ad ad

निर्वाचन विशेष


कम्युनिष्टको किल्ला धरानमा कसरी उदाए हर्क साम्पाङ?

कम्युनिष्टको किल्ला धरानमा कसरी उदाए हर्क साम्पाङ?

सुमन पुरी
जेठ ९, २०७९ सोमबार ५:४९, विराटनगर

२ वर्षअघि भएको उप निर्वाचन र २०१५ सालको नगर पञ्चायत निर्वाचनमा कायम भएको रेकर्ड बाहेक धरानमा यस पटक अर्को पनि रेकर्ड थपिएको छ। 

धरानलाई कम्युनिष्टको गढको रुपमा चिनिन्छ । यसो भन्नुको कारण  हो–२०१५ सालको नगर पञ्चायतको चुनाव र  दुई बर्ष अघि भएको उप निर्वाचन बाहेक धरानमा कम्युनिष्ट बाहेक अरुले चुनाव जित्न नसक्नु। 

पञ्चायतको चुनावमा समेत धरानमा चुनाव जित्न कम्युनिष्ट नै हुन पथ्र्यो । यसैले धरानले लाहुरेको शहरको परिचयसँगै कम्युनिष्टको गढको पनि परिचय बनाएको थियो। 

१५ सालदेखि ७५ सालसम्म कम्युनिष्टहरुले एकछत्र राज गरेका कारण धरानलाई लाल किल्ला भन्ने चलन पनि थियो। 

यो लाल किल्लाको परिचयलाई गएको उप निर्वाचनमा कांग्रेसका तिलक राईले तोडे । उनी ०१५ साल पछि कांग्रेसबाट पहिलो मेयर बन्ने व्यक्ती भए।  

तिलकले बनाएको रेकर्डसँगै यस पटकको निर्वाचनमा अर्को पनि रेकर्ड बनेको छ । धरान अब कम्युनिष्टको गढ मात्रै होइन स्वतन्त्रहरुको शहर पनि  हो। 

कुनैबेला नेपालमा कहिँ नभएको फेसन हेर्नु छ भने धरानमा जानुपर्छ भन्ने थियो । धरानले नयाँ नयाँ फेसन ल्याउँथ्यो । कपडा र पहिरनहरू धरानले फेरिरहन्थ्यो। 

नयाँ नयाँ फेसन र कपडा फेरिरहने धरानका लाहुरे र तिनका परिवार धेरैजसो बेलायत गइसके तर उनीहरुको सिकोमा फेसनेवल भएको धरानले ५ बर्षमै काम नगरे विचार पनि फेर्न सक्छौ भन्ने सन्देश दिएको छ। 

५ बर्ष अघि एमालेका तारा सुब्बालाई मेयर बनाएको धरानले सुब्बा को मृत्युपछि भएको उप निर्वाचनमा कांग्रेसका तिलकलाई मेयर बनायो । २ बर्षपछि स्वतन्त्रलाई।  

यसरी कुनै दल र वाद नबोकेको धरान स्वतन्त्रहरुको शहर भएको परिचय थप्ने काम भने ४० बर्षे हर्क साम्पाङले गरे  । उनी कुनै दलविना नै चुनावमा उठेर धरानको मेयर बने। 

कुल मतगणना सकिँदा उनी २०८२१ मत ल्याउँदै धरानको मेयरमा  विजयी भएका छन् । उनले गठबन्नधका तर्फबाट मेयरका प्रत्यासी भएका नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पारे। 

लाल किल्लामा एमालेका तर्फबाट मेयरको प्रत्यासी भएकी मञ्जु भण्डारी त उनी भन्दा  ७९९६ मतले पछाडि रहिन्। 

भण्डारीको हार लालकिल्लामा भएको चुनावी इतिहास मै  फराकिलो मतान्तरमा कम्युनिष्टको हार हो । उप निर्वाचनमा एमालेका प्रकाश राई २७ सय १५ मतको फरकमा पराजित भएका थिए । यस पटक धरानमा ६२ हजार ९८ मत खसेको थियो।

उपमेयरमा नेकपा माओवादीको तर्फबाट गठबन्धनका उम्मेदवार अइन्द्र विक्रम बेघा २०५१० मत ल्याएर विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पदम इस्बोले १७६०६ मत प्राप्त गरे। 

नेकपा एमालेबाट २०४८ सालमा ध्यान बहादुर राई र २०५४ सालमा मनोज मेन्याङ्बो धरानको मेयर बनेका थिए। 
 
२०७४ मा नेकपा एमालेबाट तारा सुब्बा मेयरमा निर्वाचित भए । सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो। 

वडामा भने कम्युनिष्टकै वर्चश्व 
मेयरमा स्वातन्त्र उमेदवार हर्क साम्पाङले निर्वाचन जिते पनि उपमेयर देखि वडा तहसम्म कम्युनिष्टहरुको वर्चश्व छ । उप मेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन्।  

१० वटा वडा एमालेले जितेको छ । एउटा वडा माओवादी केन्द्रले जितेको छ । धरानको अन्तिम मत परिणाम आउँदा नेकपा एमालेले २,४,५,७, ८, १०, १२, १३, १५ र १९ नम्वर वडामा अध्यक्ष सहित प्यानल जितेको छ। 

नेपाली कांग्रेस १, ३, ९, ११, १६,१८ र २० सहित ७ वटा वडामा विजयी भएको छ । त्यस्तै वडा नम्बर १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जितेको छ । 

नेकपा माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ भने वडा नम्बर ६ मा धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका भूपेन्द्र भट्टराई विजयी भएका छन्।

यसरी उदाए स्वतन्त्र 
हर्क साम्पाङ तिनै व्यक्ती हुन् जसले २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा मेयर पदमा ५४० मत ल्याएका थिए। 

२ बर्ष पछि तिनै साम्पांग धरानको मेयर भएका छन् । यो दुई बर्षमा के गर्नु भयो? मेयर भएपछि राखिएको जिज्ञासामा साम्पाङका भने ‘निरन्तरता।’

उनी आफूलाई सामाजिक अभियन्ता भन्न रुचाँउछन् । मेयर भएपछि पनि उनले गौरबका साथ भने, ‘म  सामाजिक अभियानबाटै आएको हो । अभियन्ता नै भन्न रुचाँउछु।’
 
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी । शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनका लागि धरान झरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन। 

पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। 
 
वैदेशिक रोजगारीपछि उनी उनी धरानमा हुने सामाजिक कामहरुमा निरन्तर सहभागी भइरहेका छन्। 

शुरुमा कृष्ण पालिखेको नेतृत्वमा भ्रष्टचार विरोधी अभियानमा सहभागि भएका साम्पाङले पालिखेको निधन पछि नेतृत्व आफैँले लिए। 

उनी धरान सरोकार मञ्च मार्फत खानेपानीको समस्या समाधानको बिषयमा लागि रहेका थिए । टोल टोलमा गएर खानेपानीको समस्या हुनुका कारण बारे नागरिकसँग कुरा गरिरहन्थे। 

उनी धरानमा २०७२ सालतिर चर्चामा आए । त्यो बेला धनकुटे रोड विस्तारको कुरा आयो । रोड विस्तारले सयौं परिवारको  उठीबास भएपछि संघर्ष समिति बन्यो । समितिको सह संयोजक साम्पाङ बने।  

त्यसपछि नै साम्पाङले धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले। 

खानेपानीको बिषय नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टाचारबारे उनी धरानका सडक सडकमा क्याम्पेनिङ गरिरहन्थे । नागरिकका गुनासा टिप्थे र सम्बोधनको प्रयास गर्थे । सम्बोधन गर्ने निकायमा ज्ञापन पत्र र धर्ना दिन्थे।  

स्थानीय मुद्दा मात्र होइन, सीमा अतिक्रमण र एमसिसीविरुद्ध पनि उनी कहिले एक्लै प्रदर्शनमा हिँड्थे।

कहिलेकाहीँ  सिमित संख्यामा समर्थकहरूको साथमा विरोध प्रदर्शन गर्थे। सिमा अतिक्रमणको मुद्दा चर्किँदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रदर्शन समेत गरे। 

सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जाँदा ठेकेदारको समूहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो। 

पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । उनी जे गर्छन्, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्ने गर्छन्। 

समाजिक सञ्जालबाट घरमैमा ‘बस मलाई भोट देऊ’ भन्ने अभियान चलाएका हर्कले हल्ला खल्ला र प्रचारविनै चुपचाप धरानको मेयर बन्ने मौका पाए। 

उनले विजय जुलुसमा पनि खादा र माला नलगाइ दिन समर्थकलाई आग्रह गरेको छन्। फेसबुक फेजमा लेख्दै उनले भनेका छन् साथीहरुले विजय जुलुस निकाल्छु भन्दै हुनुहुन्छ जुलुसमा खादा र मालाको प्रयोग नगरौँ।

खानेपानीको समस्या समाधान नभएसम्म फिल्डमा हुन्छु
धरानको मेयरमा निर्वाचित भएपछि हर्क साम्पाङले आफ्नो पहिलो काम नै धरानको खानेपानीको समस्या समाधान गर्ने बताएका छन् । उनले तत्कालका लागि खानेपानीको लिकेज बन्द गर्ने, भएको पानीको ब्यवस्थापन गर्ने बताए। 

अहिले भएकै स्रोतलाई व्यवस्थापन गरेमात्रै पनि केही समस्या समाधान हुने उनको भनाई छ। उनले खानेपानीको चुहावट रहेको र  मर्मत सम्भारमा लापरबाही देखिएको बताएका छन्। 

‘यी सबै समस्या समाधानको लागि सधैँ फिल्डमा रहने छु,’ उनले भने।

धरानमा खानेपानीको दीर्घकालीन समाधानका लागि सप्तकोशीबाट पानी ल्याइने उनले बताए। मेयरमा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै उनले भ्रष्टाचारलाई निराकरणका लागि अब आफू लागिपर्ने बताए। ‘एकैचोटि भ्रष्टाचार रोक्न सकिन्छ की सकिन्न काम गर्दै गएपछि थाहा होला,’ उनले भने। 

उनले कर्मचारीको 'वर्क लोड' हेर्ने  अनि 'वर्क फोर्स' गर्ने बताए ।  उनले उपमहानगरमा कर्मचारीको भर्तीकेन्द्र हुने गरेको भन्दै आफूले अनावश्यक कर्मचारी भर्ती नगर्ने बताए।

‘अरुले कार्यकर्ताहरु भर्ना गरे होलान्, म त्यस्तो गर्ने वाला छैन,’ उनले भने, ‘मैले एक रुपैयाँ पैसा दिएर चुनाव प्रचारमा बोलाएको छैन। उहाँहरु आफैँ आउनु भएको हो । मलाई कार्यकर्ता भरण पोषण गर्नु पर्ने दवाव छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .