ad ad

निर्वाचन विशेष


कर्ण मल्लसँग मिलेको एमाले डडेल्धुरामा ‘क्लिन स्वीप’

‘करुवा’ले देउवालाई दबाबमा राख्यो तर जित्न सकेन
कर्ण मल्लसँग मिलेको एमाले डडेल्धुरामा ‘क्लिन स्वीप’

फाइल फोटो


गोकुल जोशी
जेठ ५, २०७९ बिहिबार १०:४७, कन्चनपुर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रमुख प्रतिपक्षी नेकपा एमाले ‘क्लिन स्वीप’ भएको छ। 

नेकपा एमालेले यसपटकको स्थानीय तह निर्वाचनमा ०७४ को आफ्नो विरासत कायम राख्न सकेन। 

२ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेको डडेल्धुरामा नेकपा एमालेले कुनै पनि पालिकाको प्रमुख र उपप्रमुख जित्न हासिल गर्न सकेको छैन। 

०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सदरमुकामको अमरगढी नगरपालिकामा प्रमुख, उपप्रमुखसहित नवदुर्गा गाउँपालिका प्रमुख पद जितेको थियो। 

यस्तै ५२ वडामध्ये सबैभन्दा बढी १९ वटा वडामा बाजी मारेको एमाले यसपटक ४ वडामा सीमित हुन पुगेको छ। 

अजयमेरु गाउँपालिकामा १ वडा र आलिताल गाउँपालिकामा एमालेले ३ वडा गरेर ४ वडा मात्रै जितेको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी डडेल्धुरामा एमालेको हाराहारीकै शक्तिमा पुगेको छ। 

एकीकृत समाजवादीले २ वडामा नेतृत्व जितेको छ। कुनै पनि पालिकामा प्रमुख उपप्रमुख जित्न सकेको छैन।

डडेल्धुरामा सत्तारुढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक्ला एक्लै  भिडेका थिए। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कांग्रेसबाट ‘विद्रोह’ गरेर कांग्रेस बीपी सक्रिय पारेका कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लसँग तालमेल गरेको थियो।

देउवालाई तर्साएको ‘करुवा’ : ‘कडा’ प्रतिस्पर्धा तर असफल
क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट रहेका नेता कर्ण मल्लले स्थानीय चुनावअघि कांग्रेसमा विद्रोह गरेका थिए। उनले नेपाली कांग्रेस बीपीको नामबाट नेकपा एमालेसँग चुनावी तालमेल गरे।

देउवाको पेलानमा परेको मल्ल समूह अधिवेशनमा सहभागी भएन। मल्ल पक्षले समानान्तर गतिविधिमा तीव्रता दिइरहेको थियो।

यसैबीच स्थानीय तह निर्वाचनमा मल्ल पक्षले एक पालिका प्रमुखको टिकट माग ग¥यो। तर नेतृत्वले सुनुवाइ नगरेको भन्दै मल्ल समूह कांग्रेस बीपीमा आवद्ध भएका थिए। र, एमालेसँग चुनावी तालमेल गरे।

कांग्रेसको ठूलो पङ्क्तिले साथ दिएको र एमालेसँग मिल्दा कांग्रेसलाई पराजित गर्न सकिने दाबी मल्ल समूहको थियो। 

मल्लले एमालेसँग तालमेल गरे त्यसपछि कांग्रेस सभापति देउवा दबाबमा परे। देउवा पत्नी आरजु देउवा आफै चुनाव प्रचारमा गएर कांग्रेसलाई भोट मात्र मागिनन्, करुवा (बीपी कांग्रेस)को चुनाव चिन्हमा भोट नदिन अपिल गरिन्। 

अन्तिम समयमा देउवा पनि चुनावी सभाहरू गर्दै हिँड्नु पर्ने बाध्यतामा पुगे। उनी ४ गृहजिल्ला डडेलधुरामै बसे। यसरी देउवालाई दबाबमा पारेको कांग्रेस बीपीले पालिका प्रमुख उपप्रमुख भने जित्न सकेन।

तर, कांग्रेससँग कडा प्रतिस्पर्धा भने कांग्रेस (बीपी)को भयो। सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा कांग्रेस बीपी १९९ मतान्तरले चुकेको थियो। एमालेसँगको तालमेलमा कांग्रेस बीपीले अमरगढी, गन्यापधुरा र नवदुर्गामा प्रमुख पाएको थियो।

माओवादी : पालिकामा वर्चश्व बढायो, वडा गुमायो
माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको गृहजिल्ला समेत रहेको डडेल्धुरामा माओवादीले यसपटक पालिका प्रमुख र उपप्रमुखमा वर्चश्व बढाएको  छ। 

यसपटकको स्थानीय तह निर्वाचनमा माओवादीले आलिताल गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको छ। 

यस्तै, माओवादीले सबैभन्दा ठूलो परशुराम नगरपालिका र अजयमेरु गाउँपालिकामा उपप्रमुखमा पनि कब्जा जमायो।

०७४ सालको स्थानीय तह चुनावमा माओवादीले अजयमेरु गाउँपालिकाको प्रमुख, उपप्रमुख गरेर एक पालिकामा मात्रै जितेको थियो। 

वडामा भने माओवादीले विगतको तुलनामा शक्ति गुमाएको छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा १६ वडा जितेको माओवादी यसपटक १३ मा खुम्चिएको छ।

परशुराममा ७, आलितालमा ३, अजयमेरुमा २ र नवदुर्गा गाउँपालिकामा १ वडामा माओवादीले जित हासिल गरेको छ।

झनै बलियो कांग्रेस
नेपाली कांग्रेसले डडेल्धुरा यसपटकको स्थानीय तह चुनावमा आफ्नो वर्चश्व बढाएको छ। 

डडेल्धुरामा कांग्रेसको संगठन निर्माणताका सक्रिय पूर्वसभापति कर्ण मल्लले एमालेसँग तालमेल गरेर चुनावमा उत्रिएका थिए।

कांग्रेसले सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका गरेर ४ पालिकामा प्रमुख उपप्रमुख दुवै जितेको छ। 

यस्तै, परशुराम नगरपालिकाको प्रमुख र अजयमेरु गाउँपालिकाको उपमेयर पनि कांग्रेसले जितेको छ।

परशुराम नगरपालिकामा कांग्रेसले यसअघि प्रमुख उपप्रमुख दुवै जितेको थियो। यसपटक उपप्रमुख गुमाएको छ।

०७४ सालमा कांग्रेसले भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकासहित ४ स्थानीय तहमा (भागेश्वर, गन्यापधुरा, आलिताल) प्रमुख, उपप्रमुख र नवदुर्गा गाउँपालिकामा उपप्रमुख पद जितेको थियो।

यस्तै, ०७४ सालमा १७ वडामा जितेको कांग्रेसले यसपटक २९ वडामा जित हासिल गरेको छ।

पालिका विवरण

अमरगढी नगरपालिका
सदरमुकामको पालिका अमरगढीमा नेपाली कांग्रेसले मेयर उपमेयर दुवैमा जित हात पारेको छ। मेयरमा कांग्रेस (बीपी) का हरिप्रसाद भट्टलाई उछिन्दै कांग्रेसका डिल्लीराज जोशी निर्वाचित भए।

उपमेयरमा एमालेका यज्ञराज अवस्थीलाई पराजित गर्दै कांग्रेसकी पार्वती झुकालले बाजी मारिन्। ११ वडा रहेको अमरगढीमा कांग्रेसले १० र कांग्रेस बीपीले १ वडामा जित हासिल गरेको छ।

परशुराम नगरपालिका
जिल्लाको सबैभन्दा ठूलो पालिका परशुराममा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेको छ।  मेयरमा माओवादीका शेरसिंह माललाई हराउँदै कांग्रेसका भरत सिंह माल विजयी भए। 

उपमेयरमा कांग्रेसकी कलापति बोहोरालाई उछिन्दै माओवादीकी बिमला कुमारी बोहरा निर्वाचित भइन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुवैमा जितेको थियो। १२ वडा रहेको परशुराम नगरपालिकामा माओवादी केन्द्रले ७ र कांग्रेस ५ वडा जितेको छ।

अजयमेरु गाउँपालिका
अजयमेरुमा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली काङ्ग्रेसले जितेको छ। अध्यक्षमा एमालेका पदमबहादुर पाललाई पराजित गर्दै माओवादीका उमेशप्रसाद भट्ट विजयी भएका छन्।

यस्तै नेपाली कांग्रेसकी वसन्ती पाल माओवादीकी कलावती भाडलाई उछिन्दै उपाध्यक्षमा निर्वाचित भइन्। ६ वडा रहेको अजयमेरुमा कांग्रेस र माओवादीले २÷२ वा जितेको छ भने एमालेले १ वडा जितेको छ। १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

आलिताल गाउँपालिका
आलितालमा माओवादी केन्द्रले वर्चश्व जमाएको छ। त्यहाँ माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ। अध्यक्षमा कांग्रेसका बलबहादुर गुरुङलाई पराजित गर्दै माओवादीका शेरसिंह पार्की विजयी भए। 

यस्तै, उपाध्यक्षमा कांग्रेसकी जलाकुमार बिष्टलाई पछाडी पार्दै माओवादीकी मैनाकुमारी रावल निर्वाचित भइन्। ८ वडा रहेको आलितालमा एमाले र माओवादीले ३÷३ र कांग्रेसले २ वडा जितेको छ।

गन्यापधुरा गाउँपालिका
गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ। अध्यक्षमा कांग्रेस बीपीका सुरेन्द्र बहादुर मालीलाई उछिन्दै कांग्रेसका इन्द्रबहादुर कार्की विजय भए।

यस्तै, उपाध्यक्षमा एमालेका इन्द्र बहादुर महरालाई पछाडी पार्दै कांग्रेसकी ज्ञानु कुमारी सेटीले बाजी मारिन्। ५ वडा रहेको गन्यापधुरामा कांग्रेसले ४ र कांग्रेस बीपीले १ वडामा जित हासिल गरेको छ।

नवदुर्गा गाउँपालिका
नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले वर्चश्व जमाएको छ। यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले नै जितेको  छ। नेकपा एकीकृत समाजवादीका कवीन्द्र बहादुर बिष्टलाई हराउँदै कांग्रेसका लक्ष्मी प्रसाद अवस्थी अध्यक्षमा निर्वाचित भए। 

नेपाली कांग्रेस बीपीका अध्यक्षका उम्मेदवार गोकुल बहादुर शाहीले तेस्रो स्थान हासिल गरे। यस्तै, उपाध्यक्षमा एकीकृत समाजवादीकी चन्द्रादेवी रुपालीलाई पछाडि पार्दै कांग्रेसकी निर्मला कुमारी बोगटी निर्वाचित भइन्।

५ वडा रहेका नवदुर्गा गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीले २/२ र माओवादीले १ वडा जितेको छ।

भागेश्वर गाउँपालिका
नेपाली कांग्रेसले भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा बाजी मारेको छ। अध्यक्षमा एमालेका रामबहादुर शाहीलाई पछाडी पार्दै कांग्रेसका हेमराज चटौत निर्वाचित भए।

यस्तै, उपाध्यक्षमा माओवादीकी गीता भट्टलाई पराजित गर्दै कांग्रेसकी पुष्पा ठकुराठीले बाजी मारिन्। ५ वडा रहेको भागेश्वरमा कांग्रेसले ४ वडा जितेको छ। १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .