निर्वाचन विशेष


प्रचण्डको उपस्थितिमा भरतपुरले काँचुली फेरेको छ : रेनु दाहाल (अन्तर्वार्ता)

प्रचण्डको उपस्थितिमा भरतपुरले काँचुली फेरेको छ : रेनु दाहाल (अन्तर्वार्ता)

भरतपुरमा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहाल। तस्बिर : विक्रम राई/नेपालखबर


सागर न्यौपाने
बैशाख २६, २०७९ सोमबार १८:४८, चितवन

स्थानीय निर्वाचनको प्रचार–प्रसारको समय सकिनै लागेको छ। चुनावमा यतिबेला धेरै मानिसहरुको ध्यान चितवनको भरतपुरतर्फ केन्द्रित भएको छ। प्रचण्डकी छोरी रेनु दाहाल गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका कारण भरतपुर विशेष चर्चामा आएको हो।

गठबन्धनलाई हराउन आफ्नो सारा शक्ति केन्द्रित गरिरहेको नेकपा एमालेले भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ। यहाँ नेपाली कांग्रेसबाट बागी उम्मेदवारका रुपमा जगन्नाथ पौडेल खडा भएको अवस्था छ।

स्थानीय चुनावको ‘इपिसेन्टर’ जस्तै बनिरहेको भरतपुरमा स्थलगत रिपोर्टिङका क्रममा हामीले माओवादी नेतृ एवं गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई भेटेर संक्षिप्त भिडियो सम्वाद गरेका छौँ। 

तपाईं योभन्दा अगाडि पनि मेयर हुनुभयो। अहिले फेरि उम्मेदवार हुनुहुन्छ। त्यसबेलाको उम्मेदवारी र अहिलेको उम्मेदवारीमा कस्तो फरक पाउनुभयो?
त्यसबेलाको उम्मेदवारीमा म नयाँ थिएँ। खास गरेर भरतपुर महानगरपालिकाको हकमा यहाँको भौगोलिक अवस्था, यहाँका जनताको मनोविज्ञान समग्र योजनाको खाका, यी सबै विषयवस्तुमा म नयाँ थिएँ।

अहिले यो पाँच वर्षको कार्यकालमा धेरै अनुभव हासिल गरेकी छु। म एउटा अनुभवी मेयरको हिसावले पाँच वर्षको कार्यकाल पूरा गर्दै गर्दा काम र जिम्मेवारीका हिसावले जनतामा म टेस्टेड भइसकेकी छु। विकासका थुप्रै आधारहरू खडा गरेकी छु। धेरै अनुभव हासिल गरेकी छु। म अनुभवी, परिपक्व उम्मेदवारका रुपमा अहिले खडा छु। 

म व्यक्तिगत रुपमा सबै पक्षका मानिसहरुसँग नजिकबाट साक्षात्कार छु। मैले सबैको मनोविज्ञान बुझेकी छु। यहाँको सबै अवस्था बुझेकी छु। जनताको भावना बुझेकी छु। र, अब के गर्नुपर्छ भन्ने कुराको पनि मैले अनुभव हासिल गरेकी छु। यसर्थ भोलिका दिनमा काम गर्ने सबै योजना मेरो दिमागमा अहिले नै सेट भैसकेका छन्।

अहिलेसम्म हामीले के गर्यौँ, अबका दिनमा हामीले के गर्नुपर्छ, विगत पाँच वर्षमा हामीले के गर्यौँ र अबको पाँच वर्ष हामीले के गर्नुपर्छ भन्ने योजना बनिसकेका छन्।

तपाईंलाई साँच्चै भन्नु पर्दा यो महानगरलाई कसरी देशकै एउटा नमुना शहर बनाउने भन्ने खाका मेरो दिमागमा पुरै बनिसकेको छ। यसर्थ मलाई आत्मविश्वास छ, सबै हिसावले जनताको मन जितेकी छु। जनताको विश्वास आर्जन गरेकी छु। त्यसैले म आत्मविश्वासका साथ अगाडि बढेकी छु।

घरदैलो अभियानमा हुनुहुन्छ, जनताले तपाईंसँग के अपेक्षा राखेका छन्?
जनतामा धेरै नै उत्साह छ। यो, त्यो अपेक्षा राखेका छन् भन्दा पनि विकासप्रेमी मेयर रेणु दाहाल भन्ने नै छ जनताको मन मनमा। घरदैलोमा अत्यन्तै उत्साहजनक रुपमा विकासप्रेमीको उपमा जनताबाट पाउने गरेकी छु। विकास हिजो पनि गर्नुभएको छ, भोलि पनि गर्नुहुन्छ भन्ने उहाँहरुमा विश्वास छ। त्यसैले जनता अत्यन्तै उत्साही देखिनुहुन्छ।

भरतपुरबासी जनताको मनोविज्ञान हेर्दा भौतिक विकास गरेकै आधारमा मत दिन्छन् भन्ने विश्वास कसरी भयो?
यो चितवन जिल्ला देशकै मध्य भागमा पर्छ। विकासको हिसावले पनि धेरै ठूलो सम्भावना भएको ठाउँ हो। विगतका दिनमा यहाँका जनताको मनोभावना बुझेर विकास र समृद्धिमा सक्रिय योगदान गर्ने जनप्रतिनिधि यो चितवनले नपाएको अवस्था हो।

बितेको पाँच वर्षमा हामीले जनतालाई धेरै विश्वास दिलाउन सकेका छौँ र अहिले पनि उहाँहरु विश्वस्त हुनुहुन्छ कि यो जनप्रतिनिधि फेरि एकपटक भइदिए भरतपुर बन्छ भन्ने जनतामा छाप परिसकेको छ। 

नेपालको परम्परालाई हेर्ने हो भने काम गरेर भन्दा पनि विभिन्न छलछाम गर्नेहरुले जित्ने परिपाटी छ। मलाई विश्वास छ यो परम्परालाई भरतपुरबासीले निरन्तरता दिँदैनन्। जनताले यो सबै बुझिसक्नु भएको छ।

दुई कार्यकाल अवसर पाउँदा पनि काम नगर्ने ठाउँमा हामीले पाँच वर्षमा समानुपातिक रुपमा विकासको मोडल अघि सारेका छौँ। जनतालाई पनि विकासमा संलग्न गराएका छौँ। नयाँ योजनाका साथ अगाडि बढेकाले पनि अहिलेको सन्दर्भमा पुरानो परम्परा नदोहरिएला भन्ने लाग्छ। 

जनताले मेयर मात्र भनेर चिनेनन्। रेनु दाहाल भनेर पनि चिने। यो चिन्नुका पछाडिको कारण आफूले गरेको विकास, आफूले अघि सारेका योजना कार्यान्वयन भए भन्ने मात्रै हो कि त्यसमा राष्ट्रिय

राजनीतिको पनि हिस्सा जोडिन्छ?
त्यो त पक्कै जोडिन्छ नि। चितवन जिल्लाले एउटा अभिभावक पाएको छ। अध्यक्ष कमरेड प्रचण्ड चितवन जिल्लाबाट यहाँको माननीय हुनुहुन्छ। यहाँबाट गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संघीय सांसद हुनुहुन्छ।

उहाँलाई यहाँ पाउँदा चितवनका बासिन्दाले गर्वको अनुभूति गर्नुभएको छ। म मात्रै एक्लै केही पनि होइन। स्थानीय स्तरमा म यहाँको मेयर हुँदा केन्द्रीय स्तरमा उहाँ हुँदा यी सबै कुरा सम्भव भएका हुन्। यसर्थ चितवन जिल्लामा उहाँको उपस्थितिले गर्दा चितवनको विकासमा कायापलट भएको छ। भरतपुरले काँचुली फेरेको छ। मुख्य देन उहाँको पनि हो भन्ने लाग्छ।

स्थानीय तहमा रेनु दाहाल, केन्द्रमा प्रचण्ड हुँदा राम्रो समन्वय भएकाले पनि हामी राम्रा काम गर्न सफल भएका छौँ। कसैले पनि आजका दिनसम्म यहाँ भएन भन्ने अवस्था सिर्जना भएको छैन। हाम्रा प्रतिद्वन्द्वीहरूले पनि भरतपुरमा विकास भएन भन्न सक्नुभएको छैन। उहाँहरुले एजेण्डा पनि पाइरहनु भएको छैन।

हामी विकासमा पनि अब्बल। हामीले सुशासन कार्यान्वयनमा सुधारात्मक प्रयास गरेका छौँ। हामी आर्थिक मितव्ययिताका हिसावले पनि पारदर्शिता र उत्तरदायी छौँ। देशका सबै महानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु देखिएको छ। बेरुजु फर्छ्योटमा पनि हामी नम्बर वान।

यी सबै चिजले गर्दा अहिले विपक्षीहरुसँग हामीमाथि प्रहार गर्ने एजेण्डाहरु खासै छैनन्। विकास गर्न सकेनन् भन्ने पनि उहाँहरुलाई छैन। ‘विकास त भएको छ, तर अलिअलि’ भन्दै केही केही फण्डाहरु फाल्ने स्थिति मात्र छ। उहाँहरुलाई ठ्याक्कै यो चुनावमा एउटा इस्यु लिएर हामी माथि प्रहार गर्ने विषय पाइ राख्नुभएको छैन।

यसर्थ हामीले अभिभावक पाएका छौँ। अध्यक्ष कमरेड प्रचण्ड चितवनले पाएकाले हामी गर्व गर्छौ। हिजोका दिनमा धनकुटा बन्यो सूर्यबहादुर थापा भएका कारणले, डडेल्धुरा बन्यो शेरबहादुर देउवा भएका कारणले भन्दै गर्दा चितवन जिल्लाले एउटा शीर्षस्थ नेता पाएको थिएन। देशको मध्य भागमा भए पनि विकासमा धेरै पछाडि परेको थियो। भरतपुरका थुप्रै वडाहरू एउटा बाटो पनि पिच नभएका थिए। सय मिटर बाटो पनि पिच थिएनन्।

अहिले यो ५ वर्षमा न्यूनतम २५ देखि ३० किलोमिटर बाटो एउटा वडामा पिच सडक बनेको छ। अधिकतम ६० देखि ६५ किलोमिटर बाटो पिच भएका छन्।  ५ वर्षमा यो ठूलो कायापलट भएको हो। काँचुली भरतपुरले फेरेको छ भन्ने कुराको प्रत्यक्ष प्रमाण पनि हो। हामीले यो पाँच वर्षमा ६ सय २२ किलोमिटर बाटो बिच गर्यौं। यो हाम्रो सामान्य त्यागले भएको छैन। हाम्रो सामान्य सक्रियताले भएको छैन।

तीन वर्षसम्म कोभिडले सिर्जना गरेको असहज परिस्थितिको हामीले सामना गर्नुपर्यो। त्यसका बाबजुत पनि यी खालका पूर्वाधार निर्माणका कुराहरु जे–जे भएका छन्, यी सबै सामान्य हिसाबमा भएका छैनन्। निक्कै ठूलो हाम्रो सक्रियता, जनउत्तरदायी भएर पहलकदमी लिएर अगाडि बढ्दा सफल भएका हुन्। हामीले एउटा अभिभावक, अध्यक्ष कमरेड प्रचण्ड पाएको कारणले गर्दा यी कुराहरु सम्भव भएका हुन्।

थप भिडिओमा हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .