसँगै उनी धेरै पटक पक्राउ परे । ०५३ सालमा उनी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति बने । 

उनी नेपाल विद्यार्थी संघ मोरङको उपसभापति पनि भए। ०५९ सालमा कांग्रेस महासमिति सदस्य बने । त्यसबेला मधेश आन्दोलन शुरु भयो। उनी मधेशी जनाधिकार फोरममा लागे । 

यादवका एजेण्डा 
मेयर पदका प्रत्यासी यादवले विराटनगरको सुकुम्बासी समस्या समाधान गर्ने, डुबानमुक्त विराटनगर बनाउने आफ्नो मूल एजेण्डा भएको बताए । 

विराटनगरमा सुकुम्वासी समस्या ठूलो छ । सुकुम्वासी समस्या समाधान गर्ने ठूला योजना बनाइए पनि समाधान नभएकाले मेयर भएर निचोडमा लैजाने उनले बताए । 

‘२० हजार सुकुम्वासीका लागि घर निर्माण गर्ने छु । उनीहरुले पनि बस्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो’, उनले भने।   

बर्खाका बेला विराटनगरमा डुबानको समस्या समाधानका लागि काम गर्ने अर्को एजेण्डा यादले सुनाए । 

विराटनगरका दुवैतर्फबाट बग्ने खोलाहरुमा तटबन्ध हालेर सडक निर्माण गर्ने योजना उनले सुनाए । ‘यो महत्वाकांक्षी योजना जस्तो लाग्दो हो, तर यो पूरा गर्ने अठोट छ’, उनले सुनाए।  

विराटनगरका गरिबहरुलाई स्वास्थ्य र शिक्षाको पहुँचमा पुर्‍याउने अर्को एजेण्डा उनले सुनाए। यादवले अहिले पनि विराटनगरमा शिक्षा र स्वास्थ्यमा विभेद देखेका छन्। 

विराटनगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै सबैलाई शिक्षाको पहुँचमा पु¥याउने योजना पनि उनीसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .