ad ad

निर्वाचन विशेष


सरकारी जहाज चढेर भोट माग्न प्रधानमन्त्रीलाई भ्याइ नभ्याइ

सरकारी जहाज चढेर भोट माग्न प्रधानमन्त्रीलाई भ्याइ नभ्याइ

सेनाको हेलिकोप्टर चढेर चुनाव प्रचार गर्न बुटवल पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा


रुपक चौलागाईं
बैशाख २४, २०७९ शनिबार २१:४३, काठमाडौँ

 स्थानीय चुनावको तिथि नजिकिँदै जाँदा शीर्ष नेताहरुलाई भ्याइ नभ्याइ छ। 

अबको ५ वर्ष स्थानीय तहको नेतृत्व लिन जनता फकाउँदै हिँडेका नेताहरु अनेकन आश्वासन बाँड्दै जनताको घरदैलोमा पुगिरहेका छन्। 

निर्वाचन सकिएपछि जनताको घरदैलो बिर्सिएको आरोप नेपालका राजनीतिक दल र शीर्ष नेतालाई सामान्य भइसक्यो। यस्ता विभिन्न आरोप र आलोचनाबीच यतिबेला दलहरु चुनावी घरदैलो अभियानमा व्यस्त छन्। 

त्यसो त, निर्वाचन आयोगको आचारसंहितालाई बेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि चुनावी प्रचार प्रसारमा अत्यन्तै व्यस्त छन्।

शनिबारमात्रै प्रधानमन्त्री देउवा काठमाडौंबाट बुटवल, तनहुँ हुँदै जनकपुरधामसम्म पुगे। त्यो पनि सरकारी खर्चमा सेनाको हेलिकोप्टर र जहाज प्रयोग गरेर दलबलसहित।

यसअघिका सरकारको नेतृत्व गरेकाहरूको पनि सरकारी सम्पतिको दुरुपयोग गरेको भन्दै विभिन्न आलोचना नभएका होइनन्। चुनावको मुखमा आयोगले जारी गरेको आचारसंहितालाई नै कुल्चिएर सभाहरूमा देउवा देखिँदा आलोचना हुनु स्वभाविक नै भयो। 

देउवाको व्यस्तता
प्रधानमन्त्री देउवाले २१ वैशाखबाट चुनावी सभाहरूमा आक्रमक उपस्थिति देखाइरहेका छन्। गत बुधबार विराटनगर पुगेका देउवा त्यसयता दैनिक चुनावी कार्यक्रममा ब्यस्त छन्।

देउवा बुधबार दिनभर जसो विराटनगरमा रहे। विराटनगरको पुष्पलाल चोकमा आयोजना भएको चुनावी सभामा देउवाले गठबन्धनभित्र असन्तुष्ट रहेका कार्यकर्तालाई कन्भिन्स गराउने प्रयास गरे।

राष्ट्रिय निर्वाचनसम्म गठबन्धनलाई जिताउन आग्रह गर्दै उनले वृद्धभत्ता ६५ वर्षमा नै दिने निर्णय आफूले गरेको दाबी गरे। 

‘वृद्ध भत्ता ६५ वर्षमै दिने निर्णय मैले गरेको छु,’ देउवाले मतदाता आकर्षित गर्दै भनेका थिए, ‘असाध्यै रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ। विकास निर्माणको काम गर्न पनि राष्ट्रिय चुनावसम्मै गठबन्धनलाई जिताउनुस्।’

विराटनगरको सभालाई केहीबेर सम्बोधन गरेका देउवा त्यही दिन चितवन पुगे। चितवनको भरतपुर महानगरपालिकामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्नका लागि देउवा अघिल्लो दिन नै त्यहाँ पुगेका थिए।

सेनाको जहाज चढेर चितवन पुगेका प्रधानमन्त्री देउवाकार्यक्रम बिहीबारका लागि भए पनि बुधबारबाटै देउवाको भरतपुर बसाइलाई अर्थपूर्ण रुपमा समेत लिइएको थियो।

किनभने, पार्टीप्रति असन्तुष्टि राख्दै बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेललाई फकाउन सकिन्छ कि भन्ने ध्येय देउवाको थियो। तर, पौडेलले देउवालाई भेट्नै मानेनन्। बरु, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफ्नो उम्मेदवारी फिर्ता नहुने सन्देश पठाए।

देउवा भरतपुरस्थित होटल सिराइँचुलीमा बास बसे। चुनावी सभा सुरु हुनुअघि देउवाले पौडेलको उम्मेदवारी फिर्ताका लागि प्रयास गरेका थिए। 

बागी उम्मेदवारलाई फकाउन नसकेपछि भरतपुरको चुनावी सभामा उभिएर देउवाले रेनु दाहाललाई नजिताए कसलाई जिताउने? भन्दै मतदातालाई नै प्रश्न गर्न भ्याए। 

उनले सम्बोधनको क्रममा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालको निकै प्रशंसा गर्न भ्याए। 

‘गल्ली गल्लीमा पिच भएको छ। यहाँको जग्गाको भाउ बढेको छ,’ उनले भनेका थिए, ‘काठमाडौंमा भन्दा जग्गाको मूल्य बढिसक्यो। यो रेनु दाहालले बनाउनुभएको हो।’

भरतपुरबाटै देउवाले राष्ट्रिय राजनीतिमा नै तरङ्ग ल्याउनेगरी सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भएको पनि बताउन भ्याए। 

बिहीबार भरतपुरको सभामा सम्बोधन सकेर काठमाडौं फर्किएका देउवा शुक्रबार काठमाडौंमा आयोजित सभामा सम्बोधन गर्न रत्नपार्कमा देखिए। 

उनले महिलाको प्रशंसा गर्दै भरतपुरमा रेनु र काठमाडौंमा सिर्जना सिंहलाई जिताउनुपर्ने बताए।

काठमाडौंको सभा सकेर शनिबार बिहानैबाट देउवा देशदौडामा निस्किएका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार देउवाले शनिबार ३ वटा ठूला सभालाई सम्बोधन गरेका छन्। 

बुटवलमा आयोजित चुनावी सभामा भाग लिएका देउवाले संसद नै चल्न नदिएर भंग गरेको गर्‍यै गर्ने ओलीलाई भोट नहाल्न मतदातासँग भने। 

‘विरोध गर्नकै लागि प्रजातन्त्र हो। अरुले प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने?’ देउवाले बुटवलमा भनेका छन्, ‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भंग गर्नै पाउँदैन। ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गर्‍यै गर्ने, उहाँको पार्टीलाई जिताएर के गर्ने?’

बुटवलको सभालाई सम्बोधन सकेर देउवा सिधै तनहुँ हानिए। रामचन्द्र पौडेलको गृहजिल्ला समेत रहेको तनहुँको दमौलीमा केहीबेर मात्रै सम्बोधन गरेका देउवाले गठबन्धन राष्ट्रिय आवश्यक्ता रहेको बताएका छन्।

तनहुँबाट देउवा शनिबार दिउँसो ४ बज्नै लाग्दा जनकपुरधाम पुगे। जनकपुरमा सत्ता गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यहाँ पुगेका थिए। जनकपुरधाममा पुगेर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई समेत कारबाही गरिने बताए।

दलबलसहित सेनाको जहाज र हेलिकोप्टर
प्रधानमन्त्री देउवा जहाँ–जहाँ पुगेका छन्, ती सबै ठाउँमा सेनाको हेलिकोप्टर र जहाज प्रयोग गरिरहेका छन्। बुधबार विराटनगरमा पनि देउवा जहाजबाट नै उत्रिएका थिए। 

उनले विराटनगरबाट भरतपुर आउन सेनाकै जहाज प्रयोग गरे। यद्यपि आलोचना भएपछि भरतपुर विमानस्थलबाट निजी सवारी प्रयोग गरेर होटलतर्फ पुगेका थिए। 

बिहीबार काठमाडौंमा आयोजित सभामा सहभागी हुँदा पनि देउवा नीजि सवारी साधनकै प्रयोग गरेर पुगेका थिए। यद्यपी उनको सुरक्षामा खटिएका सबैले सरकारी गाडि नै प्रयोग गरेका छन्।

शनिबार ३ वटा जिल्लामा पुगेका देउवा सबै ठाउँमा हेलिकोप्टरबाट पुगेका थिए। बुटवलमा हेलिकोप्टरमा ओर्लिएका देउवा त्यहाँबाट दमौली हुँदै जनकपुरधामसम्म नेपाली सेनाको हेलिकोप्टरमार्फत पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .