निर्वाचन विशेष


एउटै वडा सदस्य नजिती बुढाथोकीले हरिवनमा कसरी ढाले एमालेको किल्ला?

एउटै वडा सदस्य नजिती बुढाथोकीले हरिवनमा कसरी ढाले एमालेको किल्ला?

जनार्दन पोखरेल
जेठ ६, २०७९ शुक्रबार १४:१४, काठमाडौँ

एमालेको गढ मानिने सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएपछि यतिबेला हरिवनले धेरैको ध्यान तानेको छ।  

२०४८ सालदेखि लगातार विजयी हुँदै आएको एमालेलाई यसपटक बुढाथोकीले हरिवनमा रोकेका छन्। आफ्नो पार्टीका उम्मेदवार नगरका कुनै पनि वडामा विजय नहुँदा पनि बुढाथोकी एमालेका शक्तिशाली उम्मेदवार गणेश प्रसाइँलाई पराजित गर्न सफल भए। प्रसाइँ निवर्तमान मेयरसमेत हुन्।

हरिवन नगरपालिकामा ११ वटा वडा छन्। ११ मध्ये ५ वटा वडामा प्यानलसहित एमाले, चारवटामा कांग्रेस र दुईवटामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भए। उपमेयरमा पनि एमालेकी हरिमाया घलान विजयी भइन्। माओवादीबाट उपमेयरकी उम्मेदवार पद्मा मोक्तान मतपरिणाममा दोस्रो भइन्। बुढाथोकीबाहेक माओवादीका कुनै पनि उम्मेदवार नगरमा विजयी भएनन्।

 

अघिल्लो निर्वाचनमा प्रसाइँसँगै झण्डै ८ सय मतान्तरले पराजित भएका बुढाथोकीले यसपटक उनै प्रसाइँलाई १५३ मतान्तरले पराजित गरे। बुढाथोकीले ७ हजार २ मत पाउँदा प्रसाईंले ६ हजार ८४९ मत मात्रै प्राप्त गरेका छन्। 

एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार सुरेन्द्र लामाले ३ हजार ८३६ मत पाउँदा कांग्रेसका रामप्रसाद मैनालीले २ हजार ९ सय ३६ मत प्राप्त गरेका छन्। 

उपमेयरमा विजयी हुने एमालेकी घलानले ६ हजार ८५५ मत पाउँदा उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पद्मा मोक्तानले ५ हजार ३२१ मत प्राप्त गरिन्। नेपाली कांग्रेसबाट उमपेयरकी उम्मेदवार सोनीकुमारी बोम्जनले चार हजार ९५१ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी सीतादेवी थापाले २ हजार ९५६ मत प्राप्त गरेकी छन्।

सांगठानिक अवस्था एमालेको भन्दा कमजोर हुँदाहुँदै पनि हरिवनको मेयरमा कमल बुढाथोकी विजयी हुनुको सबैभन्दा प्रमुख कारण एमालेको विभाजन नै भएको जानकारहरु बताउँछन्। त्योसँगै बुढाथोकीको निस्कलंकित छवि, निवर्तमान मेयर प्रसाइँप्रति हरिवनबासीमा बढेको वितृष्णा जस्ता कारण पनि यसमा जोडिएका छन्।

आफ्नो साढे चार वर्षे कार्यकालमा प्रसाइँले हरिवनको विकासमा उल्लेखनीय काम गर्न नसकेको आरोप विपक्षीहरुको छ। यसले पनि बुढाथोकीको विजयमा सहयोग पुगेको देखिन्छ। यसपटक प्रसाइँको विकल्प खोज्नेको जमात विपक्षी दलमा मात्रै होइन, स्वयं एमाले भित्र पनि थियो भन्ने मतपरिणामले देखाइ सकेको छ।

प्रसाइँको पराजयसँगै एमाले नेता कार्यकर्ताहरु पार्टीभित्रै अन्तर्घात हुँदा आफ्ना उम्मेदवारले पराजय बेहोर्नुपरेको गुनासो गरिरहेका छन्।

बुढाथोकी विद्यार्थी कालदेखि नै निरन्तर राजनीतिमा क्रियाशील भएका नेता हुन्। उनले सर्लाहीमा भएको बहुचर्चित मिटरब्याज बिरोधी आन्दोलन, उखुको न्यायोचित मूल्य प्राप्तीको लागि भएका पटक–पटकका किसान आन्दोलन, जिल्लाको उत्तरी क्षेत्रमा सरकारी कार्यालयहरुको सेवा केन्द्र स्थापनाका लागि भएका जनसंघर्षको नेतृत्व गरेका छन्।

बुढाथोकीको नेतृत्वमा सर्लाहीमा माओवादीले सञ्चालन गरेको मिटरब्याज बिरोधी आन्दोनलकै कारण यतिबेला केही अभियुक्त जेलमा छन् भने केही फरार छन्। 

०४९ सालमा २८ वर्षको उमेरमै बुढाथोकी संयुक्त जनमोर्चाबाट तत्कालिन घुर्कौली गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यही कार्यकालमा उनी जिल्ला विकास समिति सर्लाहीको ४ नम्बर इलाका सदस्य पनि भएका थिए। 

गएको स्थानीय तहको चुनावमा एमालेका गणेश प्रसाइँसँग पराजित भएका बुढाथोकी ०५४ सालमा भएको स्थानीय निकायको चुनावमा घुर्कौली गाविस अध्यक्षमा कांग्रेसका रामप्रसाद मैनालीसँग पनि पराजित भएका थिए।

बुढाथोकीले यसपटक ७६ वर्षीय तिनै मैनालीसँगै एमालेका निवर्तमान मेयर ​प्रसाइँलाई पनि एकसाथ पराजित गरेर हरिवनको राजनीतिमा नयाँ इतिहास रचेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .